उपभोक्ता ठग्नेले छुट पाउँदैनन् : मन्त्री यादव
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
113

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता ठग्ने व्यवसायीले छुट नपाउने बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले दोषी ठहर नहुन्जेल कसैलाई कारबाही नगर्ने तर दोषी फेला परे छुट नदिने बताएका हुन् ।
बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाउने जानकारी दिँदै मन्त्री यादवले ठूला व्यावसायिक घरानामा बजार अनुगमन गर्ने बताए । “दुई-चारवटा ठूला व्यवसायमा अनुगमन गर्दा साना व्यवसायी आफैं सुधारमा आउँछन्,” मन्त्री यादवले भने, “बजारलाई व्यवस्थित र गुणस्तर कायम गर्न संयुक्तरुपमा बजार अनुगमन गरिने छ ।” बजारमा हुने ठगी, मिसावट, तौलमा कमी, कालोबजारी नियन्त्रण गर्न नयाँ योजनासहित अनुगमनमा जाने मन्त्री यादवको भनाइ छ । “विद्यमान कानुनलाई संशोधन प्रक्रिया अगाडि बढाउँछौं,” मन्त्री यादवले भने, “अनुगमनबाट अनुसन्धानका क्रममा रहेका मुद्धाको कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।” स्वास्थ्य, शिक्षा क्षेत्रमा बढी ठगी देखिएकाले कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
मन्त्री यादवले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा कानुनी अधिकृतको व्यवस्था नहुँदा कारबाही प्रक्रिया अगाडि बढाउन समस्या भएको समेत बताए । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ठगीका समस्या बढ्दै गएकाले कारबाहीका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयलाई पत्राचार गरिएको समेत जानकारी दिए ।
यसैबीच बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा आइतबार मन्त्री यादवले वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्थापन विभाग, पशु सेवा विभाग, काठमाडौं र ललितपुर जिल्लाका सहन्यायधिवक्तासँग छलफलसमेत गरेका थिए ।