कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५
354

बिर्तामोड- अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेसन फाउन्डेसनले झापाको बिर्तामोडमा बिहीबार शैक्षिक मेला सम्पन्न गरेको छ । कंगारुले देशका विभिन्न पाँच स्थानमा एकै पटक शैक्षिक मेलाको आयोजना गरेको हो ।
कंगारु एजुकेसन फेयर ः अल नेपाल रोड नाम दिइएको उक्त मेलामा देश भरका विद्यार्थीलाई सही परार्मश दिने उद्देश्य राखिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एक दिने मेलामा ५ सयभन्दा बढी विद्यार्थीले परामर्श लिएका छन् । मेलामा अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा र युरोपका विभिन्न २४ विश्वविद्यालय र कलेजका प्रतिनिधिले परार्मश दिएका थिए ।
झापाको बिर्तामोडमा पहिलो मेला सम्पन्न भएको हो । कात्तिक ३० र मंसिर १ गते पुतली सडक काठमाडौँ, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेलाको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाले बताए । “सूचनाको अभावमा नेपाली विद्यार्थी ठगिन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।” उनले भने, “विदेश जान चाहने विद्यार्थीलाई आवश्यक जानकारी लिएर उनीहरू भएकै ठाउँमा पुग्ने लक्ष्यका साथ काठमाडौंभन्दा बाहिर पनि मेलाको आयोजा गरिएको हो ।”
मेलामा आउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेको कंगारु एजुकेसन फाउन्डेसन बिर्तामोड प्रमुख नवीन ढुङ्गनाले बताए । मेलामा सहभागी हुने विद्यार्थीको विदेश जाने प्रक्रियामा लाग्ने सेवा शुल्कमा संस्थागत रूपमा छुटको व्यवस्था गरिएको ढुङ्गेलले जनाए ।
आफू जान चाहेको देश, भाषा प्रशिक्षण, भिसा प्रक्रिया, आवश्यक खर्च, पढ्न चाहेको विषय र त्यसको महत्व, काम गर्न पाउने अवधि, पाइने काम, हुने आम्दानी जस्ता चासोका विषयमा सम्बन्धित देशका प्रतिनिधिबाटै विद्यार्थीले परामर्श लिएका छन् । मेलामा विद्यार्थी, अभिभावकले सहभागिता जनाएका थिए । कंगारुले नेपालका विभिन्न सहरमा सातवटा, अष्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक गरी १० वटा कार्यालयमार्फत शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।