दिलबहादुर केसी
आइतवार, पुष २९, २०७५
1845

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भारतीय कम्पनी टेक्सम्याकोले गर्न नसकेको पेनस्टकको काम टुक्र्याएर अष्ट्रियाली कम्पनी एन्ड्रिजलाई दिइएको छ । एन्ड्रिजलाई पेनस्टकको आधामात्र काम दिइएको हो भने आधा काम भारतीय कम्पनीले नै गरिसकेको छ । आयोजनाको लट २ अन्तर्गत टेक्सम्याकोले गर्न नसकेको काम एन्ड्रिजलाई दिइएको हो ।
पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त काम एन्ड्रिजलाई दिने सम्झौता भएको अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । यसबारे अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौतासमेत भइसकेको उनले बताए ।

आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजलाई दिएको हो । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङ सहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने गर्ने भएको छ । सम्झौता भएलगत्तै एन्ड्रिजले काम सुरुसमेत गरिसकेको छ ।
लट २ को ठेक्का लिएको टेक्सम्याको इण्डिया लिमिटेड एन्ड्रिजलले आफूले गर्न नसकेको काम समेत एन्ड्रिजलाई दिन सहमत भएकाले सुनकोसी पावर हाउस खाडीचौरमा रहेको तल्लो पेनस्टकको पाइप समेत दुवै मिलेर ढुवानी भइरहेको छ । जसले ढुवानी गरेको हो उसैले भुक्तानी पाउने सहमति भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । नयाँ सम्झौताले थप भार नपर्ने गरी बाँकी कामको ठेक्का दिएको उनले सुनाए । त्रिपक्षीय सम्झौतालगत्तै पाइप ढुवानीको काम समेत तीव्रता पाएको छ । टेक्सम्याकोले भारतीय टेलर र एन्ड्रिजले नेपाली टेलर मार्फत ढुवानी गरिरहेको छ ।
लट २ अन्तर्गत हाइड्रो मेकानिकलकोको काम गर्न नसकेपछि तामाकोसीले विकल्पमा बाँकी काम एन्ड्रिजलाई दिएको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको काम समेत गर्न नसके यो काम पनि एन्ड्रिजलाई दिन सक्ने स्थिति रहेको उनले बताए ।
पेनस्टक पाइपको काम बारे त्रिपक्षीय सम्झौतापछि अब २०७६ कात्तिकसम्म आयोजनाले विद्युत् उत्पादन गर्नसक्ने विश्वास बढेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । आयोजनाको यही पुसमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि पेनस्टक पाइप ढुवानी र जडानकै कामको ढिलाइले समय लम्बिएको हो ।
आयोजनाको हाइड्रोमेकानिकलअन्तर्गत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरू, स्टपलगहरू, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङलगायत पर्दछन् । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्ने छ ।
पेनस्टकमा चाहिने ठूला र साना गरेर एक सय ९८ पाइपमध्ये आधाजसो सिन्धुपाल्चोकको सुनकोसीमा खसालिएका छन् । केही पाइप अझै भारतमै छन् । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कङ्क्रिटिङको काम समेत रोकिएको छ ।
खाडीचौरदेखि–चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारका कारण असहज भने भएको छ । तर त्यही सडक भएर पाइपभन्दा ठूला भार भएका उपकरण लट ३ को एन्ड्रिजले गत वर्ष नै ढुवानी सकेर जडान गरिसकेको छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखियो । तर लट २ कै कारण ९ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भूकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने प्रशासनिक खर्चलगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागत समेत बढेर व्याज सहित दोब्बर हुने अनुमान छ ।
आयोजनाबाट उत्पादनहुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सबस्टेसनको काम पनि ढिलाइ छ ।
आयोजनाको ९७ .५ प्रतिशत काम पुरा भइसक्दा टेक्सम्याकोले गर्दा ढिलाइ हुन पुगेको हो । आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युत्गृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ ।