मनोरन्जन शर्मा
बुधवार, जेठ २, २०७५
326

रुपन्देहीमा निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनामा कामभन्दा कुरा ठूला हँुदा तोकिएको समयभित्र सम्पन्न हुन सकेका छैनन् ।
बारम्बार सरकारीस्तरबाट तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुनुपर्छ भन्ने तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि कारबाही तथा जरिवाना गर्नुको साटो उल्टै समय सीमा थप गरिदिँदा निर्माण कम्पनीको हौसला बढन गई समयमै आयोजना सम्पन्न गर्नुको सट्टा झनपछि धकेलिँदै गएको पाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक निर्माण सम्पन्न भई हस्तान्तरण गर्नुपर्नेमा समय थप गरेर निर्माणकार्य भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको गौतमबुद्ध विमानस्थलको निर्माणकार्य २ वर्ष पछाडि धकेलिएको छ । अहिले काम जारी छ । ५ वर्षभित्र सक्ने भनिएको बेलहिया–बुटवल ६ लेन सडक पनि साढे दुई वर्ष पछाडि धकेलिएको छ ।
यी दुई ठूला आयोजना त प्रतिनिधिमूलक पात्र आयोजनामात्र हुन् । अन्य त्यस्ता योजना तोकिएकै समयमा सकिएला भनेर विश्वास गर्ने कुनै स्पष्ट आधार छैन । तर सरोकारवाला निकाय भने अब तोकिएको समयमै काम सम्पन्न हुने दाबी गरिरहेकाले कामभन्दा कुरा ठूलो भइरहेको भैरहवाका नागरिक अगुवा विजयगोविन्द श्रेष्ठ बताउँछन् । “समयमा काम गरेनन्, काम सुरु गर्दा तामझामका साथ यसो गर्छौं उसो गर्छौं, तोकिएको समयभन्दा अगावै पूरा गर्छौं भन्दै सरकार, आयोजना कार्यालय र निर्माण कम्पनीले एक साथ ठूला कुरा गर्छन् तर उनीहरूको कामभन्दा जहिले पनि कुरा ठूला हुने प्रवृत्तिले समस्या आएको छ,” श्रेष्ठले भने ।

सडकको हालत पनि उस्तै
उता बुटवलको बेलबास–बेथरी (लुम्बिनी प्रवेश मार्ग) सडक आयोजना, भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजना, लुम्बिनी परिक्रमा सडक, बुटवल–भैरहवा १३२ केभीए प्रसारणलाइन लगायतका आयोजनाको काममा पनि उल्लेख्य प्रगति भएको पाइँदैन ।
विशेषगरी सडकका आयोजनाले स्थानीय बासिन्दाको अवरोध, वन, विद्युत्का समस्याले गर्दा समयमै आयोजनाको काम सम्पन्न हुन नसकेको दाबी गरेका छन् भने केही आयोजनाले विगतमा आएको भूकम्प, तराई मधेस आन्दोलन, भारतीय नाकाबन्दी, निर्माण सामग्री अभावका कारण निर्माण सम्पन्न समयपछि धकेलिएको दाबी गर्दै उम्कने प्रयासमा छन् । रुपन्देहीमा अहिले सबैभन्दा बढी चर्चा हुने गरेको २ आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल ६ लेन सडक हो । राष्ट्रिय गौरवकै आयोजनाअन्तर्गत निर्माण भइरहेको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो । देशकै महत्वपूर्ण आयोजनाको रूपमा यसलाई लिइए पनि यो तोकिएकै समयमा सम्पन्न हुने देखिन्न । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत लिइएको यो विमानस्थल तीन वर्षमा सक्ने गरी वि.सं २०७१ कात्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी माघ महिनामा शिलान्यास भएको थियो । तीन वर्षमा सक्ने भनिएको यो आयोजना पनि २ वर्ष पछि धकेलिएको छ । अहिलेसम्म ४० प्रतिशतमात्रै काम भएको छ । विगतमा विभिन्न समस्याले काम सुस्त गतिमा भयो । “अहिले तीव्र गतिमा भइरहेको र सन् २०१९ लाई हामीले यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्ने वर्षका रूपमा काम भइरहेको छ,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ई. ओम शर्माले भने ।
त्यसैगरी बेलहिया–बुटवल सडकलाई ६ लेनका रूपमा विस्तार गर्न लागिएको आठ वर्ष पुग्न लाग्यो । तीन वर्षमा सक्ने गरी निर्माण थालिएको आयोजना विभिन्न बहानामा ठेकेदार कम्पनीको ढिलासुस्तीले पछि धकेलियो । सुरूदेखि नै बजेट र निर्माण सामग्री अभाव झेलेको व्यापारिक मार्ग विस्तार आयोजना निर्माण कहिले पूरा हुने हो कसैले बताउन सक्दैनन् तर आयोजना कार्यालयले भने आउँदो दशैंभित्रै सम्पन्न गर्ने दाबी गरेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको यो आयोजनाको काम दसंैसम्म सम्पन्न हुने लक्ष्य रहेको आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले दाबी गरे ।

कछुवा गतिमा बौद्ध परिपथ
बुटवलको तीन किमिसमेत गरेर मणिग्रामदेखि भैरहवा अञ्चलपुरसम्मको सडक निर्माणकार्य भइरहेको छ । त्यस्तै गरी ठूला आयोजनाअन्तर्गत निर्माण थालिएको अर्को आयोजना हो बौद्ध परिपथ । पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको यो परिपथको निर्माणकार्य पनि कछुवा गतिमा छ । सरोकारवालाले बेवास्ता गर्दा यो आयोजना पनि अलपत्र छ । लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पु¥याउन सरकारले ९ वर्षअघि बौद्ध परिपथ (बुद्ध सर्किट) निर्माण सुरू गरेको थियो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले समेत तत्काल सर्किटलाई व्यवस्थित सडक सञ्जालले जोड्ने प्रस्ताव पारित गरेको थियो । तर अहिलेसम्म काम पूरा हुने टुंगो छैन ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले यसअघिको सडक सञ्जाल विस्तार योजना भएकाले अहिले सरकारीस्तरबाट ‘बुद्धसर्किट अप्m नेपाल’को प्रारम्भिक प्रतिवेदनका लागि तयार गरेको बताए । “त्यसमा ३ जिल्लामात्र नभई मुलुकभरकै बौद्ध सम्पदा जोडेर सर्किट बनाउने योजनाको छलफल भइरहेको छ,” उनले भने, “आगामी असारसम्म प्रारम्भिक प्रतिवेदन बन्नेछ ।” यो परियोजना पूरा नहुँदा लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अष्टधातु रहेको रामग्राम, सिद्धार्थ हुर्केको तिलौराकोट र आसपासका बुद्ध क्षेत्रमा पुग्न सकेका छैनन् ।
सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमकितामा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको छ । तर बौद्ध परिपथमा पर्ने नवलपरासीको पण्डितपुर र रामग्राम स्तुपको प्रचारप्रसार हुन सकेको छैन । पण्डितपुर र स्तुपको विकासका लागि स्थानीयले छुट्टै विकास कोष बनाउनु पर्ने माग गर्दै आएका छन् ।
यो परिपथको निर्माणकार्य जम्मा १५ प्रतिशतमात्रै भएको छ ।
त्यसैगरी भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्डको काम पनि सुस्त गतिमा छ । ३० महिनामा सक्ने लक्ष्य राखिएको यो सडक निर्माणको प्रगति अहिलेसम्म १५ प्रतिशत पुग्नु पर्नेमा जम्मा ८ प्रतिशतमात्रै भएको छ । उता डेढ वर्ष अघिबाट सुरु भएको बेलबास–बेथरी सडक आयोजनाको प्रगति पनि चिन्ताजनक छ ।
बुटवल–भैरहवा १३२ केभीए प्रसारणलाइन आयोजनाको काम पनि १० प्रतिशतभन्दा बढी भएको छैन । त्यस्तै बहुप्रतीक्षित भैरहवा सेजमा पनि कहिले उद्योग लाग्ने हो टुंगो छैन भने भैरहवा लुम्बिनी सडक खण्ड बेथरीमा तिनाउ खोलामाथि र सुन्डीमा दानव नदीमाथि पुल बनाउने काम पनि अलपत्र छ ।