घर धितो राखेर एकीकृत बस्ती निर्माण
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५
18032

सिन्धुपाल्चोक-भूकम्पपछि पाल र जस्ताको अस्थायी टहरामा कष्टकर जीवनयापन गुजारेका चौतारा सागाचोकगढी नगरपालिका ठूलोसिरुवारीस्थित माझीगाउकी दिनेश माझी यतिबेला चिन्तित छन् । टहरामा साँघुरिएर बसिरहेका उनको परिवारको नयाँ आवास निर्माण सम्पन्न नहुँदा थप समस्यामा छन् ।
अभिनेत्री श्वेता खड्काको अगुवाइमा निर्माण भइरहेको एकीकृत बस्तीका लागि अनुदान नआएपछि उनी चिन्तित भएका हुन् । अनुदान प्राप्त नभएपछि अभिनेत्री श्वेताले आफ्नो लागि घर धितो राखेर निर्माण कार्यलाई अगाडि बनाएपछि उनी अहिले भावुकसमेत बने । “अनुदान प्रक्रियामा समस्या आएपछि उहाँ हाम्रो लागि ऋणमा डुब्नुभयो,” दिनेशले भने, “हाम्रो रक्षाका लागि उहाँले उठाउनुभएको यत्रो साहसको हामी ऋणी छौं ।”
एकीकृत बस्तीमा ६२ घर बन्नेछन् । अहिलेसम्म १७ घर तेस्रो किस्ता पाउन लायक भइसके । “हामी सबै एकैचोटि सँगै घरमा सर्नेछौं,” दिनेशले भने, “हामी छिट्टै बस्ती ठड्याउने योजनामा छौं, केही बाधा अड्चन आइरहेका छन् ।” उनले आफ्नो चारजनाको सानो परिवारसमेत समस्यामा परेको बताए । श्वेता श्री फाउन्डेसनको अगुवाइमा निर्मित यो बस्ती गएको दसैंसम्ममा हस्तान्तरण गर्ने लक्ष्य थियो ।
“सरकारी अनुदान ढिलाइ भए पनि हामी सबैले घर निर्माणमा सहयोग गरिरहेका छौं,” स्थानीय मिलन माझी भन्छन्, “जतिसक्दो चाँडो सम्पन्न गर्ने लक्ष्यका साथ साँझ बिहान नभनी मिहिनेत गरिरहेका छौं ।” अहिले यहाँका बालकदेखि वृद्धासम्म जाँगरिला भएर काममा खट्न थालेकाको उनले बताए । यो बस्तीलाई फाउन्डेसनकी अध्यक्ष श्वेता खड्का र पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले नमुना बस्तीको शिलान्यास गरेपछि निर्माण कार्य सुरु गरिएको थियो ।
बन्दै गरेकोे घर धितोमा राखेर ऋण लिने सोच स्थानीयले बनाएका थिए । लक्ष्मी बैंकबाट लिन लागिएको २ प्रतिशतको ब्याजमा पनि ढिलाइ हुँदा अभिनेत्री श्वेता आफैंले बस्ती निर्माणमा जुटेकी हुन् । उनले राजधानीस्थित आफ्नै घर धितोमा राखेर हालै २५ लाख ऋण लिई नमुना माझी एकीकृत बस्ती निर्माणलाई निरन्तरता दिएकी छन् । “सरकारी अनुदानमा ढिलाइ भयो, अन्य प्रक्रिया पनि मिलेन,” फाउन्डेसनकी अध्यक्षसमेत रहेकी श्वेताले भनिन्, “आफूले अगुवाइ गरेपछि काम अड्किँदा तनाव हुँदोरहेछ, त्यसैले आफ्नै घर धितोमा राखें ।” श्वेताले बर्खा नजिकिएकाले भूकम्पपीडितलाई चाँडै नयाँ घर दिन नसके उहाँहरू थप समस्यामा पर्ने भएकाले आफूले ऋण लिएको बताइन् ।
निर्माणाधीन एकीकृत बस्तीको पहिलो किस्ता लिएर थालिएको बस्तीको कार्यमा सिन्धु क्रियटिभ प्राइभेट लिमिटेडले डीपीसी गरेको थियो । रनिङ बिलमार्फत पैसा दिलाउन नसकेपछि काम त्यत्तिकै अड्केको थियो । क्रियटिभले कामलाई गति दिन नसकेपछि झ्याडी टोल सुधार समिति र श्वेता फाउन्डेसनको पहलमा एकीकृत बस्ती बनाउने कामले अहिले तीव्रता पाएको छ । यहाँका भूकम्पपीडितको समस्या देखेपछि सामाजिक अभियन्ता यज्ञराज कार्कीको पशलमा श्वेता माझी गाउँ पसेकी थिइन् । “बीचमा धेरै बाधा आइपरे,” फाउन्डेसनका सचिवसमेत रहेका कार्कीले भने, “काम गरेर सरकारी भर पर्दा यस्तो अवस्था आयो ।” उनले खातामा पैसा छैन भन्ने उत्तर पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालयबाट आउने गरेको सुनाए । माझी बस्ती सबै परिवारको घर दोस्रो किस्ताका लागि सरकारी मापदण्डअनुरुप बनिसकेका छन् । तर किस्ता भने नपाएको गुनासो माझी परिवारको छ ।
सरकारी निकाय, निजी क्षेत्र र लाभान्वित वर्ग बीचको साझेदारीको नमुना यो परियोजना हो । “बस्तीमा एकै आकारका, एकै रगंका, सुन्दर तथा आकर्षक घर निर्माण हुने क्रम जारी छ,” उनले भने, “विकासको भौतिक पूर्वाधार बिजुलीबत्ती, खानेपानी, सामुदायिक भवन निर्माण गरी हरियाली नमुना गाउँको निर्माण गरी पर्यटन प्रवद्र्धनका लागि आकर्षक पूर्वाधारसमेत रहनेछ ।” यो बस्ती सरकारले दिने अनुदानमा श्वेता श्री फाउन्डेसनको थप गरेर निर्माण सुरु गरिएको हो । अब बन्ने एउटा घरको लागत ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकीकृत बस्ती बनाउन अनुमति दिएपछि यो अभियान सुरु गरिएको हो । बस्तीमा २८ रोपनी जग्गा ओगट्ने त्यसमध्ये २० रोपनीमा आवास निर्माण भइरहेको छ ।


किशोर बुढाथोकी