दीननाथ बराल
सोमवार, आश्विन २९, २०७५
707

पोखरा-हिमालपारीको जिल्ला मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्गा पोखरामा बिक्री वितरण सुरु भएको छ । दसैं पर्वलाई लक्षित गरी व्यापारीले केही दिनअघि नै भेडा–च्याङ्ग्रा भित्र्याए पनि शनिबारदेखि बिक्री वितरण गर्न थालेका हुन् । पोखराको याम्दीमा भेडा–च्याङ्ग्रा किन्नेहरूको भीड लागेको छ ।
व्यवसायीहरूले अघिल्लो वर्षको तुलनामा यस वर्ष भेडाच्याङ्ग्राको मूल्य केही महँगो भएको बताएका छन् । मुस्ताङका विभिन्न ठाउँ हुँदै मुगु, डोल्पालगायतका क्षेत्रमै भेडा–च्याङ्ग्राको मूल्य केही बढेकाले आफूहरूले गत वर्षको तुलनामा प्रति भेडाच्याङग्रा २ देखि ३ हजार रुपैयाँसम्म महँगोमा बिक्री गेको व्यवसायी छेवेल लामाले बताए । उनले यस वर्ष ३ सय वटा भेडा–च्याङग्रा पोखरा ल्याए पनि हालसम्म १ सय ५० भन्दा बढी बिक्री हुन बाँकी रहेको जानकारी दिए । १८ देखि २४ हजारसम्म मुस्ताङमा भेडा–च्याङ्ग्राको मूल्य परेको भन्दै लामाले पोखरामा आउँदासम्म विभिन्न ठाउँमा कर तिर्नुपर्ने कारणले २५ देखि २९ हजारसम्ममा बिक्री गरेको बताए ।

त्यस्तै व्यवसायी सुरेन्द्र गुरुङले पनि मुस्ताङबाट यस वर्ष २ सय ६० वटा कालो जातको च्याङ्ग्रा ल्याएर बिक्री गर्न थालेका छन् । २२ देखि २३ हजार रुपैयाँमा मुस्ताङको बारगाउँ मुक्ति क्षेत्रबाट प्रतिच्याङ्ग्राको मूल्य परे पनि पोखरासम्म आउँदा विभिन्न ठाउँमा कर तिर्दा प्रतिच्याङग्रा २ सय रुपैयाँभन्दा बढी कर तिर्नुपरेको गुनासो गरे । उनले याम्दीको खाली चौरमा च्याङ्ग्रा राखेर २४ देखि २७ हजार रुपैयाँसम्म बिक्री गर्न थालेका छन् । च्याङ्ग्रालाई व्यवस्थित गरी कुनै अस्थायी खोरमा राखेर बिक्री गर्न खोज्दा प्रति खोर २५ हजारसम्म पर्ने गरेको उनले गुनासो गरे । पोखरा महानगरपालिकाले प्रतिभेडा–च्याङ्ग्रा प्रतिदिन १५ रुपैयाँ कर संकलन गरेको छ ।
भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीअन्तर्गत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषालले यस वर्ष पनि मुस्ताङबाट १६ हजार ५ सय भेडा–च्याङ्ग्रा बाहिरिएको बताए । नेपाल खाद्य संस्थानले यस बर्ष करिब एक हजार भेडा–च्याङ्ग्रा काठमाडौं लगेको छ भने अन्य व्यापारीले करिब ५ हजार भेडा–च्याङ्ग्रा काठमाडौं लगेको बताइएको छ ।