महिनाव्यापी खाद्य स्वच्छता दिवस मनाइँदै
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
901

खाद्य गुणस्तर तथा स्वच्छताबारे सचेतना लागि महिनाव्यापी खाद्य स्वच्छता दिवस मनाइने भएको छ । यो वर्ष ‘हामी सबैको सरोकार : खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ मूल नाराकासाथ दिवस मनाइने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० वर्षदेखि जेठ २४ गते राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउदै आएको छ भने गत वर्षदेखि गत वर्षदेखि यो दिवसलाई जेठ महिनाभर विविधि कार्यक्रम गरेर मनाउँदै आएको छ । मंगलबार विभागमा पत्रकार सम्मेलन आयोजना गरि दोस्रो महिनाव्यापी खाद्य स्वच्छता महिना २०७५ र दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको सुरुवात गरिएको हो ।
खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम उपभोक्तासम्म पु¥याउन सचेतनामूलक कार्यक्रमहरुकासाथ दिवस मनाउन थालिएको विभाग महानिर्देशक तथा मूल आयोजक समिति संयोजक संजीवकुमार कर्णले बताए । “खाद्य ऐन कार्यान्वयन गर्ने निकायको हैसियतमा यससम्बन्धी सचेतना जगाउन बर्सेनि यो दिवस मनाउदै आएका छौं,” उनले भने, “दिवसले कुनै न कुनै रुपमा उपभोक्ता तथा सरोकारवालालाई सचेत बनाउन भूमिका खेलेको हामीले महसुस गरेका छौं ।” उनले उपत्यका र मुलकभरका पाँचवटै क्षेत्रीय कार्यालयहरुले महिनाभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने बताए ।
खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई बुझेर संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व स्वास्थ्य संघको आयोग ‘कोडेक्स’को संयुक्त वैठकले जुन महिनाको ७ तारिकलाई अन्तराष्ट्रिय खाद्य स्वच्छता दिवस मनउाने रिफारिस गरेको विभागले जनाएको छ । विभागअन्तर्गत कोडेक्स समन्वयका लागि छुट्टै इकाई छ भने विभागले पनि पटक पटक एफएओ र कोडेक्स समितिमा खाद्य स्वच्छता दिवसका लागि माग गर्दै आएको थियो । “खाद्य स्वच्छता दिवस र त्यसमाथि पनि महिनाभर यो दिवस मनाउने नेपाल मात्र प्रमुख मुलुक हो, कोडेक्स र एफएओको सिफारिस विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेमा हामीले मनाएको राष्ट्रिय दिवस अन्तर्राष्ट्रिय दिवस बन्नेछ,” महानिर्देशक कर्णले भने ।
दिवसको अवधिमा विभाग र क्षेत्रीय कार्यालयले विशेष बजार अनुगमन गर्ने भएका छन् । खाद्य रेष्टुरेन्ट, मिठाइ पसल, उद्योगलगायतमा खाद्यसँग सम्बन्धित क्षेत्रमा मोबाइल प्रयोगशाला प्रयोग गरी अनुगमनलाई तिब्रता दिने कार्यक्रम रहेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । यस अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि कार्यशाला, गोष्ठी, सचेतनामूलक कार्यक्रम, वक्तृत्वकला र सन्देशमूलक सूचनाहरु प्रचारप्रसार लगाएतका कार्यक्रम हुने उनले बताए ।