कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
484

डडेल्धुरामा प्रदेश नं ७ कै ठूलो शीत भण्डार (कोल्डस्टोर) सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहब्यारेकनजिक आधुनिक प्रविधिसहितको उग्रतारा शीत भण्डार उद्योग प्रालि निर्माण भएको छ । १४ हजार ५ सय क्विन्टल क्षमताको कोल्डस्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा स्थापना भएको हो ।
करिब २ वर्ष अघिबाट निर्माण सुरु भएको शीतभण्डार २ करोड ५७ लाख सञ्चालक र २ करोड ९९ लाख साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना गरी ५ करोड ५७ लाखमा सम्पन्न भएको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । उनले भने, “प्रतिक्विन्टल ५ सय मूल्यमा अब किसानले आफ्नो उत्पादन राख्न सक्नेछन् ।” “६ महिनासम्म किसानले आफ्नो उत्पादन यहाँ राख्न पाउने हुँदा उनीहरूको आयस्तरमा पनि वृद्धि हुनेछ,” उनले थपे ।

कोल्डस्टोर निर्माण भइसकेपछि यसबाट करिब ९ सय घरधुरी लाभान्वित हुने र ५० देखि ६० जना व्यक्तिले रोजगारीसमेत पाउने विश्वास गरिएको छ । जिल्लामा आलुको बीउ प्रसस्त मात्रामा उत्पादन हुँदा पनि भण्डारण गर्न नसकिँदा अन्य जिल्लाबाट बीउ ल्याउनु पर्ने बाध्यता थियो । अब जिल्लामै शीतभण्डार स्थापना भइसकेपछि किसानहरू हर्षित भएका छन् । “कोल्डस्टोर स्थापना भएपछि अब हाम्रो तरकारी सड्दैन,” किवी किसान गणेश ऐर भन्छन्, “बाहिरका व्यापारीले पनि यहाँको उत्पादन लग्ने हुँदा हाम्रो उत्पादनले उपयुक्त मूल्य पाउँछ ।”
त्यस्तै गन्यापधुराका कृष्णदत्त अवस्थी पहिले आलुको बीउ कुहिने तथा किरा लाग्ने गरेकोमा अब बीउ भण्डार गर्न सजिलो भएको बताउँछन् । उनी भन्छन्, “पहिलेदेखि नै आलु पकेट क्षेत्र भएकाले हाम्रो उत्पादन बैतडी, डोटी, अछाम, बझाङ बाजुरालगायत पहाडी जिल्लाका साथै तराईका जिल्लामा पठाउने समेत जानकारी दिए । “कोल्डस्टोर सञ्चालन भएसँगै बीउ लामो समयसम्म राख्न पाउने छौं र अब हामीले उपयुक्त मूल्य पाउँछौ र बिचौलिया हराउँछन् ।”
कोल्डस्टोर निर्माण भई सञ्चालनमा आएमा जिल्लामै उत्पादित आलुको बीउ र विभिन्न कृषि उपजलाई भण्डारण गरी पुनः बीउका लागि प्रयोग गर्न सकिने हुँदा भारतबाट आउने तरकारी तथा फलफूल रोकिने र यहाँको उत्पादन निर्यात हुने कृषि कार्यालयको भनाइ छ । उनले भने, “डडेल्धुराबाट अब उत्पादन निर्यात गर्ने हो र भारतको उत्पादन आयात कम हुन्छ ।”
कोल्डस्टोरले प्रदेश नं ७ का पहाडी जिल्लामा उत्पादित खाद्यान्न, आलुको बीउ र फलफूलहरू सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिइएको छ । यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मूल्य वृद्धि भएपछि बिक्री वितरण गर्दा किसानले राम्रो आम्दानी गर्नसक्ने विश्वास लिइएको छ ।
-हरिश चन्द