कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४
696

अल्पसंख्यक ह्योल्मो जातिको बसोबास रहेको पर्यटकीय गाउँ हेलम्बुमा ह्योल्मो संस्कृित झल्कने कलात्मक घरसहितको एकीकृत बस्ती निर्माण सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई हेलम्बुप्रति थप आकर्षित गर्नका लागि नमुना एकीकृत बस्ती निर्माण सुरु गरिएको हो ।
पहिले बस्दै आएको पुरानो थातथलो जोखिम भएकाले विस्थापित भएका ५३ परिवारका लागि एकीकृत बस्ती बनाउन लागिएको छ । अक्सफामको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा बस्ती निर्माण सुरु गरिएको हो । शुक्रबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जने शेर्पाले नमुना बस्तीको शिलान्यास ह्योल्मो परम्पराअनुसार गरे । बस्ती हेलम्बु–१ स्थित तेम्बाथानमा निर्माण सुरु गरिएको हो ।
भूकम्पपछि विस्थापित भएका हेलम्बु गाउँपालिका टासिथाङ्का र नादुङका २२, ऐम्बालामाका १५, फादुङका पाँच, घ्याङ्गुलका पाँच र थुईपालका एक घरधुरीका लागि एकीकृत बस्ती निर्माणको थालनी गरिएको हो । घरबाहेक बस्तीमा आकर्षक सामुदायिक भवन बस्ती निर्माण समितिको कार्यालय र ह्याल्मो जातिको पूजा गर्ने गुम्बासमेत निर्माण गरिनेछ ।
विस्थापितहरू भूकम्पअघि पनि आफ्नै जातिको संस्कृति झल्कने घरमा बसोबास गर्थे । भूकम्ले घर भत्काएपछि सुरक्षित आवास खोजिरहेका उनीहरू एकीकृत बस्ती बन्ने भएपछि खुसी छन् । “भूकम्पपछि परम्पराअनुसार पूजा गर्न निकै कठिन भयो, टहरामा बस्न पनि निकै समस्या थियो,” स्थानीय निमा लामाले भनिन्, “अब भने फेरि खुसी फर्किएको छ ।” उनले दाता संस्थाले आफ्नै जातिको पहिचान झल्कने घर बनाइदिने सुन्दा आफू निकै खुसी भएको सुनाइन् । सेकर्म गाउँबाट विस्थापित भएर आएकी उनी अब आफ्नो छिमेकी र आफ्नो घर उस्तै हुने सुन्दा दंगसमेत थिइन् । पहिले बसेको ठाउँमा भीर छ । भूकम्पले जमिन धाँजा फाटेको छ । “कुनै पनि बेला भीर खस्न सक्छ, त्यसैले यहाँ आएर बस्नुपरेको हो,” उनले सुनाइन् ।
बस्ती निर्माण गरी हस्तान्तरण गर्ने बेलासम्ममा साढे तीन करोड रुपैयाँ लाग्ने अक्सफामले जनाएको छ । बस्ती आउँदो चैतको दोस्रो साता सम्पन्न गर्ने लक्ष्य राखी निर्माण सुरु गरिएको हो । एकीकृत बस्तीभित्र बनाइने सबै घर स्थानीय ह्योल्मो समुदायको ‘मर्चेगुम्बा’ शैलीको हुनेछ । निर्माण गरिने तीन कोठे घर एक तल्लाको मात्र हुनेछ । एकै रङको जस्ताले छाइने घरको झ्याल, ढोकामा ह्योल्मो संस्कृति झल्कने बुट्टा कँुदिने बस्ती निर्माण समितिका अध्यक्ष साङगे लामा ह्योल्मोले बताए । “घरको अगाडितर्फको झ्याल र ढोका ह्योल्मो संस्कृतको पहिचान झल्कने खालको हुनेछ,” उनले भने, “बुट्टा कुँद्नका लागि काठमाडौंबाट दक्ष कालिगढ ल्याउने तयारी छ ।”
बस्ती निर्माणका लागि दक्ष प्राविधिकबाहेक स्थानीय जनशक्ति प्रयोग गरिने जनहित ग्रामीण सेवा समितिले जनाएको छ । “प्रतिघर दुई लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न हुनेछ,” जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले भने, “स्थानीय जनशक्ति प्रयोग नगरे यो रकमले पुग्दैन ।” उनले घरमा लगाइने गाह्रोमासमेत स्थानीयस्तरमै उत्पादन हुने इन्टरब्लक प्रयोग गरिने बताए । इन्टरब्लक इँट्टा मेसिनमा पकाएर उत्पादन गरेको चलनचल्तीको रातो इँट्टाभन्दा सुलभ र वातावरणमैत्री हुने हुँदा त्यसैको प्रयोग गर्न लागिएको हो । ७० प्रतिशत माटो, २० प्रतिशत बालुवा र १० प्रतिशत सिमेन्टको मिश्रणबाट बन्ने ठूलो आकारको एउटा इन्टरलक इँट्टाले अन्य चारवटा सामान्य इँट्टाको काम गर्छ । इन्टरलक इँट्टाको प्रयोगले घर भूकम्पप्रतिरोधी हुनुका साथै वातावरणमैत्री हुने उनको भनाइ छ । “यसमा लकिंग सिस्टम हुनेहुँदा घर बलियो हुनेछ,” उनले भने ।
एकीकृत बस्ती बन्ने भएपछि भूकम्पपीडितले घर बनाउन अनुदानवापत पाएको पहिलो किस्ताको रकम जग्गा सम्याउनका खर्चिएका छन् । बस्तीमा घरमात्र अक्सफामले बनाइदिनेछ । अन्य आवश्यक पूर्वाधार निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक करोड २० लाख बजेट विनियोजन गरेको हो । “सामुदायिक भवन, धारा, सडकलगायतका लागि प्राधिकरणको पैसा खर्चिन्छ,” जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने, “पर्यटक आकर्षित गर्नका लागि होमस्टेसमेत निर्माण गरिन्छ ।”

-किशोर बुढाथोकी