कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
363

खानेपानीमन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् । विश्व पानी दिवसको अवसरमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानीमन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् ।
सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरेकी हुन् । “अन्नका लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं, तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं,” उनले भनिन्, “प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।”

खानेपानीमा आमजनताको पहुँच पु-याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले बताइन् । खानेपानीमा सहज पहुँच पु-याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भइरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिएकी छन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिँदा प्राथमिकतामा नपरेको बताए । उनले ठूलाठूला जलविद्युत्का लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्वमन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरुयोजना बनाउन सरकारलाई सुझाव दिएका छन् ।