नीरज पिठाकोटे
आइतवार, पुष २९, २०७५
226

वीरगन्ज-गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिको बाधक पुरानो राज्यसत्ता नै भएको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारणसभाको उद्घाटन गर्दै गृहमन्त्री थापाले जनताको संघर्षबाट पुरानो र केन्द्रीकृत राज्य व्यवस्थालाई भत्काउँदै अहिले संघीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना भएकाले अब हिजोका सबै समृद्धिका बाधक कानुन विस्थापित गर्ने क्रम भइरहेको बताए ।
स्वाधिनता, संस्कृति र पहिचानको रक्षा गर्ने नीति बनाउन आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले जनतालाई आफ्नो ठाउँमा आफ्नो अधिकार प्रयोग गर्ने कानुन र नीति निर्माणका लागि नै अहिले तीन तहको निर्वाचनमार्फत देश संघीयतामा रूपान्तरण भएको बताए । वीरगन्जको योगदान, भूमिकालाई उचित मूल्यांकन र कदर नगर्नुको पछाडि त्यतिखेरको राजनीतिक अवस्था र व्यवस्था जिम्मेवार रहेको उनको भनाइ थियो । “हामीले आफैंले कानुन बनाउने राजनीतिक प्रणालीको विकास गरेका छौं,” उनले भने, “अब वीरगन्जलाई केन्द्रले हेरेन र उचित मूल्यांकन नगरे भन्ने गुनासो र पश्चाताप गर्नुको कुनै अर्थ छैन ।” उनले एकात्मक राज्य व्यवस्था परिवर्तन भइसकेकाले अब वीरगन्जको निर्माण वीरगन्जवासी र प्रदेशका जनप्रतिनिधिले गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले मुलुकले नयाँ संविधान पाइसकेको र संविधानमा भएका अधिकार प्रयोग गर्ने कानुन निर्माण गर्ने काम भइरहेको बताए । “हिउँदे अधिवेशनले विगतमा हाम्रो समृद्धिमा बाधक देखिएका कानुन खारेज गर्ने र नयाँ कानुन निर्माण गर्नेछ”, उनले भने । उनले सांस्कृतिक पहिचान, अधिकारको बाधक कानुनलाई विस्थापित गर्ने जनप्रतिनिधिहरूको काँधमा जिम्मेवारी आएकोसमेत बताए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले नयाँ व्यवस्था आए पनि अझै वीरगन्ज उपेक्षामा नै परेकाले अब पनि तीन परिवर्तन ल्याउन नचाहे वीरगन्जको छुट्टै स्वायत्तताको पनि विकल्प खोज्ने चेतावनी दिए । प्रादेशिक प्रणालीमा गएको देशमा सबै विकास जनकपुर गएको र वीरगन्ज अझै प्राथामिकतामा नपरेकोमा उनको गुनासो थियो ।
सांसद प्रदीप यादवले सुक्खा बन्दरगाहको क्षमतामा वृद्धि गर्नुपर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्ग अविलम्व निर्माण हुनुपर्ने र औद्योगिक तथा आर्थिक नगरी वीरगन्जको सुरक्षाका लागि सीसीटिभी क्यामेर जडानमा केन्द्र सरकारको पनि केही सहयोग हुनुपर्ने माग गरे ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगन्जको विकासमा संघीय सरकार उदासिन रहेको भन्दै अब स्थानीय सरकारले वीरगन्जको वृहत्तर विकासमा गुरुयोजनाहरू ल्याएर काम गर्ने बताए । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले निजी क्षेत्रले हरेक राजनीतिक आन्दोलनमा सहयोग गरेको भए पनि राज्यले भने ध्यान नदिएको गुनासो गरे ।
सो अवसरमा वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो ।