कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
321

 झापाको मेचीनगर नगरपालिका–७ इँटाभट्टामा सञ्चालित दिव्यज्योति आँखा अस्पतालले सरकारबाट इजाजत लिएर नै अस्पताल सञ्चालन गरेको स्पष्ट पारेको छ । अस्पतालको इजाजत रद्द भएको भन्ने अवाज उठिरहेका बेला अस्पतालले पत्रकार सम्मेलन गरेर सो कुरा जनाएको हो । अस्पताल सञ्चालन भइरहेको भवन मापदण्ड अनुरुप नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत रद्द गरेको भन्ने आवज गलत भएको अस्पतालले जनाएको छ ।
एक वर्ष पहिले झापाको काँकडभिट्टामा क्लिनिक सञ्चालमा ल्याइए पनि प्रतिष्पर्धा गर्न अवरोध सिर्जना गरेका कारण अस्पताल इँटाभट्टामा सारिएको अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोनिका कार्माचार्यले बताइन् । झापाको काँकडभिट्टामा सञ्चालित मेची नेत्रालयले दिव्यज्योति बन्द गराउन अनावश्यक मुद्दा झेल्न बाध्य बनाएको डा.कार्माचार्यले दाबी गरिन् । स्थापना कालदेखि नै विभिन्न बहानामा मुद्दा लगाएर दुःख दिँदै आएको उनले जिकीर गरिन् ।

अस्पतालले निरन्तर सेवा दिइरहेको बताउँदै उनले भनिन्, “हामीमाझ कतैबाट पनि बन्द गर्नु भन्ने पत्र आएको छैन, किन यस्तो खेल भइरहेको छ ?” डा. मोनिकाले आफूलाई स्थानीय युवाले अस्पताल बन्द गराउन पटक–पटक धम्की दिँदै आएको बताएकी छन् ।
अस्पतालको सिफारिस रद्द गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता गरे पनि अदालतले अस्पतालको पक्षमा अन्तरिम आदेश जारी गरेको डा. मोनिकाले बताइन् । सर्वोच्च अदालतले अस्पताल सञ्चालमा ल्याइरहनु भनेर यही पुस ११ गते अन्तरिम आदेश जारी गरेको जनाइएको छ । डा. मोनिकाले सम्बन्धित निकायलाई अनुगमन गरेर यथार्थ सार्वजनिक गर्न अनुरोधसमेत गरिन् ।
मेची नेत्रालयको उजुरीका कारण सत्यतथ्य नबुझी र अनुगमन नगरी सहरी विकास तथा भवन निर्माण विभाग इलामले भवन सिफारिस रद्द गरिएको पत्र पठाएको भने सत्य रहेको अस्पताल सञ्चालक समिति सदस्य राम ओलीले बताए । उनले पैसा र चलखेल प्रयोग गरी अस्पताल बन्द गराउने नियत राखिएको कारण जस्तोसुकै संघर्ष गर्न अस्पताल सञ्चालक समिति तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा अस्पताल सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य झापाले प्रदान गरेको स्वीकृति पत्र, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन इलामले भवन सिफारिसका लागि दिएको पत्र सार्वजनिक गरिएको थियो । करोडौंको लगानीमा सञ्चालमा ल्याइएको अस्पताल बन्द गराउन लागिपरेको भन्दै अस्पतालले बन्धन मुण्डाको अध्यक्षतामा संरक्षण समितिसमेत निर्माण गरेको छ । केही समयअघि मेची नेत्रालयसँग कुनै प्रकारको बाधा नपु¥याउने विषयमा सहमति भएको कागज अहिले पनि सुरक्षित रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिव्यज्योति आँखा अस्पतालको इजाजत रद्द गरेको भन्ने सम्बन्धमा आफूहरूलाई कुनै जानकारी नआएको कारण अस्पताल निरन्तर सञ्चालनमा रहेको सञ्चालक समिति सदस्य गिता खड्काले बताइन् । अस्पतालले प्रदान गर्दै आएको सेवा सर्वसुलभ भएको दावी खड्काले गरिन् ।
सर्वोच्च अदालतले अस्पताल सञ्चालमा ल्याइरहनु भनेर अन्तरिम आदेश जारी गरेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । सञ्चालनको अनुमति दिने निकाय जिल्ला जनस्वास्थ्य कार्यालय भएकाले सेवा बन्द गर्ने वा खोल्ने सोही कार्यालयबाट हुने दाहालले बताए ।