कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
507

सल्यान-किताब पढौं जीवनलाई बदलौं, कर्णाली प्रदेशका कारागारलाई किताब अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा यस अभियानको शुरुवात गरेको छ । सल्यान जिल्लाको जिल्ला कारागारमा पनि किताब अभियानको थालनी गरिएको छ ।
‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने उद्देश्यका साथ जिल्लामा कारागारलाई किताब अभियान सुरु गरिएको हो । जिल्ला कारागार सल्यानमा विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदीबन्दीहरु जीवन जिउने कला तथा सकारात्मक सन्देशले भरिएका पुस्तकहरु संकलन गरी कारागारलाई उपलब्ध गराएसँगै कारागारमा पुस्तकालयको व्यवस्थासमेत गरिने भएको हो । कारागारका लागि पुस्तक संकलन गर्न शुक्रबार जिल्ला प्रहरी कार्यालयको आयोजनामा एक कार्यक्रमका बीच कारागारलाई किताब अभियान उपसमिति गठन भएको छ ।

सल्यान प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको हो । समितिको उपसंयोजकमा महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोविता बस्नेत, सदस्य सचिवमा इन्सपेक्टर गिरीराज भण्डारी, सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने, इन्सेक प्रतिनिधि तथा पत्रकार मिना बुढाथोकी, उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष कुमार बुढाथोकी, त्रिभुवन जनता माविका शिक्षक रुपक शाह र जिल्ला कारागारका जेलर विक्रम केसी रहेका छन् ।
यस उपसमितिले जिल्लामा विभिन्न निकायसँग समन्वय गरेर किताबहरु संकलन गर्ने र एक कार्यक्रमको आयोजना गरी कारागारलाई किताब हस्तान्तरण गर्नेछ ।