कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५
232

रामेछापका २ वटा नगरपालिकाका ९ वटा वडाको वातावारण संरक्षण गर्न जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय तेरेद जोम्स जर्मनीले आगामी ३ वर्षका लागि १० करोड ४६ लाख ४४ हजार ६ सय ३२ रुपैयाँ विनियोजन गरेका छन् । यस अवधिमा ७ करोड ४५ लाख ६१ हजार ८ सय ३९ रुपैयाँ कार्यक्रमगत खर्च र ३ करोड ८ लाख २ हजार ७ सय ९४ ब्यवस्थापन खर्चसहित उक्त रकम विनियोजन भएको हो ।
सामुदायिक विकास समाज मन्थली, श्रृजनसील युवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार लगायतका संस्थाले संयुक्त रूपमा वातावरण संरक्षण परियोजनाको नामबाट विभिन्न कार्यक्रमका लागि उक्त रकम खर्च गर्ने जनाइएको छ । कार्यक्रमअन्तर्गत मन्थली नगरपालिकको वडा नं १ देखि ६ सम्म र रामेछाप नगरपालिकाको वडा नं ७, ८ र ९ मा जैविक विविधता संरक्षण तथा दिगो ब्यवस्थापन गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरिने जनाइएको छ ।

कार्यक्रमका बारेमा मंगलबार एक समारोहका बीच जानकारी गराइएको थियो । सो अवसरमा मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका थिए । स्थानीय सरकार आउँदा पनि विकास निर्माणलाई सडक बनाउने मात्रै हो भन्ने सोचबाट अगाडि बढ्दा वातावरण मासिँदै गएको स्मरण गर्दै प्रमुख बस्नेतले वातावरण संरक्षणको कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर अगाडि बढ्न यस परियोजनाले ठूलो मद्दत पुग्ने अपेक्षा गरे ।
परियोजनामार्फत वन ब्यवस्थापन, जलवायु परिवर्तन, वातावरण संरक्षण र अर्गानिक खेतीसम्बन्धी युवालाई जनचेतना जगाउने, १ सय हेक्टर जमिनमा वृक्षरोपण गर्ने, १ सय ५० वटा गोठ सुधार गर्नेछन् । त्यसैगरी १० वटा पक्की माछा पोखरी निर्माण गर्ने, ५० वटा जल संरक्षण पोखरी निर्माण गर्ने, ३० वटा पानीको मुहान पहिचान गर्ने र १० वटा सिँचाइ योजना निर्माण गर्ने लगायतका कार्यक्रम छन् ।
सो अवसरमा कार्यक्रमका सहभागीले परियोजनाका बारेमा थप जिज्ञासा राख्नुका साथै वातावरण संरक्षणका लागि परियोजनाले गर्ने गतिविधिमा थप सल्लाह र सुझाव दिएका थिए । कार्यक्रममा नेकपाका नेता झम्क कँडेल, कांग्रेस जिल्ला कार्य समितिका सदस्य मदन अधिकारीले आ–आफनो मन्तब्य राखेका थिए ।

रमेश ढुंगेल