कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
544

बागलुङ र पर्वत जोड्ने गरी नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माणको काम सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरीे ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माणको काम थालिएको हो ।
२०५९ सालबाट सम्भाव्यता अध्ययन थालिएको पुल निर्माणको काम झण्डै १६ वर्षपछि शनिबारदेखि औपचारिक रूपमा सुरुवात गरिएको छ । १२ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको पुलको शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरे । पुलको शिलान्यास गदै अध्यक्ष तिमिल्सिनाले विकासले रोजगारी र समृद्धिलाई जोड्नुपर्ने बताए । विकास र समृद्धि दुई फरक पाटो भएको बताउँदै भौतिक विकासलाई अर्थाेपार्जनसँग जोड्न उनले स्थानीयलाई आग्रह गरे । “पुल मानिस ओहोरदोहोरका लागि मात्र प्रयोग हुनुले खासै ठूलो अर्थ राख्दैन,” अध्यक्ष तिमिल्सिनाले भने, “यसलाई यहाँको रोजगारी र अर्थोपार्जनसँग जोड्न आवश्यक छ ।” पुल निर्माण भयो भन्दा पनि पुल बनेका कारण कति रोजगारीका आवसर सिर्जना भयो, कति स्वरोजगार बने भन्ने कुराले महत्व राख्ने उनको भनाइ थियो ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माण गर्न लागिएको पुल निर्माणको जिम्मा हिमशिखर कन्स्ट्रक्सनले पाएको छ । ७ करोड ९७ लाखमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए । २०७७ सालको असार मसान्तसम्ममा ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो बन्ने छ । पुल नेपालकै लागि नयाँ प्रयोग भएको सचिव थपलियाले बताए । “बागलुङले पुल निर्माणमा प्रयोगको नयाँ अवसर पाएको छ,” सचिव थपलियाले भने, “हामीले आफ्नौ प्रविधिले ३ सय ६५ मिटर लामासम्म पुल बनाए पनि यो भने नयाँ प्रयोग हो । झोलुंगे पुलको जिल्लाकै रूपमा परिचित बागलुङमा मुलुककै लामो झोलुंगे पुल निर्माण थालनी हुनु नयाँ संयोग भएको उनको भनाइ छ ।
नेपालमा पहिलो पटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक भएकाले गुणस्तरीय काम हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । विगतमा पुल बुननाउँदा आवश्यक पर्ने लठ्ठा तान्ने मेसिन र बजेटको समस्या हुँदा काम अगाडि बढ्न सकेको थिएन । यस वर्ष नेपाल सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम अगाडि बढेको हो । झण्डै ९ महिनादेखि डिजाइनको काम गरिएको थियो । अहिलेसम्म ३ सय ६५ मिटरसम्मका लामो पुल बनाएकाले यस पुल दक्षिण एसियाकै लामो हुने श्रेष्ठले बताए । खुल्ला प्रकृतिको मानिस ओहोरदोहोर गर्ने यस पुल निर्माण गर्न निर्माण व्यवसायीलाई २ वर्षको समय दिइएको छ । कुनै अवरोध नआए २०७७ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका लेखबहादुर बस्नेतले बताए ।
अन्य पुलभन्दा लामो तथा जटिल हुने भएकाले बढी समय दिइए पनि लगातार काम गरे डेढ वर्षमा नै सम्पन्न हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । दुई जिल्ला जोड्ने यो पुल निर्माण भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिकस्तर उकास्न पनि सहयोग पुग्नेछ । कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले कृषि उपज ल्याउन तथा पर्यटन क्षेत्रको विकासमा यसले महत्वपूर्ण फाइदा पुग्ने बताए । पाङको अदुवाबारी जोड्ने पुलसम्म सामान पु¥याउनका लागि करिब एक सय मिटर बाटो बनाउन यस वर्ष वडा कार्यालयले डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पहुँच पुग्ने गरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडि नै दबाब दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । बारम्बारको प्रयासपछि पुल निर्माणको कामले गति लिनुले बागलुङको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्गमार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोरमाथि पुल बन्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।

 

त्रिलोचन रिजाल