जेठको तेस्रो साता हिमालयन ट्राभल मार्ट हुने
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
316

पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्ट जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । हिमालयन ट्राभल मार्ट–२०१८ मा विदेशी विक्रेता र क्रेताको सहभागिता हुनेछ । सोल्टी होटलमा हुने मार्टमा हिमाली पर्यटन उद्योग, ग्लोबल बायर्स, हिमालयन सेलर्स, ट्राभल ब्लगर्स, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडिया, पर्यटनविद् तथा हिमालयन पर्यटनका विभिन्न जानकारहरुको सहभागिता रहनेछ ।
नेपाल पर्यटन बोर्डको मुख्य आयोजनामा हुने हिमालयन ट्राभल मार्टको सह–आयोजक पाटा इन्टरनेसनल, नेपाल वायुसेवा निगम, पाटा नेपाल च्याप्टर र टुरिजम एसोसिएसन अफ नेपाल (टान) छन् ।
पाटा नेपाल च्याप्टरले व्यवस्थापन गर्ने कार्यक्रम आयोजनामा ३ करोड ५० लाख रुपैयाँ खर्च हुने जानकारी दिइएको थियो । सम्मेलनमा बिजनेस टु बिजनेस (बिटुबी) सेसन, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर र पर्यटन क्षेत्रका अधिकारीको सहभागिता रहने पाटा नेपालका अध्यक्ष सुनील शाक्यले जानकारी दिए ।
सम्मेलनमा २८ देशका ५६ ट्राभल ‘बायर’ र ६ देशका ५० सेलरको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुने ४० अन्र्ताष्ट्रिय ब्लगरका लेखबाट नेपालका पर्यटकीय सम्पदाको प्रचार–प्रसार हुने आयोजकको अपेक्षा छ ।
“शाहसिक पर्यटनका लागि नेपालमा उत्कृष्ट पर्यटकीय संरचना भए पनि प्रचार–प्रसारको अभावमा पर्यटक संख्या बढ्न नसकेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने । उनले हिमालयन ट्राभल मार्ट जस्ता कार्यक्रमले पर्यटकीय संरचनाको प्रवद्र्धन गर्ने बताए । गत वर्ष पहिलो पटक आयोजना भएको सम्मेलनले नेपालको पर्यटनको राम्रो सन्देश गएकाले यसपटक पनि सम्मेलन आयोजना गरिएको जोशीले बताए ।