क्रसर उद्योगमा आगजनी
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
76

नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लु साइन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।
कांग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा शुक्रबार राति १२ बजे ८÷९ जनाको समूहमा गएका व्यक्तिहरूले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, १ वटा जेसीबी, ४ वटा ट्रिपर र १ वटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएको छ ।
सञ्चालक कुन्साङ लामाले केही हतियार धारीहरू आएर क्रसरमा भएको आफ्ना कर्मचारीहरूलाई एउटा कोठामा थुनेर पेट्रोल छर्केर आगजनी गरेको जानकारी दिए । आगजनी र तोडफोडमा संलग्नको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुख एसपी थापाले जानकारी दिए ।
आगजनी र तोडफोडबाट झन्डै १० करोडको क्षति भएको जनाइएको छ ।
लु साइन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा–सिपाली जाने बाटोको प्रवेशद्वार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिए । घटनामा विप्लब माओवादी संलग्न भएको आशंका गरिए पनि हालसम्म घटना कसले घटायो, बम कसले राख्यो भनेर आधिकारिक जिम्मा कसैले नलिएको कारण कुन समूहले के ग¥यो भन्न नसकिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
-कपिल कोइराला