४० करोड लगानीमा टायर उत्पादन सुरु
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
1897

लगानीमैत्री वातावरणको पर्खाइमा बसेका उद्योगी व्यवसायीहरूले उद्योगमा लगानी बढाउन थालेका छन् । कतिपय नयाँ उद्योगले उत्पादनसमेत सुरु गरेका छन् । मोरङको कटहरीमा ४० करोडको लगानीमा स्थापित ग्रिन टायर उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ ।
भारत गुजरातको फ्युचर टायर र नेपालको ग्रिन टायर उद्योगको ४० करोड रुपैयाँको संयुक्त लगानीमा स्थापित उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको हो । उद्योगले डेल्टा ब्रान्डमा वार्षिक २ लाख संख्यामा ट्याक्टर, मोटरसाइकल, ई–रिक्सा र स्कुटरको टायरको उत्पादन गर्ने जनाएको छ ।
विशाल गु्रपद्वारा प्रवद्र्धित उद्योगमा ६५ प्रतिशत भारतीय लगानी रहेको साझेदार विनित सिंघानियाले जानकारी दिए । टायरले कुल बजार हिस्साको आठ प्रतिशत ओगट्ने लक्ष्य राखेको सिंघानियाको भनाइ थियो । २ वर्षपछि ४ लाख र ५ वर्षपछि ६ लाख थान टायर उत्पादन गर्ने लक्ष्यसाथ सन् २०१६ मा सुरु गरिएको उद्योगले यही मार्च महिनाबाट पूर्ण क्षमतमा उत्पादन सुरु गरेको सिंघानियाले बताए ।
उद्योगले ट्याक्टर, बस र ट्रकका टायरसमेत उत्पादन गर्ने लक्ष्य राखेकोमा हाल इ–रिक्सा, मोटरसाइकल र स्कुटरको उत्पादन थालेको हो । उद्योगलाई चाहिने कच्चापदार्थ भारत, इन्डोनेसिया, सिंगापुर र अफ्रिकाको ग्याबोनबाट आयात गर्ने गरिएको उद्योगी सिंघानियाको भनाइ छ । उद्योगमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादनसँगै टायरको बिक्रीसमेत सुरु गरिएको छ । उत्पादित टायरको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा र उद्योगी सिंघानियाले उद्घाटन गरे ।