गोबिन्द खत्री
आइतवार, बैशाख ९, २०७५
545

 केही वर्ष अघिसम्म अंग्रेजी राम्रो बनाउनकै लागि निजी तथा आवासीय विद्यालय (बोर्डिङ) मा अध्ययन गर्नुपर्ने बाध्यता थियो । विद्यार्थीहरू बोर्डिङतर्फ बढी आकर्षित भएपछि जिल्लामा नाम चलेकै विद्यालयहरूमा समेत विद्यार्थी संख्या ओरालो लाग्यो । कतिपय विद्यालयहरूले यो कुरा पत्ता लगाएर अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरे । सुरुमा अंग्रेजी माध्यममा विद्यार्थीहरू खासै नपाएका सामुदायिक विद्यालयहरूलाई अहिले भने विद्यार्थी संख्या थेगिनसक्नु छ ।
विद्यालय व्यवस्थापन र नतिजा राम्रो भएका विद्यालयहरूमा नेपाली माध्यमभन्दा अंग्रेजी माध्यमप्रति विद्यार्थीहरू बढी आकर्षित भएका छन् । सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाइ हुनथालेपछि आफ्ना छोरा छोरीहरूलाई बोर्डिङ स्कूल छोडेर सामुदायिकमा भर्ना गराउने अभिभावकको संख्या बढ्दै गएको छ । शैक्षिक सत्र २०६९ देखि कक्षा छ बाट अंग्रेजी माध्यममा पढाउन सुरु गरेको अमरज्योति नमूना माध्यामिक विद्यालय नेवारेले अहिले कक्षा छ देखि ११ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा छुट्टा छुट्टै अध्यापन गराइरहेको छ । पछिल्लो समय विद्यार्थीहरू नेपाली भन्दा अंग्रेजी माध्यमप्रति बढी आकर्षित भएको प्राधानाध्यापक खगेन्द्र थापा बताउँछन् । आफ्नो विद्यालयमा प्रवेश परीक्षामा नेपाली माध्यमभन्दा अंग्रेजी माध्यमका लागि धेरै विद्यार्थीहरू सहभागी भएको जनाए । अंग्रेजी माध्यमका साथै विद्यालयको व्यवस्थापन राम्रो भएकाले विद्यार्थीहरू आकर्षित भएको प्र.अ. थापाको भनाइ छ । निजी विद्यालयको व्यवस्थापकीय पक्ष राम्रो नहुनु र महँगो शुल्कका कारण पनि अभिभावकले विकल्पका रूपमा अंग्रेजी माध्यममा पढाउने सामुदायिक विद्यालयलाई लिइएको उनको बुझाइ छ । उच्च शिक्षामा छात्रबृत्ति पाउन सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने नितीका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको प्र.अ. थापाले बताए । छोरालाई ६ कक्षासम्म निजी स्कूलमा पढाएका अभिभावक ओपेन्द्रबहादुर खत्रीले सामुदायिक स्कूलले अंग्रेजी माध्यममा पढाउन थालेपछि सामुदायिक विद्यालयमै भर्ना गरेका छन् । निजी स्कूलकको शुल्क महँगो भएको र सामुदायिकमा समेत राम्रो पढाइ हुन थालेपछि सामुदायिकमा छोरीलाई भर्ना गरेको उनले बताए ।
शैक्षिक सत्र ०६६÷०६७ देखि कक्षा छ बाट अंग्रेजी माध्यम अध्यापन सुरु गरेको वीरेन्द्रनगर ६ मा रहेको जिल्लाको पूरानो माध्यामिक विद्यालय जन माध्यामिक विद्यालयले यस शैक्षिक सत्रबाट कक्षा एकदेखि नै अंग्रेजी माध्यम सुरु गरेको छ । विद्यालयका प्र.अ. यामबहादुर श्रेष्ठले अंग्रेजी माध्यमका लागि प्रवेश परीक्षा दिन आउने विद्यार्थीहरू थेगी नसक्नु भएको बताए । यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका एक हजार तीन सय मध्य ८० प्रतिशत विद्यार्थीले अंग्रेजी माध्यमका लागि परीक्षा दिएका बताए । अंग्रेजी माध्यमका साथै उत्कृष्ट व्यवस्थापन र संस्कारयुक्त शिक्षा दिने भएकाले आफ्नो विद्यालयप्रति विद्यार्थीहरू आकर्षित हुने गरेको प्र.अ. श्रेष्ठको भनाइ छ ।
जिल्लामा करिब दुई दर्जन विद्यालयहरूले प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेका छन् भने सदरमुकामका केही विद्यालयहरूले माध्यामिक तहसम्म अंग्रेजी माध्यममा पढाइरहेका छन् । अंग्रेजी माध्यममा पढाउने प्रायः सबै विद्यालयमा विद्यार्थीहरू बढेको जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह बताउँछन् । यसका साथै सरकारको शिक्षा सम्बन्धी निती र सामुदायिक विद्यालयहरूको व्यवस्थापनका कारण पछिल्लो समय विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययन गर्न मन पराउने गरेको जि.शि.अ. शाहको भनाइ छ ।
भौतिक पूर्वाधार तथा जनशक्तिमा राम्रो व्यवस्थापन भएका सदरमुकामका केही विद्यालयहरूले अंग्रेजी माध्यममा राम्रो गरिरहेका भएपनि लहरमा अंग्रेजी माध्यम सुरु गरेका दुर्गमका विद्यालयहरू भने जनशक्ति र भौतिक पूर्वाधार अभावमा तड्पिएका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमले विद्यार्थी तान्न सफल भएपनि जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार अभाव चुनौतिका रूपमा रहेको संस्कृत तथा साधारण उच्च माविका पूर्व प्र.अ. गेहेन्द्रप्रसाद दाहाल बताउँछन् । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्नका लागि सबै भन्दा व्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने दाहालको धारणा छ । ‘भौतिक व्यवस्थापन भएका विद्यालयमा विद्यार्थीहरूको चाप देखिएको छ ।’ उनले भने,‘त्यसैले भौतिक पूर्वाधार व्यवस्थापन र विद्यालय हाताभित्रको वातावरण व्यवस्थापन ध्यान दिनुपर्छ ।’ अंग्रेजी माध्यममा पढाउन चाहाने विद्यालयलाई स्थानीय सरकारले बिशेष सहयोग गर्नुपर्ने दाहालले बताए । सरकारले योग्य शिक्षा व्यवस्थापन गर्ने रणनीति अपनाउनु पर्ने उनको भनाइ छ ।

 मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानून संकायको तयारी
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानुन संकायअन्तर्गत पाँच बर्षे स्नातक तहमा बी.ए. एल.एल.वि. कार्यक्रम संचालन गर्ने पाठ्क्रम निर्माण गर्न लागेको छ । प्रा. डा. युवराज संग्रौलाको नेतृत्वमा पाठ्यक्रम निर्माण समिति गठनगरी प्रक्रिया अगाडि बढाएको छ । समितिले पाठ्यक्रमको प्रारूप सम्बन्धमा कानून विज्ञहरूसँग वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशालामा बोल्दै प्रमुख अतिथि उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले उत्पादित जनशक्ति र उपभोक्ता निकायविच तालमेल मिलाउन आवश्यक रहेको बताउँदै युग सुहाउँदो पाठ्यक्रम निर्माण गर्न सुझाव दिए ।
नेपाल सरकारका पूर्व मुख्य न्यायाधिवक्ता समेत रहेका कानुनका विज्ञ तथा काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक एवं पाठ्यक्रम निर्माण समितिका संयोजक प्रा.डा. युवराज संग्रौलाले पाँच बर्षे बि.ए. एल.एल. वि. कार्यक्रम कुन ैपनि विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउने गरी १० सेमेष्टरको लागि १५० क्रेडिटको हाराहारीमा पाठ्यक्रमको निर्माण गर्न लागिएको जानकारी दिए । पाठ्यक्रमलाई समयसापेक्ष बनाउन कानून क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग सघन छलफल गरी अन्तिम रूप दिइने उनले बताए । आगामी भदौ भित्र कार्यक्रम संचालनमा ल्याउनेगरी पाठ्यक्रम निर्माण भैरहेको संग्रौलाले बताए । उनले प्रभावकारी कार्यन्वयनका लागि पठनपाठनमा समेत प्रत्यक्ष सहभागी हुने र कानूनका १० हजार पुस्तक मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । विश्वविद्यालयका उपकुलपति तथा पाठ्यक्रम विकास समितिका अध्यक्ष प्रा.डा. उपेन्द्रकुमार कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा योग्य जनशक्ति उत्पादन गर्ने खालको गुणस्तरीय पाठ्यक्रम निर्माण गरिने बताए ।