प्रकाश पाक्साँवा
सोमवार, आश्विन ८, २०७५
711

तेह्रथुम-जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा अपराधिक घटना बढ्न थालेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत अपराधका घटना बढेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा दर्ता भएका मुद्दाको तथ्यांकले अपराधिक घटना बढेको देखाएको छ । दुर्ई वर्ष अगाडि जिल्ला प्रहरी कार्यालयमा ८० वटा मुद्दा दर्ता भएका थिए । यो मुद्दा संख्या अघिल्ला वर्षहरुको तुलनामा निकै बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा ८० वटा, ०७३/०७४ मा ९७ वटा र ०७४/०७५ मा १०२ वटा मुद्दा दर्ता भएका सूचना अधिकारी प्रहरी निरिक्षक वासुदेव यादवले बताए । जसमा आव ०७२/०७३ का सबै मुद्दा फर्छाैट भएका छन् भने ०७३/०७४ का ४९ र ०७४/०७५ का ४८ वटा मुद्दा फर्र्छाैट हुन बाँकी रहेका छन् । कोही मुद्दामा प्रतिवादी नभएका, कोही फरार रहेकाहरुले गर्दा मुद्दा बाँकी रहेको प्रहरी निरिक्षक यादवको भनाइ छ ।

जिल्लामा बहुविवाह, जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग, आत्महत्या, भवितव्य ज्यान, लागु औषध, कालोबजारीका घटना बढेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीमा तीन वर्षमा बहुविवाहको मुद्दा–९, कर्तव्य ज्यानका–१०, ज्यान मार्ने उद्योगका–७, गर्भपतन–१, गौवध–३, भवितव्य ज्यान ५८, विष खाएका ११ र आत्महत्याका ५९ वटा मुद्दा दर्ता भएका मुद्दा फाँटका प्रहरी नायव निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिए । उनका अनुसार चोरीका–१०, ठगीका ४, काला बजारी–१, केही सार्वजनिक अपराध–४८, कुटपिट अंगभङ्ग–१, बहुविवाह–९, बालविबाह–२, जवरजस्ती करणी–२५, जवरजस्ती करणी उद्योग–१०, जीउ मास्ने–१, सवारी दुर्घटना–६, मानिस–१, आगलागी–१, हातहतियार खरखजाना–१० र धर्मसम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् ।
“जिल्लामा अधिकारमुखी संघ–संस्थाको गतिविधिका कारण नागरिक सचेतना बढ्दै गएको छ,” उनले भने, “त्यसैले न्याय र अधिकारका लागि प्रहरीकोमा उजुरी बढेको हो ।” प्रहरीले मिलापत्र भन्दा पीडितलाई न्याय दिलाउनका लागि सहज रूपमा उजुरी लिने गरेकाले समेत घटना बढी देखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।