कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४
476

आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा कडा प्रकृतिका रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ ।
मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाजस्ता कडा रोग लागेका विपन्न नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउन सरकारले विपन्न नागरिक कोष सञ्चालन गरेको हो ।
बर्दियामा २०६८ सालदेखि आर्थिक सहायता उपलब्ध गराउन सुरु भए पनि कोषसम्बन्धी प्रचारप्रसार र पहुँचको अभावमा विपन्न नागरिक सामु सो सेवा पुग्न सकेको छैन । यसबारे निकै कमलाई मात्रै जानकारी हुँदा विपन्न नागरिकको पहुँचमा आर्थिक सहायता पुग्न नसकेको हो ।
२०६८ सालदेखि सहायता उपलब्ध गराउन सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियावाट ६ वर्ष बितिसके पनि १ हजार २३३ जनाले मात्रै सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक छ ।
सो अवधिमा सबैभन्दा बढी क्यान्सर रोगका ४५८ बिरामीले सहायता लिएका छन । त्यसैगरी सिकलसेल एनिमियाका ३८२ , मुटु रोगका २२८, मिर्गौला १५१, स्पाइनल इन्जुरीका १३ र हेड इन्जुरीका १ जनाले मात्रै सहायता लिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । “हालसम्म अल्जाइमर र पार्किन्सन्स रोगका विरामीले भने यो सुविधा लिएका छैनन्,” उनले भने । बिरामी र तिनका आफन्तले सही समयमा सूचना नपाउनुका साथै सेवा कुन ठाँउमा कसरी लिने भन्ने जानकारी अभावमा सेवालिने बिरामीको संख्या बढन नसकको उनको भनाइ छ ।
धेरै बिरामी र तिनका आफन्तलाई यो सुविधाबारे जानकारी नहुँदा सेवा लिनबाट उनीहरू वन्चित भएका छन् । तथापि पछिल्लो समय केही अस्पतालले भने यो सेवाको बारेमा बिरामीहरूलाई आफंै जानकारी दिएका कारण केही सहज भएको आफ्नो बुबाको मुटुसम्बन्धी रोगको उपचारका लागि सहुलियत लिन जिल्ला स्वास्थ्य कार्यालय बर्दिया आएका बारबर्दिया नगरपालिका–६ का विवेक शर्माले बताए ।
उपचार सहायताका लागि धेरैलाई जानकारी नहुँदा सहायता लिनेको संख्या बढन नसकेको स्वीकारर्दै पछिल्लो समय विगत वर्षको तुलनामा क्रमशः यो सेवा लिने बढ्दै गइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । सहायता लिन सबैभन्दा पहिला रोग पहिचान भएको डाक्टरको पुर्जी, सम्बन्धित स्थानीय निकायको सिफारिस, बिरामीको नागरिकता र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर निवेदन दिएको कागजात आवश्यक पर्ने उनको भनाइ छ ।
विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत सरकारले विभिन्न ८ प्रकारका रोगका बिरामीका लागि १ लाख रुपैयाँ बराबरको औषधि उपचार सेवा निःशुल्क गरिने व्यवस्था गरेको छ । त्यस्तै मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई मृगौला प्रत्यारोपण गर्दा सूचीकृत अस्पतालमार्फत ४ लाख रुपैंया बराबरको औषधि उपचार सुविधासमेत उपलब्ध गराउँदै आएको छ । योबाहेक मिर्गौलासम्वन्धी रोगको प्रकृति हेरेर अन्य सुविधा पनि उपलब्ध हुने सरकारी प्रावधान छ ।

-लक्ष्मण ढुंगाना