गोपाल संग्रौला
आइतवार, फाल्गुन २७, २०७४
2300

काठमाडौं । मृगौला रोग लागेको लक्षण अन्तिम चरणमा मात्र देखिन्छ । त्यो बेलासम्म ढिलो भइसकेको हुन्छ । चिकित्सक भन्छन्, “रोग लागेर अस्पताल भर्ना भएका बिरामीको त उपचार गरौंला, तर स्वस्थ मानिसको मृगौला वर्षमा एक पटक परीक्षण गराउने संयन्त्र कसरी विकास गर्ने ?” मृगौला रोगको उपचार महगो र झन्झटिलो हुन्छ ।
मृगौला रोगले सताएका मानिसहरू अन्य व्यक्तिजस्तै साधारण देखिन्छन् । विशेषगरी खानपान, व्यायाम र विलासी जीवन जिउने कुरामा सजग रहनुपर्ने चिकित्सकको सुझाव छ । नियमित स्वास्थ्य परीक्षण नगर्दा मृगौला थाहै नपाई बिग्रिरहेको हुनसक्छ । चिकित्सकका अनुसार मृगौला ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण देखिँदैन । ९० प्रतिशत मृगौला खराब भए पहिलेकै अवस्थामा आउन गाह्रो छ । त्यसैले कतिपय मानिसको मृगौला बिग्रिरहेको छ भने पनि कुनै लक्षण नदेखिन सक्छ ।
मृगौला रोग पहिले वृद्धवृद्धाहरूमा बढी देखिए पनि हाल आएर बालबालिका तथा युवामा समेत देखिन थालेको छ । अझ धुमपान, मदिरा सेवन गर्ने ४५ वर्षमाथिका व्यक्तिहरू बढी जोखिममा रहेका छन् । तर, ७५ वर्ष माथिकालाई ५० प्रतिशत अत्यधिक जोखिम हुन्छ ।
रोग लागेर महँगो उपचार गर्नुभन्दा समयमै नियमित परीक्षण गरेर रोग लाग्न नदिनु नै आर्थिक रूपले लाभदायी हुने चिकित्सकले सुझाएका छन् । यो रोगको अन्तिम उपचार विधि भनेको मृगौला प्रत्यारोपण र हेमोडायलाइसिस नै भएकाले आम नेपालीलाई यो प्रविधि महँगो मानिन्छ ।
डायलासिस मृगौला रोगको दिर्घकालिन निदान होइन । वरिष्ठ नेफ्रोरोलोजिष्ट डा. ऋषिकुमार काफ्ले मृगौला रोगको उपचार सेवा नेपालीको सरदर आम्दानीलाई हेर्दा अत्यन्त महँगो र बिरामीका लागि झन्झटिलो भएकोले यसको खर्च साधारण मनिस र राष्ट्रले धान्न नसक्ने बताउँदै रोग लाग्न नदिन ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् ।
मृगौला रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उद्देश्यले यो वर्षको विश्व मृगौला दिवसको नारा ‘मृगौला र महिलाको स्वास्थ्य’ राखिएको छ । यो रोगको शिघ्र पहिचान तथा निदान नै मृगौला स्वस्थ राख्नुपर्नेमा चिकित्सक जोड दिन्छन् ।

को बढी जोखिममा ?
पछिल्ला दिनहरूमा मृगौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरूमा निष्कृय जीवनशैली बिताउने मानिस धेरै हुने गरेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि विदेश गएर फर्किएका नेपालीहरूको संख्या धेरै रहेको छ । विशेषगरी खाडीका गर्मी देशमा गएका मानिसमा पनि यो समस्या रहेको छ । त्यस्ता देशमा कडा परिश्रम गर्ने र सोअनुसार पर्याप्त पानी नपिएका कारण धेरै मानिसको मृगौलामा समस्या आउने गरेको चिकित्सकले बताएका छन् । विलासितापूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरू बढ्दै गएकाले मोटोपन घटाई नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

कति छन् मृगौला रोगी ?
संसारभर १० प्रतिशत मानिस मृगौलासम्बन्धी समस्याबाट पीडित छन् । यस तथ्यांकको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् करिब २७ लाख मानिसमा मृगौलासम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । यसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मृगौला बिग्रने गरेको अनुमान छ । प्रत्येक वर्ष लगभग ३ हजार मानिसको मृगौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मृगौला रोग रहेको अनुमान सरोकारवालाको छ । त्यसमध्ये करिव १० हजार जना मृगौला रोगको अन्तिम अवस्थामा पुगेका छन् भने करिब ३ हजार व्यक्ति वार्षिक थपिने गरेका छन् । राष्ट्रिय मृगौला उपचार केन्दबाट सन् १९९७ मा ७ सय २४ डायलाइसिस गराउन बिरामीहरू आएका थिए भने आर्थिक बर्ष २०१४÷२०१५ मा त्यो संख्या बढेर ४७ हजार ४ सय १९ पुगेको केन्द्रले जनाएको छ ।

मृगौलाको काम के हो ?
मृगौलाको काम शरीरबाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । यसका साथै मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउँछ । क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन सहयोग गर्ने गर्छ ।
रगत बनाउने हर्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ । सामान्य व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा दुईवटा मृगौला मेरुदण्डको दायाँ–बायाँ करङमुनि रहेको हुन्छ ।
सरकारले मृगौला सम्बन्धी जुनसुकै रोग लागेकालाई १ लाख बराबरको आर्थिक सहयोग गर्ने गरेको छ । हेमोडायलायसिस गराउनुपर्नेलाई एक वर्षसम्म निःशुल्क हेमोडायलायसिस, प्रत्यारोपण गर्नुपर्नेलाई २ लाख र प्रत्यारोपणपछिको औषधीका लागि १ लाख रुपैयाँ दिने गरेको छ । सरकारले मृगौला रोगीको उपचारमा जति खर्च गरेको छ, यसको रोकथामका लागि धेरै चासो दिएको छैन ।
एउटा बिरामीलाई झण्डै पाँच लाख रुपैयाँ खर्च गर्ने सरकारले यसबारेमा जनचेतना फैलाउन पनि आवश्यक रहेको सरोकारवाला बताउँछन् । हालै सरकारले कडा रोगबाट पीडित बिरामीको निर्वाह भत्ताबापत मासिक ५ हजार दिने तयारी पनि गरेको छ ।

मृगौला रोगका लक्षणहरू
शरीर सुन्निने, पिसाब रातो हुने, पिसाब कम हुने वा पिसाब धेरै लाग्ने ।
खाना रुची नहुने ।
वाकवाकी लाग्ने ।
शरीरमा रगत कमी हुने ।
शरीरको छाला गाढा कालो भएर जाने ।
सास फेर्न गार्हो हुने ।

मृगौला रोगबाट बच्न के गर्ने ?
रक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
सबैले वर्षको एकपटक रगत र पिसाबको परीक्षण गर्ने ।
दैनिक २ लिटरभन्दा बढी पानी पिउने ।
जथाभावी पेनकिलर नखाने ।
नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।

तथ्यांकमा मृगौला रोग
डायलाइसिस सेवा दिने स्वास्थ्य संस्था ५१
देशभर डायलाइसिस मेसिन ४१०
वार्षिक डायलाइसिस लिने बिरामी २८००
प्रत्येक वर्ष थपिने बिरामी ३०००
मृगौलाजन्य संक्रमित जनसंख्या प्रतिशत १०
मृगौला रोगको बढी जाखिम उमेर ५० भन्दा माथि

 

पुरुषभन्दा महिलामा बढी मृगौला रोग
डा. ऋषिकुमार काफ्ले
वरिष्ठ नेफ्रोलोजिष्ट, राष्ट्रिय मृगौला उपचार केन्द्र

मधुमेह र उच्च रक्तचाप भएका, धूमपानको आदत भएका, ५० वर्ष उमेर नाघिसकेका, मृगौलामा अन्य समस्या भएका व्यक्तिलाई रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा परीक्षण गर्नु अत्यावश्यक छ । यो रोग लागेको थाहा पाउन केही लक्षणहरूको ख्याल गर्नुपर्छ र निश्चित गर्नको लागि पिसाब र रगतको जाँच गर्नुपर्छ ।
मृगौला रोग पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । मृगौला रोगका कारण प्रत्येक वर्ष विश्वमा करिब ६ लाख महिलाले ज्यान गुमाउँछन् । यो रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित छन् । नेपालमा पनि महिलामा मृगौला रोगको समस्या बढ्दै गएको पाइएको छ । यसैले यो वर्ष मृगौला दिवसको नारा मृगौला र महिलाको स्वास्थ्य राखिएको छ ।
यो रोग पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गरेको पाइन्छ । १२ प्रतिसत पुरुषमा यो रोगको समस्या छ भने १४ प्रतिशत महिला यसबाट ग्रस्त छन् । गर्भवती अवस्थामा गम्भीर मृगौला रोग भएका आमा र तिनका शिशुले नकारात्मक प्रभावसँग सामना गर्नुपर्ने जोखिम बढी हुन्छ ।