विपेन्द्र कार्की
सोमवार, माघ ७, २०७५
1534

केचनाकवल-मुलुकमा अधिकांश व्यावसायिक समूह ‘ट्रेडिङ’तर्फ उन्मुख भइरहेका बेला पूर्वी नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहले भने कृषिमा ठूलो लगानी सुरु गरेको छ । समूहले झापाका विभिन्न स्थानमा व्यावसायिक कृषिकै लागि २ सय बिघा जग्गा खरिद गरी प्रारम्भिक चरणको कामसमेत गरिसकेको छ । । रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डष्ट्रिज, शिवम् प्लाष्टिकजस्ता निर्यातजन्य उद्योग सञ्चालन गरिरहेको गोल्यान समूहले यसका लागि करिब ६० करोड रुपैयाँ लगानी गरेको समूहका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए ।
“नेपालको कृषि क्षेत्रमा व्यावसायिक घराना आउन सकेनन् भने कहिले पनि देशमा कृषि क्षेत्रको विकास हुँदैन भन्ने महशुस गरेर यस क्षेत्रमा लगानी गरेका हौं,” अध्यक्ष गोल्यानले भने, “यो त हाम्रो ‘पाइलट प्रोजेक्ट’मात्र हो, आगामी दिनमा हामीले यसलाई १ हजार बिघासम्म विस्तार गर्ने लक्ष्य राखेका छौं ।”

समूहले उत्पादन गर्ने सबै उत्पादन पहिलो चरणमा विषादीमुक्त र दोस्रो चरणमा पूर्ण रूपमा अग्र्यानिक हुनेछन् । उत्पादनपछि बिक्रीसम्मका लागि आफ्नै ब्रान्ड र चेन निर्माण गर्ने समूहले जनाएको छ । जसअनुसार गोल्यान समूहले ‘माटो’ ब्रान्डमा आफ्ना र आफ्नो चेनमा रहेका कृषकका उत्पादन बिक्री गर्नेछ ।
समूहले झापा गाउँपालिकाको मदरगाछलगायत चकचके, घेराबारीलगायतमा २ सय बिघा जग्गा खरिद गरेको छ । नेपाल एसबीआई बैंक र जनता बैंकबाट ऋण लिएर करिब ४० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरेको छ । जग्गामा माटो परीक्षण तथा बाली लगाउनेलगायतका अन्य अनुसन्धानसमेतका लागि थप २० करोड रुपैयाँ खर्च हुने अध्यक्ष गोल्यानको अनुमान छ ।
गोल्यानका अनुसार २ सय बिघा जग्गामा धान र गहुँजस्ता परम्परागत खेती भने गरिने छैन । किसानले तत्काल लाभ पाउने भएकाले धान र गहुँलगायतका बाली लगाउने भएकाले उनीहरूसँग कुनै प्रतिस्पर्धा नगरी प्रतिफल पाउन केही वर्ष कुर्नुपर्ने फलफूल खेतीमा जोड दिने उनको योजना छ । तराईबाट सुरु गरेको व्यावसायिक कृषि खेती प्रदेश १ र २ सँगै पहाडी क्षेत्रमा पनि विस्तार गर्ने उनले जानकारी दिए ।
एसबीआई बैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागर पनि नेपालजस्तो कृषिप्रधान मुलुकमा ठूलो परिमाणमा कृषि कर्जाको माग नभइरहेका बेला गोल्यान समूहले विश्वसनीय योजना पेश गरेकै कारण आफूहरूले कर्जा प्रवाह गरेको बताउँछन् । कृषि क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको नीति रहे पनि कर्जाको माग भने उत्साहजनक नरहेको उनको भनाइ छ । गोल्यान समूहलाई आफूले सहवित्तीयकरण कर्जा उपलब्ध गराउनुको कारण उसको विश्वसनीय योजनासँगै समूहको ‘क्रेडिबिलिटी’समेत रहेको उनको भनाइ छ ।
यससँगै स्थानीय किसानलाई पनि आफ्नै निगरानीमा विषादीमुक्त उत्पादन गराउन लगाएर उक्त उत्पादन लागतका आधारमा निश्चित नाफा उपलब्ध गराइ खरिद गर्ने जनाइएको छ । समूहले हाल कागती, रेड लिली पपैया, अदुवा, बेसार, तर्बुजालगायतका केही फलफूलको बिरुवा रोप्ने कामसमेत सुरु गरिसकेको छ । यस्तै, उत्पादनलाई प्राविधिक रूपमा सबल बनाउन उत्तर बंगाल विश्वविद्यालयका वैज्ञानिकहरूले समेत काम गरिरहेका छन् ।