मनोरञ्जन शर्मा
बुधवार, कार्तिक २१, २०७५
323

अन्य व्यवसायको तुलनामा पुष्प व्यवसायमा जोखिम कम हुने र मनग्य आम्दानी गर्न सकिने तथा जुनसुकै मौसममा पनि प्रतिफल लिन सकिने भएकाले पुष्प व्यवसाय रोजाइमा परेको र त्यसैमा लगानी गरी निरन्तरता दिएको श्रेष्ठले बताए । व्यवसायी श्रेष्ठका अनुसार यो व्यवसाय लगानीका हिसाबले पनि सहज र सरल रहेको छ । बजारको चिन्ता नहुने र जोखिम कम हुने भकाले सबैको रोजाइमा यो पेशा पर्ने गरेको छ ।
श्रेष्ठको २० रोपनी जग्गामा फैलिएको नर्सरीमा २२ वटा प्लास्टिक हाउस रहेका छन् । जसमा सयपत्री, गोदावरी, मखमली, गुलाब, लिमोनियम र कार्नेसनसम्बन्धी फूल ढकमक्क फूलिरहेका छन् । काभ्रेमै फूल खेतीमा उत्कृष्ट कृषकको पहिचान बनाएका श्रेष्ठ १७ वर्षदेखि निरन्तर फूलखेतीमै क्रियाशील छन् । धुलिखेल नगरपालिकाबाट फूलखेतीमा उत्कृष्ट पहिचान बनाएको भन्दै उनी सम्मानित पनि भएका छन् ।
काठमाडौंमा कट् फ्लावर सप्लाइ गर्ने किसानको समूहमा पनि उनी प्रथम भएका थिए । टनेलमार्फत् आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन सकिने भएकाले फूलखेतीबाट नै आत्मनिर्भर हुन सकिने हुँदा विदेशिनु जरुरी नभएको श्रेष्ठको भनाइ छ । “५ अर्बभन्दा बढीको लगानी रहेको फूलखेतीलाई प्रबद्र्धन गर्न र कृषकको लगानी सुरक्षित गर्न बिमाको व्यवस्था भए सहज हुने थियो,” उनले भने, “तर बीमा कम्पनीहरूले सरकारी नीति नभएको भन्दै फूलको बीमा गर्न नमान्दा धेरै जोखिम उठाएर लगानी गर्नुपरेको छ ।” उनका उत्पादनले विभिन्न मेला अवसर र चाडपर्वका साथै बाह्रै महिना बजार पाइरहेको छ ।
श्रेष्ठ जस्तै पुष्प खेतीबाट जीवनयापन गरिरहेका रोशी गाउँपालिका–७ कटुञ्जेका नेत्रबहादुर (जनार्दन) गौतम दम्पती पनि व्यवसायप्रति सन्तुष्ट छन् । सिजनमा मात्र फूल हुन्छ भन्ने भ्रममा रहेका अधिकांस मानिसका लागि नेत्रबहादुर (जर्नादन) र उनकी श्रीमती रत्नमायाले १२ महिना नै पुष्पखेती गरेर मनग्य आम्दानी लिन सकिन्छ भन्ने उदाहरण दिएका छन । १० वर्षअघि नार्क र फ्लोरिकल्चर एसोसियसन नेपालले नमुनाका रूपमा गौतम दम्पतीको बारीमा गरेको नमूना परीक्षण नै उनीहरूका लागि बरदान भएको छ । पुष्प व्यवसायका लागि रोशी क्षेत्र उपयुक्त हुने भन्दै नार्क र फ्यानले मंगलटार र नार्केलाई छनोट गरेको थियो । तर मंगलटारमा जग्गा नमिलेपछि नार्केमा मात्र गर्ने सोचमा रहेको नार्कलाई गौतमले निःशुल्क जग्गा दिएर नमुना परीक्षण गर्न दिएका थिए । तीन बर्षसम्म परीक्षण गर्न आएको नार्कले गौतमको फर्ममा मात्र सफलता पाएको थियो । “नार्केमा गरेको पुष्पखेती फस्टाउन सकेन तर हामी दम्पतीले नमूना हो भनेर छाडेनौं,” उनले भने । नियमित गोडमेल गर्ने, पानी राख्ने, अन्य जातका फूलको बेर्ना ल्याउने देखी बजार समेत बुझ्ने मौका त्यसैबेला पाएको उनले बताए । पुष्प व्यवसाय सुरु गर्दाको अनुभव सुनाउँदै जनार्दनले भने, “खेती गरेको ७ वर्ष भयो व्यवसायबाट सन्तुष्टि नै मिलेको छ ।” केही जग्गाबाट सुरु गरेको पुष्प व्यवसाय अहिले उनले २ रोपनीमा विस्तार गरिसकेका छन् । “जाँगर लगाएर गर्ने हो भने पुष्पखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ,” उनले भने । गौतम दम्पतीले कलकत्तिया जातको फूल व्यवसाय गर्दै आएका छन । यो ५० दिनमा फूली सक्ने रत्नमायाले बताइन । “फरक फरक समयमा लगाउने गरेका छौं, एकातिर फूलिरहँदा अर्काे तिर बेर्ना सार्ने गरेका छौं,” उनले भनिन्, “यसरी काम गर्दा १२ महिना नै फूलले बगैंचा ढकमक्क हुन्छ ।”

तीन करोडको कारोबार
काभ्रेमा अघिल्लो आर्थिक वर्षमा तीन करोड रुपियाँ बराबरको पुष्प कारोबार भएको छ । यसपटक पनि ३ करोडभन्दा बढीको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल काभ्रेले जनाएको छ । हाल काभ्रेमा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३० भन्दा बढी कृषकले पुष्पखेती गर्दै आएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयभन्दा बढीलाई रोजगारी दिएको यस खेतीमा ७० प्रतिशतभन्दा बढी महिलाको बाहुल्य रहेको छ ।
१५ करोड रूपैयाँभन्दा बढी लगानी रहेको काभे्रमा बनेपा, धुलिखेल, पाँचखाल, मण्डन देउपुर नगरपालिकाका साथै रोशी, बेथान, तेमाल र भुम्लु गाउँपालिकामा व्यावसायिक रूपमै फूलको खेती हुँदै आएको छ । काभ्रेमा एक दुई लाखदेखि एक करोड रूपैयाँसम्म लगानी गर्ने कृषक रहेका छन् ।
काठमाडौं उपत्यकाको कटफ्लावर जातका ग्लाडिओलस, गुलाब, कार्नेसन, जर्बेरा, लिमोनियम, अर्किड जस्ता फूलको मागको २५ प्रतिशत काभ्रेले धान्दै आएको फ्यान काभ्रेले जनाएको छ । पछिल्लो सयममा जिल्लाबाट सयपत्री, गोदावरी र लिली फूलसमेत जान थालेको छ ।

 व्यावसायिक पुष्प व्यवसायमा महिला
रूपन्देही-पश्चिम नेपालमा पहिलोपटक व्यावसायिक पुष्प खेती सुरु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा महिलाहरूको सक्रियतामा पहिलो पटक व्यवसायिक पुष्पखेती सुरु गरिएको हो ।
तिलोत्तमा नगरपालिका–१६ मधवलियाको बिहुली गाउँनजिकै लौसी खोलाको छेउमा ८ जना महिला मिलेर सयपत्री फूलको खेती गरेका हुन् । सह–कदम कृषि समूह गठन गरी महिलाले पहिलो पटक व्यावसायिक पुष्प खेती सुरू गरेकामा अहिले तिहारमा फूल र मालाको बिक्री नै सुरू गरेका छन् । बजारमा उनीहरूले उत्पादन गरेका मालाहरू १ सय ५० रूपैयाँमा हातहातै बिकेका छन् । यसअघि यस क्षेत्रमा फूलको व्यावसायिक खेती नहुँदा जहिले पनि भारतीय फूलमै निर्भर हुनु परेको थियो ।
यो पटकदेखि व्यावसायिक फूलको खेती हुन थालेपछि केही मात्रामा भए पनि रूपन्देहीबासीले स्थानीय फूलको उपभोग सुरु गरेका छन् । भारतीय फूलमै निर्भर हुनु परेका बेला जिल्लाका महिलाको सकृयतामा पुष्प खेती सुरू भएपछि अहिले केही आशा जागेको छ । खोला छेउको बाँझो २ बिगाहा जग्गामध्ये अहिले १ बिगाहामा पुष्प खेती गरेको र सबै गरी ५ लाख रूपैयाँ खर्च लागेको समूहकी अध्यक्ष देबी वाग्लेले बताइन् ।
प्रदेश नम्बर ५ कै सबैभन्दा ठूलो र व्यावसायिक पुष्प खेती भएकाले कृषिमन्त्रीले समेत त्यहाँ निरीक्षण गरेका थिए । “अहिले तिहारका लागि कम्तिमा २ हजार ५ सय माला हामीले तयार गर्ने लक्ष्य लिएका छौं, भाइटीकाका दिन अब केही स्थानीयबासीले भए पनि जिल्लामा उत्पादन भएको फूलको माला प्रयोग गर्न पाउने छन्, हामी निकै खुसी छौं, अब निरन्तर यसमा लागि रहन्छौं, चारैतिरबाट स्यावासी पाएका छौं,” अध्यक्ष वाग्लेले भनिन् ।
सह–कदम महिला समूहले अहिले अफ्रिकन प्रजातिको सयपत्री फूलको खेती गरेको छ । पहिलो वर्ष नाफाभन्दा पनि बाँझो जमिन खनजोत, मलखाद खरिद, बिउबिजन, बेर्नामा लगानी भएको र राम्रो अनुभव प्राप्त भएकाले अर्को वर्ष अझ बढी क्षेत्रमा खेती गर्ने सोच बनाएको वाग्लेले बताइन् ।