कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५
974

भीमदत्त नगरपालिकाले वडा नं. १ रौटालादेखी ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माणकार्य अगाडि बढाएको छ । चार लेन सडकको पक्की सडक बनाउने लक्ष्य राखेर रौटालादेखि ब्रह्मदेवसम्म जैविकमार्ग निर्माणकार्य अघि बढाएको हो ।
कैलालीको गोदावरी र भीमदत्त नगरपालिकामा निर्माण हुने चक्रपथसित जोड्ने गरी जैविकमार्ग निर्माण सुरु गरिएको हो । भीमदत्त नगरपालिकाले सबै वडालाई छुने गरी नगर क्षेत्रमा चक्रपथ बनाउने योजनाअघि बढाएको छ ।

प्रदेश नम्बर ७ सरकारले आव ०७५/७६ को वार्षिक कार्यक्रममा कञ्चनपुरको ब्रह्मदेवदेखि चिसापानीसम्म चुरे फेदीमा जैविक पर्यटकीय मार्गका लागि ५० लाख रकम विनियोजन गरेको छ भने स्थानीय सरकार तथा भीमदत्त नगरपालिकाले समेत ५० लाख रकम छुट्याएको छ । जैविक मार्गले ब्रह्मदेवको सिद्धबाबा मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिर एक आपसमा जोडिने छ । ब्रह्मदेवसम्म झण्डै १५ किमि लम्बाइको जैविक मार्गको चौडाइ कम्तीमा १८ देखि २२ चौडाइ छ ।
जैविक मार्गले ब्रह्मदेवको कालिकास्थित प्रस्तावित महाली लोकमार्गलाई जोड्ने र मन्दिरनजिक बसपार्क प्रस्तावित गरिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द विष्टले बताए । उनले जैविक मार्गले घाँडीघाँचको विकास र जनावरबाट हुने बालीनाली क्षति रोक्ने विश्वास लिएको बताए । जंगलको अतिक्रमण, गरिब दलित बस्तीमा सहज पहँुच मार्ग भएको छ । जैविक मार्गले महाकाली करिडोरसँगै भित्री मधेसका बालबालिकालाई उच्च शिक्षाका लागि सहज हुने बताए ।
भीमदत्त नगरपालिकाले जैकिक मार्गमा पर्ने बाराकुण्डा क्षेत्रको धार्मिक पर्यटकीय र झोलुंगेनजिक महाकाली नदी किनारामा पार्किङस्थल तथा पिकनिकस्थलको गुरुयोजना बनाएको छ । भीमदत्त नगरपालिकाले पर्यटकीय र धार्मिक विकासका लागि गुरुयोजना निर्माण गरेको छ । बाराकुण्डाका भीमदत्त नगरपालिका–१ मा पर्छ । बाराकुण्डाका एक दर्जत ताल, धार्मिकस्थल र पर्यटकीय क्षेत्रको विकासका लागि चालू आवमा झण्डै एक करोडको कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यसका लागि राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको ६६ लाख र भीमदत्त नगरपालिकाका लागि २० लाख र वडा नं. १ को कार्यालयका लागि ५ लाख रकम बजेट छुट्याएको छ । स्थानीयले धार्मिकस्थलले जैविक मार्गसँग जोडिँदा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पहलमा वृद्धि हुने विश्वास लिएका छन् । जैविक मार्गले १, ३, ५, ८, ९ र १० नं. वडालाई छोएको छ । जसमा वडा नं. १ मा ब्राह्कुण्डा मन्दिर र रौटेला मन्दिर,वडा नं.८ मा भम्केनी धाम, वडा नं. ९ मा झिलमिला ताललगायतका रमणीय र धार्मिकस्थल रहेको भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामनाथ योगीले बताए । जैविक मार्गको सुरुवातीसँगै यहाँको मानवजीवनमा परिवर्तन हुने विश्वास लिएका छन् ।
-हिमेश विक/महादेव अवस्थी