कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५
2301

चितवन-रत्ननगर–१४ पिठुवामा १० महिनाअघि शिलान्यास भई निर्माण सुरु भएको कोरियाली कम्पनी एसवाई प्यानलले आफ्नो उत्पादन सुरु गरेको छ । शिलान्यास भएको १० महिनामै कम्पनीले उत्पादन सुरु गरेको हो । फेब्रिकेटेड भवन निर्माण सम्बन्धी सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन सुरु गरेको जनाएको छ ।
कम्पनीका महाप्रवन्धक देवेन्द्र सम्बाहम्फेका अनुसार यहाँबाट विभिन्न रंगहरूमा छाना तथा वाल प्यानलहरू उत्पादन हुन्छन् । शतप्रतिशत कोरियन प्रविधि र लगानीमा स्थापना गरिएको कम्पनीको उत्पादनहरू भूकम्प प्रतिरोधी, सस्तो, छिटोछरितो, ६० वर्ष टिकाउ हुने महाप्रवन्धक सम्बाहम्फेले बताए ।

उत्पादनको छोटो समयमै डेढ करोडबराबरको कारोबार भइसकेको समेत उनले बताए । नेपालमा पहिलो पटक आधुनिक प्रविधिद्वारा प्यानल उत्पादन सुरु गरिएको कम्पनीको दाबी छ । सो कम्पनीको ७२ करोड रुपैयाँ अधिकृत पुँजी छ । कम्पनीद्वारा उत्पादन हुने छाना र वाल गर्मी र चिसो दुवै ठाउँका लागि उपयुक्त हुने जनाइएको छ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्यालसमेत उत्पादन तयारी गरिरहेको छ । दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनीले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । १० देखि १२ लाख रुपैयाँमा भान्सा, शौचालय सहितको ४ कोठे भवन निर्माण गर्न सकिने कम्पनीले जनाएको छ । यो प्यानलले आवासीय भवनहरूका साथै सरकारी भवन, विद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जिम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न कम्पनीका निर्देशक छेदोङ इलले बताए ।
सो कम्पनी निर्माणका लागि गत वर्षको असोजमा शिलान्यास गरिएको थियो । निर्देशक इलका अनुसार एसियामा बजार विस्तार गर्ने क्रममा नेपालमा लगानी गरी उद्योग स्थापना गरेर उत्पादन सुरु गरिएको हो ।