दीननाथ बराल
आइतवार, पुष २९, २०७५
589

गण्डकीमा प्रदेश बाहिरबाट जलविद्युत्, पर्यटन, उद्योग, व्यापार, कृषिलगायतका क्षेत्रमा लगानी भएको छ ।

 १९ खर्ब २७ अर्ब कर्जा लगानी, ८ खर्ब ६६ अर्ब निक्षेप संकलन

पोखरा-गण्डकी प्रदेशमा १० खर्ब ६१ अर्ब रूपैयाँभन्दा बढी कर्जा बाहिरी क्षेत्रबाट लगानी भएको छ । पोखरामा हालै आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले गण्डकी प्रदेशमा निक्षेप संकलनभन्दा दोब्बरभन्दा पनि बढी बाहिरी क्षेत्रबाट लगानी भएको जानकारी दिएका हुन् ।
निर्देशक न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा गण्डकी प्रदेशमा १९ खर्ब २७ अर्ब ७३ करोड रूपैयाँ कर्जा लगानी भएको उल्लेख छ । प्रदेशमा ८ खर्ब ६६ अर्ब ५३ करोड रूपैयाँ निक्षेप संकलन भएको छ । यसरी हेर्दा गण्डकीका ११ जिल्लामा १० खर्ब ६१ अर्ब २० करोड रूपैयाँभन्दा बढी बाहिरी क्षेत्र अर्थात अन्य प्रदेशबट लगानी भएको देखिन्छ । गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्की र सबैभन्दा कम कर्जा लगानी मनाङमा भएको छ । कास्कीमा ११ खर्ब ५५ अर्ब ३८ करोड लगानी हुँदा मनाङमा भने २ अर्ब ४६ करोड कर्जा लगानी भएको छ । त्यसैगरी कास्कीमा २ सय १७ वटा बैंक तथा वित्तिय संघ सस्ंथाका कार्यालय रहदा ४ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन भएको छ भने मनाङमा ९ वटा बैंक तथा वित्तीय संघसंस्थाका कार्यालयमा २ अर्ब ९९ करोड रूपैयाँ निक्षेप संकलन भएको छ ।
त्यसैगरी बाग्लुङमा ८५ अर्ब ८३ करोड कर्जा संकलन हुँदा ५० अर्ब २ करोड निक्षेप संकलन भएको छ । बाग्लुङमा ३८ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । गोर्खामा ६४ अर्ब २८ करोड कर्जा लगानी हुँदा ६८ अर्ब ७५ करोड निक्षेप संकलन भएको छ भने गोर्खामा ३६ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । लमजुङमा ७८ अर्ब २६ करोड कर्जा लगानी हुँदा २९ अर्ब ९६ करोड निक्षेप संकलन भएको छ । लमजुङमा ३८ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । मुस्ताङमा ६ अर्ब ५८ करोड कर्जा लगानी हुँदा १० अर्ब ८६ करोड निक्षेप संकलन भएको छ भने मुस्ताङमा १३ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । त्यस्तै म्याग्दीमा ५४ अर्ब ४६ करोड कर्जा लगानी हुँदा १७ अर्ब ४९ करोड निक्षेप संकलन भएको छ भने २७ वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । नवलपरासीपूर्वमा १ खर्ब २५ अर्ब १ करोड कर्जा लगानी हुँदा ४९ अर्ब ९ करोड निक्षेप संकलन भएको छ । नवलपरासीपूर्वमा ७३ वटा बैंक तथा वित्तय संस्थाका कार्यालय छन् ।
पर्वतमा ५० अर्ब ३४ करोड कर्जा लगानी हुँदा ३० अर्ब ४२ करोड निक्षेप संकलन भएको छ भने जसमा ३१ वटा वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् । त्यस्तै स्याङ्जामा १ खर्ब २३ अर्ब ७४ करोड कर्जा लगानी हुँदा ७० अर्ब ७९ करोड निक्षेप संकलन भएको छ भने ६० वटा वटा बैंक तथा वित्तीय संस्था रहेको तथ्यांकले देखाएको छ । त्यस्तै तनहुँमा १ खर्ब ८१ अर्ब ३६ करोड कर्जा लगानी हुँदा ८४ अर्ब ८५ करोड निक्षेप संकलन भएको छ भने तनहुँमा ८३ वटा वटा बैंक तथा वित्तीय संस्थाका कार्यालय छन् ।
नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख पोमनाग गौतमले गण्डकीमा प्रदेश बाहिरबाट जलविद्युत्, पर्यटन, उद्योग, व्यापार, कृषिलगायतका क्षेत्रमा लगानी भएको बताए । ठ्याक्कै कुन क्षेत्रमा कति कति लगानी छ भनेर हाल भन्न सकिने अवस्था भने नरहेको उनले बताए । “कुन क्षेत्रमा यसरी बढी लगानी भएको छ भनी हामीले वेलामै जानकारी भएमा अनुत्पादन क्षेत्रमा गएको लगानीलाई नियमन गर्न सक्छौं,” उनले भने, “लगानीबारे जानकारी लिन सकिए उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्न सकिन्छ ।” गण्डकी प्रदेशमा ६ सय ३३ वटा बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्थाका शाखासहितका कार्यालय छन् । गण्डकीका तीन वटा स्थानीय तहमा अझै बैंकिङ पहुँच पुग्न सकेको छैन ।