कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
416

काठमाडौं- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा दुई पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीबीच सहमति देखिएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष लोहनीले को व्यक्ति के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषी जोसुकै भएपछि छानबिन गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।
अध्यक्ष लोहनीले पछिल्लो समय मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको बताए । “साँढे ३३ केजी सुन प्रकरणमा जनता अब थाकिसके, फाइल प्रधानमन्त्री कहाँ पुगेर अड्किएको छ,” उनले भने, “नेपालबाट अर्बौंको धन विदेश लग्ने यथार्थता जनतासामू आएको छ, यसलाई राज्यले छानबिन गर्नुपर्छ ।” उनले नेपालको धन देशबाहिर जानु नेपालको कानुनविपरित भएको दाबी गरे । “स्वीस बैंकमा नेपालबाट रकम जम्मा गर्नु स्पष्ट गैरकानुनी हो र यो काम दोस्रो जनआन्दोलनपछि व्यापक वृद्धि भएको छ,” उनले भने, “द्वन्द्व सकिएपछि २०६३ सालमा मात्रै पनि ४ अर्बभन्दा बढी स्वीस बैंकमा जम्मा भएको छ ।”
अध्यक्ष लोहनीले देशको धन बाहिर लगेर जम्मा गर्ने हो भन्ने पत्ता लगाएर कारबाही गर्न माग गरे । “कसरी उनीहरूले जम्मा गरे यस्ता प्रश्नबारे नेपाल सरकारसँग अलिकति पनि नैतिकता बाँकी रहे तुरुन्त अनुसन्धान गरी कारबाही गर्नुपर्छ,” उनले भने, “सरकारको नैतिकता र जनताप्रति संवेदनशीलता भए अविलम्ब अनुसन्धान गर्न सुरु गर्नुपर्छ ।” उनले कालोधन्दा बढ्दै गए नेपाल अर्थतन्त्रको कालोसूचीमा पर्न सक्ने चेतावनी पनि दिए ।