जडिबुटी नै दीर्घकालीन आम्दानीको स्रोत
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
563

हुम्लाका बासिन्दाका लागि जडिबुटी दीर्घकालीन आम्दानीको स्रोत हुनसक्ने सम्भावना देखिएको छ । ५१ प्रतिशत भूभाग उच्च हिमाली भेग रहेको हुम्लामा दुर्लभ जडिबुटी उत्पादनले जिल्लाका बासिन्दाका लागि अहिले पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । हरेक गाउँपालिकाका वडावडामा बनाइएको सामुदायिक वनको संरक्षण र प्रवद्र्धनलाई अझ सक्रिय बनाई योजनाबद्ध ढंगले संकलन गर्न सकिए यसबाट पर्याप्त आम्दानी लिन सकिने अवस्था छ ।
उच्च हिमाली भेगमा बहुमूल्य जडिबुटी पाँचऔंले, जटामसी, कटुकी, चिराइतो, पदमचाल, विष, गुच्चीच्याउ, तीतेपाती, उतस, बाज्खोटो, घोडा पर्चा, लौंठसल्ला, चुत्रो, मजेठो, बेथे, किमुलगायतका जडिबुटी संकलन गर्न पाइन्छ । जिल्ला वन कार्यालयले संकलन गरेको जडिबुटीलाई सहज रूपमा निर्यात गर्नका लागि पुर्जी नदिँदा यहाँका व्यापारीले छिमेकी जिल्ला बाजुराबाट निर्यात अनुमति पुर्जी लिने गरेका छन्् । हरेक घरपरिवारले प्रत्येक वर्ष ५० हजारदेखि १ लाख ७५ हजारसम्म जडिबुटी संकलनबाट नै आयआर्जन गर्दछन् । कात्तिकदेखि मंसिर महिनासम्म संकलन गर्ने यहाँका किसानले जडिबुटी संकलनको उचित मूल्यसमेत पाउन सकेका छैनन् । जिल्लामा नै प्रशोधन केन्द्र स्थापना भए यहाँका संकलनकर्ताले राम्रो आम्दानी लिनसक्ने सम्भावना छ । हुम्लामा ७५ प्रकारका जडिबुटी प्रचलित भए तापनि सबै जडिबुटी भारत निर्यात हुने गरेको छ ।
व्यवस्थित रूपमा जडिबुटीको संरक्षण, संवद्र्धन, संकलन र बिक्री हुनसके हुम्लाका जनता यसबाट अझ लाभान्वित हुनसक्ने सम्भावना छ । अव्यवस्थित रूपमा जडिबुटी संकलन, चोरी, निर्यात अनुमति पत्रलगायतको समस्याको सहजीकरण, सडक संजाल वृद्धि र विकास हुन सकेमा राम्रो आम्दानीको स्रोत हुने सर्केगाड गाउँपालिकाका स्थानीय कलबहादुर ऐडीको भनाइ छ ।
हाल जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले जडिबुटी संकलन, यसको खेती प्रणालीमा केही सहयोग गरे पनि यो पर्याप्त हुन सकेको छैन । हाल नेपालमा ४ सय प्रकारका जडिबुटी पाइने भए पनि कर्णाली प्रदेशमा नै सबैजसो जडिबुटी पाइने गरेको लेखक अजबहादुर गिरिको दाबी छ । आफूले अध्ययन र अनुसन्धान गरी जडिबुटीसम्बन्धी २ भाग पुस्तक प्रकाशनसमेत गरेको उनको भनाइ छ ।
-रेशमराज रोकाया