महादेव अवस्थी
शुक्रवार, आश्विन १९, २०७५
794

कञ्चनपुर-भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न सुरु गरिएको छ । भीमदत्तको तेस्रो नगर सभाबाट नगरपालिकाका भवन निर्माण संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको मापदण्ड पूरा गरी नक्सापास गर्ने निर्णय गरिएको थियो । नगर सभाको निर्णयअनुसार नगरपालिका कार्यालयले ती भवनको मापदण्ड पुगाएर नक्सापास सुरु गरिएको छ । अहिले नगर सभाको निर्णयअनुसार दैनिक रूपमा कार्यालयमा नक्साका लागि स्थानीय बासिन्दा आउने गरेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगर सभाबाट भवन संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय गरिएको जानकारी दिए । “नगरपालिकाको ऐन कानुन नियमअनुसार भवन निर्माण संहिता अनुसार नक्सापास नगरी भवन निर्माण गर्न पाइँदैन,” उनले भने, “यसअनुसार सरकारी, गैरसरकारी निजी सबै भवनको नक्सापास गर्छौं ।”
नगर सभाको निर्णयअनुसार भदौ १ गतेदेखि सुरु गरिएको नक्सापास ६ महिनासम्म जारी रहनेछ । भीमदत्त नगरपालिकामा आर्थिक वर्ष ०७२÷७३ देखि राष्ट्रिय भवन संहिता लागू गरिएको हो । स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले भीमदत्तलाई व्यवस्थित सहर बनाउन भवन संहिता कार्यान्वयनका लागि प्रतिबद्धता गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिमको प्रक्रिया पूरा गरी भवन संहिता लागू हुन पूर्व निर्माण गरिएका सबै भवनको नक्सापास सुरु गरिएको हो । यो परिच्छेदको भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने प्रावधना राखिएको छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सा पास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।
भीमदत्त नगरपालिकाका वडा कार्यालयले नगर सभाको निर्णयअनुसार पुराना भवनको नक्सापास गराउन नगर बासिन्दालाई सार्वजनिक सूचना गरी आह्वान गरेका छन् । भीनपा–२ का अध्यक्ष डम्मर सिंह कार्कीले नगर सभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए । “भवन संहिताअनुसार लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गराउन सबै वडावासीलाई आग्रह गरी सूचना जारी गरेका छौं,” वडाध्यक्ष कार्कीले भने । भीनपाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर गोरखबहादुर सिंहले नगर सभाको निर्णयअनुसार भदौ १ गतेदेखि भवन संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न थालिएको बताए । “अहिले दैनिक रूपमा नक्सापासका लागि फाइल आइरहेका छन् । यसबाट नक्सापास हुन बाँकी नगर बासिन्दालाई सहयोग पुग्छ,” उनले भने, “यसका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको छ ।” भीमदत्त नगरपालिकामा हालसम्म ७ हजार ५ सय भवनको नक्सापास गरिएको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको संख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालू आवमा भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिएका हुन् ।
गत आवमा नगरपालिका कार्यालयमा ३८२ नक्सा दर्ता भएकोमा २७५ पास गरिएका छन् ।