होटल व्यवस्थापनका  शिक्षकलाइ   तालिम
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
415

नेदरल्यान्डस्को विकास मामिलासम्बन्धी थिंकट्यांक पमले नेपालका होटल व्यवस्थापन तथा आतिथ्य सत्कार व्यवस्थापनका शिक्षकहरूलाई पुनर्ताजगी तालिम प्रदान गरेको छ ।
राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा आयोजित सो पुनर्ताजगी तालिममा पमका विज्ञ मार्टिन हुजिन्गाले आतिथ्य सत्कार शिक्षणका बहुआयामिक विधिबारे तालिम प्रदान गरेका हुन् । पाँच दिनसम्म सञ्चालित सो तालिममा होटल व्यवस्थापन र आतिथ्य सत्कार शिक्षाका १५ जना अध्यापकको सहभागिता थियो ।
नेदरल्यान्ड्सको संस्था पमले विकासशील मुलुकहरू र उदाउँदा बजारका साना तथा मझौला उद्यमहरूलाई दिगो विकास मामिलामा विभिन्न किसिमका परामर्श र प्रशिक्षण उपलब्ध गराउँदै आएको पमका आतिथ्य सत्कार विज्ञ मार्टिन हुजिन्गाले जानकारी दिए ।
सो अवसरमा आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल एसोसिएसन अफ होटल म्यानेजमेन्ट स्कुल्स–ईयूहोफाका बोर्ड सदस्य एवं गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सन् २०१९ मा ईयूहोफाको सम्मेलन नेपालमा गर्न लागिएको सन्दर्भमा यहाँका होटल व्यवस्थापन शिक्षामा संलग्न जनशक्तिको दक्षता सोहीअनुसार विकास गर्नुपर्ने भएकाले पुनर्ताजगी तालिमको आयोजना गरिएको बताए ।