कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५
462

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सरकारको योजना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छलफलमा मन्त्री बिष्टले सो कुरा बताएका हुन् ।
सामाजिक सुरक्षा विषयक दुई दिने सो छलफल कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले शुभकामना मन्तव्य राख्दै संविधानले नै उचित पारिश्रमिक र सामाजिक सुरक्षाको हक ग्यारेण्टी गरेकाले सोहि अनुसार सरकारले काम गरिरहेको बताए । “सरकारले अबको २ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ,” उनले भने, “अहिले सामाजिक सुरक्षा सम्बन्धि नियमावली तयार पार्ने काम भैरहेको छ ।” नेपालको सन्दर्भमा केहि जटिल भएपनि सामाजिक सुरक्षा कार्यक्रम ल्याउन र लागु गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
सबै श्रमिकको मानवोचित जीवन यापनका लागि यो कार्यक्रम महत्वपूर्ण जग हुने सरकारको ठहर छ । यो कार्यक्रम लागु हुनासाथ लाखौं नागरिकको जीवनमा सिधा अनि सकारात्मक प्रभाव पार्ने छ । तत्काल श्रमिकहरुलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याइने तयारी भएपनि श्रमिक आश्रित परिवारलाई समेत कसरी सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ भनेर छलफल भैरहेको छ । औपचारिकसँगै ठूलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कार्यक्रमले लाभान्वित पु-याउने योजना सरकारको छ ।