कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
1851

कर्णालीका विभिन्न जिल्लाका लागि नेपालगन्जबाट हुने नियमित उडानलाई चार्टर उडानमा रूपान्तरण गरेर महँगो भाडा असुल्ने गरिएको छ । यही कारण नियमति उडान घटेका छन् । चार्टर भने बढेका छन् । नेपालगन्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया बढेपछि यस्तो हुन थालेको जनाइएको छ ।
महँगो भाडा असुल गर्ने मनसायका साथ नियमित उडान घटाएर चार्टर बढाएपछि सर्वसाधारण मारमा परेका छन् । मनोमानी भाडा असुल्न नियमित उडानलाई चार्टरमा रूपान्तरण गरिएको यात्रुहरूको गुनासो छ । नेपालगन्जबाट कर्णालीका लागि नेपाल एयरलाइन्स, सीता, तारा, गोमा, मकालु समिट एयरले उडान गर्दै आएका छन् । कार्गोबाहेक चार्टर उडान गर्न नदिने पक्षमा नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालय छ । उसले नियमित उडान बढाउन विमान कम्पनीलाई आग्रह गर्दै आएको छ ।

तर, सीता र ताराले अर्को पक्षलाई कर्णाली उडानको जिम्मा दिएका छन् । नागरिक उड्डयन प्रमुख प्रतापबाबु तिवारीले चार्टर उडानलाई निरुत्साहित गर्न आफू लागिपरेको बताए । नियमित उडान बढाउन एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको उनले जनाए ।
“नियमितलाई चार्टरमा परिणत गर्न पूर्णरूपमा निरुत्साहित गर्न लागेको छु । उडानका लागि केन्द्रले अनुमति दिने भएका कारण त्यसबारे जानकारी गराइसकेको छु,” उनले भने, “त्यसबारे छानबिन सुरु भइसकेको छ । चार्टर देखाउने परम्परालाई निरुत्साहित गरेरै छाड्छौं ।”
कर्णालीका जिल्ला अनुसार नेपालगन्जबाट एकतर्फी भाडा ४ हजार ५ सयदेखि ८ हजारसम्म पर्छ । जहाज चार्टर (भाडामा) आफूखुसी भाडा लिएर यात्रु राख्ने चलन छ तर नियमिततर्फ भने निश्चित भाडा तोकिएको छ ।
नियमित उडानका लागि पहिले नै टिकट लिइसकेका सर्वसाधारण चार्टरमा राखिँदैन । जसले गर्दा एक सातासम्म समय कुर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ । “एयरलाइन्स कम्पनीले चार्टर बढी देखाउन थालेपछि नियमित उडान प्रभावित भएको छ । यो राम्रो होइन, हामी रोक्छौं,” प्रमुख तिवारीले भने ।
मुगुमा तारा एयरलाइन्सको जिम्मा भिजिट कर्णालीका राजु कार्कीले लिएका छन् । सीता एयरलाइन्सको जिम्मा सिम्रिका एयर कार्गो सर्भिसका मनोज भारती र भिजिट राराका होमराज भामले लिएका छन् ।
कार्कीले काठमाडौंबाट पर्यटक ल्याउने गरेका छन् । सीताको जिम्मा लिएका भारतीले तारा एयरलाइन्सले अर्को पक्षलाई जिम्मा दिएपछि बाध्य भएर आफूहरूले पनि सुरु गरेको दाबी गरे ।
“ताराले अर्कैलाई जहाज उडानको जिम्मा दिएपछि हामी पनि बाध्य भयौं,” उनको दाबी छ, “तर त्यसो हुँदा पनि बढी पैसा असुली गरेका छैनौं । एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा सर्वसाधारणलाई फाइदा भएको छ ।”
ताराका सूचना अधिकारी भीमराज राईले आफैंले एयरलाइन्स सञ्चालन गरिरहेको दाबी गर्दै निजी कम्पनीले चार्टरमा लिन पाउने बताए । “निजीले हाम्रो जहाज चार्टर गर्नु स्वाभाविक हो,” उनी भन्छन् ।
विमान कम्पनीको मनपरी उडानले कर्णाली आउजाउ गर्ने सर्वसाधारण र पर्यटकले सास्ती खेप्नु परेको हो । टिकट किनेपछि कयांै सातासम्म जहाज पर्खाइमा नेपालगन्ज र सुर्खेत विमानस्थलमा सर्वसाधारण बस्छन् ।