कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
329

सल्यानको शारदा नगरपालिकाले कृषकलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । नगपालिकालाई पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नीति अनुरूप व्यावसायिक बाख्रापालनलाई उत्प्रेरित गर्न बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावअनुसार नीतिगत मापदण्डभित्र परेका समूह, सहकारी र व्यक्तिगत फारामलाई शतप्रतिशत अनुदानमा बोका वितरण गरिएको नगरपालिका पशुसेवा शाखाका मधुसुदन उपाध्यायले बताए । उनका अनुसार ११ वटा बोयर बोका वितरण गरिएको छ ।
नगरका कृषि संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी नेतृत्वको टोलीले नगरपालिकामा प्राप्त प्रस्तावको मूल्यांकन गरेको थियो । बोका वितरणको लक्ष्य परम्परागत बाख्रापालनलाई क्रमशः व्यावसायिक गर्दै लैजानु र उत्पादनलाई बढवा दिई कृषकको आर्थिक अवस्थालाई उकास्नु रहेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि नगरले बोका वितरण गरेको थियो ।