प्रकोप न्यूनीकरण गर्न ‘फटपट झोला’
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४
45

बिगु गाउँपालिका– ४ लोङठोङकी देशीमाई तामाङ आजभोलि आफ्ना छिमेकीहरूलाई झटपट झोला छ कि छैन भनेर सोधीखोजी गर्ने गर्छिन् । झटपट झोला नहुने घरमा झटपट झोला राख्न उनी सुझाउन थालेकी छन् ।
लोङठोङकी अर्की टेकम तामाङ र शान्ति तामाङ पनि मेलापात जाँदा होस् वा घाँस दाउरा जाँदा सबैलाई झटपट झोलाका बारेमा सम्झाई बुझाई गर्छिन् । त्यसैगरी सोही वडा लिम्बाकी सुन्दरी श्रेष्ठको दैनिकी पनि उस्तै छ । भइपरी आउने प्रकोप र त्यसबाट बच्नका लागि उनीहरू तयारीमा लागेका छन् ।
आजभोलि बिगु– १ लादुकका लिम्बा र लोङठोङका ७५ भन्दा बढी घरमा झटपट झोला छ । झटपट झोला उनीहरू आफैंले स्थानीयस्तरमा तयार गरी घर–घरमा राखेका हुन् । झटपट झोला राखेपछि जुनसुकै प्रकोप पर्दा पनि आफूलाई सजिलो हुने स्थानीय नाक्ची तामाङले बताइन् ।
“पहिलापहिला त हामीलाई केही जानकारी थिएन,” उनले भनिन्, “केही जानकारी नभएकाले २ वर्षअघि भूकम्प जाँदा धेरै दुःख पाइयो ।” अहिले त घर पनि प्राविधिकहरूले सिकाएअनुसारै भूकम्प प्रतिरोधी बनाएकाले गाउँका घर सुरक्षित हुनेमा उनी ढुक्क छिन् । “प्रकोप भनेको बाजा बजाएर आउँदो रहेनछ । त्यसैले हामी त तयारीमा बस्नु प¥यो नि !” उनले भनिन् ।
घरघरमा राखिएको झटपट झोलामा प्राथमिक उपचारका औषधि, सामान्य खानेकुरा, पानीलगायतका सामग्री राखिएका हुन्छन् । भूकम्प, आगलागी, महामारीजस्ता प्रकोप भइहाले पनि तत्कालका लागि आफूलाई नभई नहुने सामग्री झटपट झोलामा राखिएको अर्की कालिका खत्रीले बताइन् ।
घरै बस्न नहुने अवस्थामा पनि तयारी अवस्थामा रहेको झटपट झोला बोकेर भाग्नका लागि राखिएको उनले बताइन् । झटपट फुत्त बोकेर हिँड्न सजिलो होस् भनेर झोलाको नाम पनि झटपट झोला राखेको उनको भनाइ छ । यस्तो झोला हरेक घरले ढोकाकै छेउमा राख्ने गरेको उनले बताइन् ।
झटपट झोला बनाउन र राख्नु पर्छ भन्ने स्थानीयस्तरमै सञ्चालित रिफ्लेक्ट कक्षामा सिकेका हुन् । साप्ताहिक रूपमा सञ्चालन हुने रिफ्लेक्ट कक्षामा गाउँमा समसामयिक विषयमा छलफल हुने स्थानीय टेकम तामाङले जानकारी दिइन् । रिफ्लेक्ट कक्षामै छलफल गरेर गत जेठमा लोङठोङ र लिम्बामा बर्खामा भल पस्न नदिन गाउँमाथिबाट कुलो बनाएका थिए । कुलो कटाएपछि गाउँमा यसपाली भल नपसेको उनले बताइन् ।
रिफ्लेक्ट कक्षाकै छलफलबाट स–सानो स्थानीय कामका लागि अर्काको भर पर्नुभन्दा आफ्नै पहलमा सामूहिक काममा लाग्नु पर्ने उनले बताइन् । भूकम्प र त्यसपछिका विभिन्न जोखिम तथा विपद्हरू भोगेको लिम्बावासीहरू अहिले सामूहिक छलफलबाट समस्याका प्राथमिकीकरण गरी सबैभन्दा पहिला गर्नु पर्ने कामहरूको सूची निर्माण गरी योजना बनाउन जान्ने भइसकेको उनीहरू दाबी गर्छन् । भूकम्पबाट आफूहरूले दुःख पाएपछि पूर्वतयारीमा लागेको उनीहरू बताउँछन् । २०७२ वैशाखको भूकम्पमा पनि बिगु– १ लादुकमा मात्र १५ जनाभन्दा बढीको ज्यान गएको थियो ।
स्थानीयस्तरमा रिफ्लेक्ट कक्षा सञ्चालनका लागि सामुदायिक विकास मञ्चले सघाएको छ । मञ्चका कार्यक्रम संयोजक गोपालकृष्ण बस्नेतले इकोको सहयोगमा सानो कार्यक्रमबाट पनि स्थानीयहरू आफैं प्रकोप न्यूनीकरण र त्यसबाट बच्ने तयारीमा लागेको बताए ।