मेगराज खड्का
आइतवार, चैत्र १०, २०७५
400

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ११ स्थित हिमालय माविमा प्राविधिक शिक्षा अन्तर्गत कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीहरु कृषि उत्पादनमा जुटेका छन् । कृषि जेटिए र तीन वर्षे बाली विज्ञान अध्ययन गर्ने ८० जना विद्यार्थी कृषि उत्पादनमा जुटेका हुन् ।
विद्यार्थीलाई उत्पादनमुखी बनाई व्यावसायिक शिक्षा लागू गर्न लागि ६ समूहमा विभाजन गरी उत्पादनमा लगाइएको छ । प्रत्येक समूहको कृषि शिक्षकहरुले नेतृत्व गरिरहेका छन् ।

अहिले विद्यार्थीले च्याउ खेती गरेका छन् । विद्यालयको दुईवटा कोठामा प्रतिसमूह २६ वटा डल्लाको दरले च्याउ लगाइएको विद्यालयले बताएको छ । कृषि शिक्षक उदयराम ओलीका अनुसार विद्यार्थीले आफ्नो लगानीमा उत्पादन सुरु गरेका छन् र त्यसबाट प्राप्त हुने फाइदा पनि विद्यार्थी आफैंले लिनेछन् ।
उनले भने, “नगर कृषि शाखाको ८० पोका च्याउ र टनेल सहयोगमा उत्पादन सुरु गरिएको हो । अहिले च्याउ लगाइएको छ भने टनेल निर्माण भइरहेको छ ।” च्याउ मात्रै नभएर विद्यालयको २७ सय वर्गमिटर जग्गा र २ रोपनी जग्गा भाडामा लिएर प्रत्येक समूहले फरक–फरक तरकारी लगाएका छन् । “भाडा हामीले वार्षिक १० हजार तिर्ने सम्झौता गरेका छौँ । विद्यार्थीले लगाएको तरकारी बेचेर त्यसबाट प्राप्त रकम आफैँले लिनेछन्,” शिक्षक ओलीले भने । जसबाट उनीहरूलाई जीवन यापनमा सजिलो हुनेछ । विद्यार्थीलाई उत्पादनमा लगाउँदा लाखौं खर्च गरेर पढ्ने र विदेश जाने प्रवृत्तिको अन्त्य हुने उनको विश्वास छ ।
विद्यार्थीले उत्पादन गरेको वस्तु स्थानीय बजारमा बिक्री हुने छ भने त्यहाँ पनि बिक्री नभए नगरपालिकाले बजारका लागि सहजीकरण गरिदिने बताइएको छ । उत्पादनमा जुटेपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । कृषि जेटिए पढ्ने खिमराज केसीले विद्यालयमा उत्पादन शिक्षा पहिलोपटक सुरु गरेको बताए । “गुरुहरुले हामीलाई सिकाउनु भएको छ । यसको प्रतिफल राम्रै हुन आश लिएका छौँ,” उनले भने, “हामी बिहान विद्यालय पुगेदेखि पढ्ने सँगै काम पनि गर्छौं भने च्याउ, टमाटर, करेला लगायतको तरकारी लगाएका छौँ ।”
तीन वर्षे बाली विज्ञान पढ्ने निर्मल केसीले पनि आफ्नो समूहमा च्याउ लगायत अन्य तरकारी लगाएको बताए । विद्यार्थीलाई उत्पादनमा लगाउनु राम्रो काम भएको अभिभावकहरुको पनि भनाइ छ ।