विप्लव काफ्ले
बिहिवार, जेठ १०, २०७५
502

चितवनको मुख्य बजार नारायणगढ क्षेत्रको फुटपाथ व्यवसाय यही जेठ १४ गतेदेखि पूर्णरूपमा हटाइने भएको छ । भरतपुर महानगरको मुख्य बजारका रूपमा रहेको नारायणगढ बजार फुटपाथ व्यवसायले गर्दा निकै भद्रगोल देखिन्थ्यो । सोमबार नगरप्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लायन्सचोकदेखि पुलचोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गबाट ५ सय मिटरभित्र बजार क्षेत्रमा रहेका फुटपाथ तथा ठेला व्यापार १४ गतेदेखि पूर्णरूपमा हटाउने निर्णय गरेको छ ।
“जनप्रतिनिधि नहँुदा विगतमा डण्डा बर्साएर हटाउन खोज्ने काम भए । तर, फुटपाथ खाली हुन सकेन,” महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्, “यसपालि विकल्प तयार गरेर हट्न निर्देशन दिएका छौं । उनीहरूको रोजीरोटी पनि नखोसिने, बजार पनि व्यवस्थित हुने गरी ठाउँ बनाइदिएका छौँ ।” बालकुमारी कन्या माविको स्वमित्वमा रहेको ६ कठ्ठा जग्गा भाडामा लिएर महानगरले फुटपाथ व्यवसायलाई एकीकृत गर्न लागेको जानकारी दिइन् । “१४ गतेपछि बजारमा फुटपाथ व्यवसाय पूर्णरूपमा हटाउने गरी जानकारी गराएका छौँ,” मेयर दाहालले भनिन्, “अटेर गर्नेलाई कानुनी कारबाही गर्छौँ ।”

बजारमा बढ्दो अस्तव्यस्ततालाई मध्यनजर गर्दै फुटपाथ खाली गराउन लागिएको उनले बताइन् । “फुटपाथ ढाक्ने गरी सटर अगाडि सामान राख्न निषेध गरेका छौँ,” उनले भनिन्, “अनुगमनका क्रममा त्यस्तो भेटिए सामान जफत गरिनेछ ।” फुटपाथ तथा ठेला व्यापारीले विकल्प विना नहटाउन पटक–पटक गरेको अनुरोधकै आधारमा ठाउँ खोजी गरेर हटाउन थालिएकाले अब कडाइका साथ फुटपाथ खाली गराइने दाबी गरिन् ।
फागुन १६ गते मेयर रेनु दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकबाट १६ सदस्यीय फुटपाथ तथा बजार व्यवस्थापन अध्ययन कार्यदल बनेको थियो । सो समितिले १८ गते बनाएको ७ बुँदे निश्कर्ष फागुन २३ गते महानगरलाई बुझाएको थियो । त्यसलगत्तै एक सातामा हटाइने चर्चा भए पनि वैशाख १ गते हटाउने तयारी महानगरले गरेको थियो । भरतपुर ब्यारेकको पश्चिम नहर छेउको झण्डै ३ बिघा जग्गामा फुटपाथ व्यवसाय राख्ने पहिलो प्राथकितामा परे पनि त्यो काम त्यसै रोकिएको थियो । “पहिलो प्राथमिकताकोे जग्गा प्राविधिकरूपमा उपयुक्त नपाएपछि कन्या माविको जग्गा व्यवस्थापन गर्दा केही समय लागेको हो,” मेयर दाहालले भनिन्, “सुरुमा ट्रेड युनियनहरूले अवरोध गरेका थिए । स्वयं व्यवसायी सकारात्मक बनेपछि अब फुटपाथ व्यवस्थापनमा समस्या छैन ।”
साना खुद्रा व्यवसायीले छरपस्टरूपमा चारपाङ्ग्रे ठेला, साइकल, डोकामा सामान राखेर सडकपेटी, चौतारालाई नै ‘सटर र पसल’ मान्दै व्यवसाय चलाउँदै आएका थिए । “फुटपाथ निकै भद्रगोल थियो । खाली गराउनु अत्यावश्यक थियो,” महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भने, “नगर प्रहरी, ट्राफिक प्रहरीमार्फत माइकिङ गर्ने काम भएको छ । अब थाहा पाइन भनेर फुटपाथमै व्यापार गर्ने छुट कसैलाई छैन ।” महानगरको वातावरण शाखाका प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले बालकुमारी कन्या माविको ६ कठ्ठा जग्गा ५ वर्षका लागि भाडामा लिएर सामान्य पूर्वाधार विकास गरिएको बताए । “मासिक ६० हजार भाडमा जग्गा लिएका छौँ,” उनले भने, “ग्राबेल राखेर सम्याउने, शौचालय, टिनको बार लगाउने जस्ता पूर्वाधार विकासमा झण्डै ६ लाख खर्च भएको छ ।” महानगरले २९ वटै वडामा ‘हाटबजार’ सञ्चालनको नीतिसमेत अघि सारेको छ ।