खाद्य सुरक्षा
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

भूकम्प, नाकाबन्दी र डुबान तथा बाढीपहिरोको समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ । विश्व खाद्य सुरक्षा दिवसको पूर्वसन्ध्यामा सार्वजनिक ‘विश्व भोकमरी सूचकांक (जीएचआई) २०१७’ प्रतिवेदनअनुसार विश्वका ११९ मुलुकमध्ये नेपालको स्थान ७२ औं मा छ । 
अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफरी), कन्सर्न वल्र्डवाइड र वल्र्ड हंगर हेल्प संस्थाले विश्वभर भोकमरीको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनअनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीको अवस्था सबैभन्दा धेरै अफगानिस्तान (१०७) र पाकिस्तान (१०६) मा नाजुक छ । त्यसपछिको नाजुक अवस्था रहेको भारत अघिल्लो वर्ष ९७ औं स्थानबाट खस्केर १०० मा पुगेको छ । यो वर्ष भारतले सूचकांकमा ३१.४ अंक प्राप्त गरेको छ । 
दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश २६.५ अंकसहित ८८ औं स्थानमा र श्रीलंका २५.५ अंकसहित ८४ औं स्थानमा छ । यस क्षेत्रका माल्दिभ्स र भुटानमा यससम्बन्धी अध्ययन गरिएको छैन भने छिमेकी मुलुक चीन ७.५ अंक ल्याएर २९ औं स्थानमा छ । प्रतिवेदनले ४.९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरेको छ । त्यसैगरी ५.० देखि ९.९ सम्म अंक प्राप्त गर्ने मुलुक मध्यम, १०.० देखि १९.९ अंक प्राप्त गर्ने मुलुक गम्भीर, २०.० देखि २९.९ अंक प्राप्त गर्ने मुलुक अलार्मिङ (बढ्दो) र ३० वा सोभन्दा बढी अंक प्राप्त गर्ने मुलुक एक्स्ट्रिमली अलार्मिङ (गम्भीर बढ्दो) भोकमरीको अवस्थाका रूपमा चित्रण गर्ने गरिएको छ । 
दक्षिण एसियाली मुलुकमा भोकमरीको समस्या कम देखिएपछि नेपालको भोकमरीको अवस्था आफैंमा भने खस्कँदो क्रममा रहेको प्रतिवेदनले देखाउँछ । नेपालको भोकमरीको सूचकांकमा सन् १९९० ताका २७.६ रहेकोमा सन् २००८ मा २०.६ अंक प्राप्त गरेको थियो । त्यसयताका वर्षहरूमा विस्तारै अंक घट्दै गरेकोमा सन् २०१४ मा सबैभन्दा कम १६.४ अंकमा झरेको थियो । सन् २०१५ मा भने एक्कासि २२.२ मा उक्लेको थियो । त्यसयता भने भूकम्प, नाकाबन्दी, खडेरीलगायत समस्याका खाद्य सुरक्षाको अवस्था विस्तारै खस्कँदो क्रममा देखिन्छ । गत वर्ष पनि नेपाल २१.९ अंक सहित ७२ औं स्थानमा थियो । भोकमरी सूचकांक मापनअनुसार जति कम अंक र स्थान हासिल ग¥यो, त्यति नै राम्रो मानिन्छ । 

भोकमरीसम्बन्धी १० तथ्य
बर्सेनि विश्वभर अक्टोबर १६ तारिखका दिन विश्व खाद्य सुरक्षा दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को अगुवाइमा विश्वभर मनाइँदै गरेको यो दिवसको यस वर्षको नारा ‘चेन्ज द फ्युचर अफ माइग्रेसन, इन्भेष्ट इन फुड सेक्युरिटी एण्ड रुरल डेभलभमेन्ट’ रहेको छ । खान पाउनु मानवको आधारभूत अधिकार हो । खाद्य अधिकारसँग सम्बन्धित भोकमरीका विषयमा एफएओले १० तथ्य सार्वजनिक गरेको छ । 
एफएओका अनुसार मानव जातिलाई पुग्ने खाद्यान्न उत्पादन भएर पनि विश्वका ८०० मिलियन जनता भोकमरीबाट सताइँदै आएका छन्, जसमध्ये ६० प्रतिशत महिला छन् । विश्वका ८० प्रतिशत अति गरिब जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् र ती कृषिमा निर्भर छन् । औलो, टिबी र एड्सजस्ता महामारीबाट मारिने भन्दा विश्वमा भोकमरीबाट मारिनेको जनसंख्या बढी छ । करिब ४५ प्रतिशत बालमृत्युदर कुपोषणका कारण हुँदै आएको छ । विश्व अर्थव्यवस्थामा कुपोषणको क्षेत्रमा मात्र ३.५ ट्रिलियन डलर बर्सेनि लगानी हुँदै आएको छ । विश्व जनसंख्याको एक चौथाइ अर्थात् १.९ बिलियनमा मोटोपनाको समस्या छ । 
बर्सेनि विश्वमा उत्पादन हुने मध्ये एक तिहाई खाद्यान्न खेर गइरहेको छ । विश्वका जनसंख्यालाई पाल्न सन् २०५० सम्म खाद्यान्नको उत्पादन ६० प्रतिशतले वृद्धि हुनुपर्छ । जलवायु परिवर्तनको गम्भीर असर सबैभन्दा बढी कृषि क्षेत्रमा परिरहेको विज्ञहरु बताउँछन् । भोकमरीको अन्त्यका लागि एफएओले विश्वका १३० मुलुकमा शून्य भोकमरी अभियान सञ्चालन गरिरहेको छ ।