नेपाली सेफलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४
487

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान स्वरूप स्वदेशी सेफहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा. रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिएका हुन् ।
नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक मध्येको एक होटल संघ नेपाल (हान)ले जनाएको छ । हानसहित रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), सेफ एसोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो ।
शुक्रबार सम्पन्न कार्यक्रममा २ सय ३३ नेपाली सेफ सहभागी भएको हानका महासचिव विनायक शाहले जानकारी दिए । उक्त कार्यक्रममा डा. रिकले नेपाली पकवान शास्त्रमा के–कस्ता आयाम थपिएका छन् र संसारका पकवान कलामा भित्रिएका नयाँ प्रविधि र कलालाई कसरी समिश्रण गरेर सेवालाई गुणस्तरीय बनाउने भन्नेबारे अभिमुखीकरण गराएका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय सेफ एसोसिएसनका निर्देशकसमेत रहेका डा. रिकलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानकोतर्फबाट सद्भावना दूत घोषणा गरिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र अभियन्ता वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले उहाँलाई सद्भावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
सम्झौताअनुसार डा. रिक जुन देशमा पुग्छन्, त्यहाँ नेपाली खानाको प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा डा. रिकले नेपालको परम्परागत खाना र खाना संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभियन्ता शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको छ । नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन अभियानलाई प्रशिक्षण र सद्भावना दूतको जिम्मेवारीले महत्वपूर्ण सहयोग पुग्ने महासचिव शाहको भनाइ छ ।