गोपाल संग्रौला
बुधवार, कार्तिक २१, २०७५
537

स्लग : वैदेशिक रोजगारीका एक दशक
विगत एक दशकमा वैदेशिक रोजगारीले भुपडी भएका जनतालाई पक्की घर र पक्की घर भएकालाई महलमा बास गरायो । आम विपन्न जनताको पक्षबाट हेर्दा वैदेशिक रोजगारीले गरिबका दिन फर्काएको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा श्रमको मूल्य र रोजगारीको अवसर दुवै न्यून हुने गरेका कारण विदेश जाने युवाको ताँती रोकिहाल्ने आँट सरकारसँग छैन । वैदेशिक रोजगारीले केही हदसम्म जनतालाई राम्रो खाने र राम्रो घरमा बस्ने हैसियत दिएको छ । वैदेशिक रोजगारीले देशलाई पु-याएको नाफा–घाटाको कुरा गर्ने बेला अभैm आएको छ । बेरोजगारीको अवस्था हेर्दा अभैm केही वर्ष वैदेशिक रोजगारीलाई प्रबद्र्धन गनुपर्ने देखिन्छ ।

बाध्यात्मक वैदेशिक रोजगारीमात्र नियन्त्रण गरौं
विकसित एवं उच्च आय भएका मुलुकहरुमा श्रमको मूल्य र रोजगारीको अवसर दुवै उच्च रहने हुँदा रोजगारीका लागि विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरुमा विदेशिने क्रम तीव्र रुपमा बढ्दै गइरहेको छ । यूएन आप्रवासन प्रतिवेदन, २०१५ अनुसार विश्वका २४ करोड ४० लाख मानिसहरु बसाइँसराई, रोजगारीलगायत अन्य कारणले आफ्नो देश बाहिर रहेका छन् । नेपालको सन्दर्भमा आर्थिक वर्ष २०६३-०६४ मा वैदेशिक रोजगारीमा जाने कूल संख्या २ लाख थियो भने यो संख्या बढेर आव २०७०-०७१ र २०७१-०७२ मा ५ लाख नाघ्यो । यद्यपि यसपछिका वर्षहरुमा केही मात्रामा घट्दै गएको देखिन्छ ।
सुरुमा पुरुष कामदारहरु मात्रै जाने गरेकोमा महिला कामदारको संख्यासमेत उल्लेखनीय रुपमा बढ्न थालेको देखिन्छ । आव २०६३-०६४ मा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदार संख्या ३९० जनामात्र रहेकोमा १० वर्षपछि यो संख्या बढेर आव २०७४ सम्ममा कूल १ लाख ८२ हजार ७३२ पुगेको छ । यसरी वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आव २०७४-०७५ को जेष्ठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ५० लाख नाघिसकेको छ । यद्यपि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक अद्यावधिक हुन सकेको छैन ।
यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु, अलेखबद्ध कामदार तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न सकेमा यो संख्या निकै बढी देखिन आउने छ । २०६८ को जनगणनाले भारतमा रहेको नेपालीहरूको संख्या ५ लाख ८९ हजार ५० रहेको देखाएको छ, जसमा ८८.३ प्रतिशत पुरुष र ११.७ प्रशित महिला रहेको देखिन्छ । नेपालले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा करिब १७२ मुलुकमा नेपालीहरू कामका लागि गएको पाइन्छ । नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र यूएई रहेका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरूको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।
यसरी वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत अर्धदक्ष २४ प्रतिशत अदक्ष कामदार ७४.५ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारमा जाने कामदारमा प्रदेश नं. १ र २ को हिस्सा करिब ५० प्रतिशत रहेको देखिन्छ भने प्रदेश नं ३ र ५ मा १६-१६, प्रदेश नं. ४ मा १३, प्रदेश ६ मा ३ प्रतिशत र प्रदेश ७ मा २ प्रतिशत रहेको देखिन्छ । वैदेशिक रोजगारबाट नेपाललाई प्राप्त हुने मुख्य फाइदा भनेको विप्रेषण नै हो । नेपाल राष्ट्र बैंकको हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार आव २०५०-०५१ मा विप्रेषण आप्रवाह २ अर्ब १५ करोड रहेकोमा आव २०७२-०७३ मा ६ खर्ब ६५ अर्ब रह्यो, जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.६ प्रतिशत हुन आउँछ ।
तेश्रो घर परिवार सर्वेक्षणअनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण मुलुकको ५५.८ प्रतिशत घरधुरीमा पुग्ने गरेको देखिन्छ भने मुलुकका करिब ३१ लाख घरपरिवारले प्रतिपरिवार औसत ८० हजार ४०० रुपैयाँका दरले नियमित रुपमा विप्रेषण प्राप्त गरिरहेको देखाउँछ । वैदेशिक रोजगारीबाट नेपाललाई प्राप्त हुने अर्को फाइदा भनेको सीपयुक्त जनशक्ति हो । विदेशमा सिकेको सीप खासगरी कृषि क्षेत्रमा प्रयोग गरी स्वदेशमा रोजगारीको सृजना गर्नेहरुको संख्या पनि क्रमशः वृद्धि हुँदै गइरहेको छ ।
केही वर्ष अगाडिसम्म नेपालको गरिबीको रेखामुनिको जनसंख्या ३१ प्रतिशत रहेकोमा हाल २३.८ प्रतिशतमा घटेको आर्थिक सर्वेक्षण प्रतिवेदन २०७०-०७१ मा उल्लेख गरिएको छ । यसरी गरिबी घट्नुमा विप्रेषण एउटा महत्वपूर्ण कारक बन्न पुगेको तथ्य पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । समग्रमा भन्नुपर्दा नेपालजस्तो आर्थिक रुपमा विपन्न मुलुकमा वैदेशिक रोजगार धेरैका लागि बाध्यता र थोरैका लागि रहरको विषय भए तापनि नेपाली कामदारहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिँदै आइरहेको छ ।

के पायौं ? के गुमायौं ?
वैदेशिक रोजगारीको पछिल्लो एक दशकमा नेपालले ४ हजार ४८२ अर्ब रेमिट्यान्स पाएकोमा ६ हजार ७०८ युवालाई गुमायौ । यस अवधिमा वैदेशिक रोजगारीले नेपालको सामाजिक र व्यक्तिको आर्थिक हैसियतमा आमूल परिवर्तन आयो । लाखौं नेपाली युवाले विदेशमा कमाएको पैसा देश विकासका लागि खर्च गर्न नसक्दा १ दशकपछि पनि देश परनिर्भर भइरह्यो । यो अवधिमा वैदेशिक रोजगारीकै क्रममा १ हजार १७८ जना युवा अंगभंग भएर स्वदेश फर्किएका छन् ।