कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५
269

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका संरचनाको मौलिक शैलीमै निर्माणका लागि सहयोग गर्ने भएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका संरचनाको मौलिक शैलीमै निर्माणका लागि सहयोग गर्ने भएको छ । पशुपतिमा भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्तिलगायतमा प्राधिकरणले सहयोग गर्ने भएको हो । बुधबार पशुपति विकास कोषका पदाधिकारीसँग भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले कोषअन्तर्गतका संरचनाको पुनर्निर्माण र पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना निर्माणका लागि मौलिक शैलीमा निर्माण गर्न सहयोग गर्ने बताए । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोगसमेत गर्ने बताउँदै यसबारे स्पष्ट योजना ल्याउन आग्रह गरे । पुनर्निर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरूको संरक्षण कार्यलाई एकासाथ अगाडि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदायलगायत बीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गरे । “पुनर्निर्माणका लागि विनियोजन भएको बजेटसमेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ,” सदस्य सचिव डा. ढकालले भने । पशुपति क्षेत्र  विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्र जमिन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरूको जीर्णोद्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बने पनि विश्वरुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदा, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माण अघि बढ्न सकेको छैन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणिकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिएका थिए । उनले गौशालादेखि जयबागेश्वरी, जयबागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव दिएका थिए ।