रवीन्द्र भट्टराई
आइतवार, पुष २३, २०७४
2966

नेपाल धितोपत्र बोर्डले केही समयअघि ब्रोकर र मर्चेन्ट बैंकिङ कम्पनीका कर्मचारीलाई बजारको विश्लेषण गर्न प्रतिबन्ध लगायो । पत्रपत्रिकामा ब्रोकर कम्पनीका कर्मचारीले आफ्ना धारणा राख्नु कुनै अस्वाभाविक होइन । संसारभर नै ब्रोकर कार्यालयमा बजारको विश्लेषण गरिरहेका कर्मचारीले विभिन्न मिडयामा आफ्नो धारणा व्यक्त गरिरहेका हुन्छन् । तर, बजारलाई आफ्नो अनुकूल किसिमले वा आफ्ना केही ग्राहकको स्वार्थपूर्तिका लागि गरिने विश्लेषणको भने नियामकले नजिकबाट मूल्यांकन गर्नैपर्ने हुन्छ र त्यस्तो प्रवृत्तिलाई कारबाहीको दायरामा पनि ल्याउनुपर्ने हुन्छ ।
तर ब्रोकरलाई सेयर बजारको विश्लेषणमा प्रतिबन्ध लगाउँदै गर्दा बोर्डले आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्ने हुन्छ । नेपाली उखानलाई यहाँ जोड्नु सान्दर्भिक देखिन्छ । अरूको आँङको जुम्रा देख्नेले आफ्नो आङको भैंसी देख्न सक्नुपर्छ । अब यस विषयमा पनि छलफल अगाडि बढाउनु आवश्यक छ । सेयर बजारको उतारचढावका बारेमा राखिने विचारका बारेमा बोर्डका कर्मचारीको आचारसंहिता के हो ? यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन । अब यसबारेमा पनि स्पष्ट हुन जरुरी छ । सेयर बजारको विश्लेषण बोर्डका कर्मचारीले गर्न पाउने कि नपाउने ? बोर्डका प्रवक्ता हरेक दिनजसो मिडियामा सेयर बजार घटबढको विश्लेषण गरिरहेका हुन्छन् । बजार घटबढका बारेमा पत्रकारको प्रश्नको जवाफ दिइरहेका हुन्छन्, जुन हेर्दा कहिलेकाहीं उनी बोर्डको नभई बजार घटबढको प्रवक्ता हुन् कि जस्तो पनि लाग्छ । के यो जायज छ ? स्वच्छ, पारदर्शी, सुशासनयुक्त बजार विकासका लागि सहयोगी छ ? अवश्य पनि छैन । बोर्डले वर्षौंदेखि बजार विश्लेषण गरेर जसरी धारणा सार्वजनिक गरिरहेको छ त्यो गलत छ र यो दोहोरिनु हुँदैन । एउटा रेफ्रीको भूमिकामा रहेको बोर्डले यो टिमले जित्छ वा हार्छ भन्दै हिँड्ने वा बजारको विकास र लगानीकर्ताको हितमा स्वतन्त्र रूपमा काम गर्ने भन्ने स्पष्ट हुुनुपर्छ । विश्व बजारले बुझेको नियामक निकायका प्रवक्ताले बोर्ड नीति, कार्यक्रम, निर्णय, लगानीकर्ताको समस्या, त्यसको समाधानका बारेमा कुरा गर्नुपर्ने हो जस्तो लाग्छ । तर, यहाँ बोर्ड आफैं बजार घटबढको हरेक दिन विश्लेषण गरिरहेको हुन्छ ।
बोर्डले आन्तरिक रूपमा बजारको विश्लेषण गर्न सक्छ । प्रतिवेदन तयार पार्न सक्छ । तर, बाह्य रूपमा बजारको विश्लेषण गर्ने अधिकार कदापि हुन सक्दैन । यो अधिकार न बोर्डका प्रवक्तालाई छ, न त्यहाँ तलब खाएर बसेका कर्मचारीलाई । सेयर बजारमा घट्छ भन्ने र बढ्छ भन्नेको जहिले पनि मनोवैज्ञानिक युद्ध भइ नै रहेको हुन्छ, जुन सेयर मूल्यमा प्रदर्शित हुने गर्छ । नियामक निकायले त्यो कुनै पनि मनोविज्ञानलाई सघाउ पुग्ने गरी काम गर्नु न्यायसंगत हुन सक्दैन । बजारको विकास र स्थायित्वका लागि बोर्डले सरकारलाई सुझाव दिन सक्छ, तर यो किन यो बेच वा अब किन अब बेच वा बजार घट्छ वा बजार बढ्छ, यो कारणले बढ्यो, यो कारणले घट्यो भनेर विश्लेषण गर्न वा लगानीकर्तालाई निर्देशित गर्न सक्दैन । यो कार्य तत्काल बन्द गरिनुपर्छ ।
बोर्ड र ब्रोकरको कुरा गरिरहँदा बजार सञ्चालकको पनि कुरा आउँछ । सेयर बजारको सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) हो । बजार घटबढको विश्लेषण गर्ने अधिकार नेप्सेलाई चाहिन्छ कि छैन ? वा के नेप्सेका कर्मचारी, यसको कार्यकारी प्रमुख वा प्रवक्ताले बजारको विश्लेषण गर्न पाउने कि नपाउने ? भन्ने पनि प्रश्न उठ्न सक्छ । बजार सञ्चालकले कदापि बजार घटबढका बारेमा विश्लेषण गरेर आफ्ना धारणा हरेक दिनजसो मिडियामा ल्याउन सक्दैनन् । धितोपत्र बोर्ड यस विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।
बोर्ड र नेप्सेका कर्मचारीसम्बन्धी आचारसंहिता बन्न आवश्यक छ, जसभित्र उनीहरूले बजार घटबढका बारेमा बोल्न पाउन/नपाउने, लगानी गर्न पाउन/नपाउने तथा सूचनाको गोपनीयता कायम राख्नुपर्ने जस्ता विषय समेटिनुपर्छ र तत्काल लागू गरिनुपर्छ । केही दिनअघि नेपाल स्टक एक्स्चेन्जका महाप्रबन्धकले एक अनलाइन पत्रिकामा बजार घटबढको विश्लेषण गरे । यस्ता विश्लेषण यसअघि पनि हँुदै आएको छ । यो बजारको सिद्धान्त र पदमा बस्नेको नैतिकताभन्दा बाहिरको कुरा थियो । पद र ओहदामा बस्नेहरूले आफ्नो भूमिका, मर्यादा के हो भन्ने बुझ्न नसक्दा लगानीकर्ताले बजारप्रतिको विश्वास गुमाउँदै जान्छन् । यस्तै समूह जब संस्थामा प्रवेश गर्छन् अनि बजारको गुणात्मक विकास हुन सक्दैन । बजारमा सुशासन कायम हुन सक्दैन । संस्थागत सुशासनको कुरा उठाउने र पालना गराउने निकायले पहिला आफ्नै अनुशासन बुझ्न आवश्यक छ ।
जब नियामक निकाय आफै नैतिकहीन बन्छन् अनि त्यस मातहतका निकाय छाडा बन्छन् । त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण लगानीकर्ता पर्न जान्छन् । यसको पछिल्लो उदाहरण हो— नेपाल टेलिकमले बुक क्लोज सार्न गरेको निर्णय । यसअघि पनि यस्ता धेरै घटना घटिसकेका छन्, जस्तो— नेपाल इन्भेस्टमेन्ट बैंकले नगद लाभांशलाई बोनस भनी प्रकाशित गरेको सूचना, मालिका विकास बैंकको बुक क्लोजका बारेमा नेप्सेको खेलाँची आदि । यी सबै कुराबाट सिर्जित जोखिम लगानीकर्ताले बेहोर्नुपरिरहेको छ । नियामक निकाय तैं चुप मै चुप भएर बसेका छन् । बोर्डले यी कुनै विषयमा लगानीकर्ताको हितमा काम गरिरहेको छैन । यसले नियामक र कम्पनीले जे गरे पनि लगानीकर्तालाई बजार बढे पुगिहाल्छ वा उनीहरू नेप्सेको अंकमा भुलिहाल्छन् भन्ने मानसिकता बढ्दै गइरहेको देखाउँछ ।

बजारको विकास र स्थायित्वका लागि बोर्डले सरकारलाई सुझाव दिन सक्छ । तर, यो किन यो बेच वा अब किन अब बेच वा बजार घट्छ वा बजार बढ्छ, यो कारणले बढ्यो, यो कारणले घट्यो भनेर विश्लेषण गर्न वा लगानीकर्तालाई निर्देशित गर्न सक्दैन ।


बजारका संवेदनशील सूचना र त्यसको प्रसारणका बारेमा धितोपत्र बोर्ड गम्भीर बन्नैपर्छ, जसका लागि बजारलाई प्रभावित गर्ने सूचनाहरू जस्तो लाभांश घोषणा, नाफा–नोक्सान, मर्जर आदि आउँदै छ भने त्यस्तो कम्पनीको सेयर कारोबार सूचना प्रकाशित भएपछि कम्तीमा पनि आधा घण्टा रोक्नुपर्छ र त्यो सूचना नेप्सेको साइटमा प्रकाशित गर्नुपर्छ । यस्तो निर्णय वा सूचना कारोबार समयमा आए तत्काल आधा घण्टा कारोबार रोक्ने, यदि कारोबार समयपछि आए भोलिपल्ट उक्त कम्पनीको कारोबार आधा घण्टा ढिला खोल्ने वा बिदाको दिन सूचना आए कारोबार खुलेको दिन आधा घण्टा ढिला कारोबार खोल्ने । यस्ता सूचना नेप्सेको वेबपेजमा आधा घण्टासम्म प्रकाशित गर्दा कम्तीमा बजारका बारेमा चासो राख्ने लगानीकर्तासम्म त्यस्तो सूचना पुग्न जान्छ र तत्काल किन्ने र बेच्ने दुवैले सुसूचित निर्णय गर्न सक्छन् । गलत सूचना रहेछ भने सच्याउन समय हुन्छ । यदि यो नगर्ने हो भने नेपाल टेलिकम वा नेपाल इन्भेस्टमेन्ट बैंक काण्ड दोहोरिरहन्छन् । लगानीकर्ता सधैं मारमा परिरहन्छन् ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)