कारोबार संवाददाता
बिहिवार, माघ ३, २०७५
513

वास्तवमा नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल हो । यो कुरा बेला–बेला विदेशी सञ्चारमाध्यम र विश्वका विभिन्न क्षेत्रमा यात्रा गर्ने/गराउने विभिन्न संघ/संस्थाले गर्ने गरेको सर्वेक्षण र उनीहरूले हाम्रो देश नेपाललाई पनि कहिले एक, कहिले दुुई, कहिले तीन, कहिले चार, कहिले पाँच नम्बरमा वा २० औं, २५ औं स्थानभित्र पार्ने गरेकाले पनि देखाउँछ ।
त्यस्तै साहसिक पर्यटनका लागि पनि नेपाल विश्वको एक नम्बरमा नै पर्न आउँछ भन्दा फरक पर्दैन । तर, यस मामिलामा सर्वेक्षण नै भने भएको छैन । निश्चय नै पर्यटनसम्बन्धी कुनै पनि संघ–संस्थाले साहसिक पर्यटनका सम्बन्धमा सर्वेक्षण गरेमा नेपाल साहसिक पर्यटनका लागि पनि विश्वकै नम्बर एक गन्तव्यमा पर्दो हो ! किनभने हाम्रो देश नेपालमा साहसिक पर्यटनका लागि शेर्पेनी कोल, आमा लाप्चा पास, टासी लाप्चा पास, मिङमाला पास, सेलेले पास (कञ्चनजंघा), थोरोङ पास, लार्के पास, नार/फु, चोला पास, रिञ्जोला पास, कागमारा पास, धम्पुस पास, थापा पास, नुमला–बगाला, छार्काभोट पास (माथिल्लो डोल्पाबाट मुस्ताङ निक्लने), गोसाइँकुण्ड पास, गाञ्जाला पासलगायत कयौं घाँटी/पास/कोलहरू रहेका छन्, जुन घाँटी/पास/कोलहरू साहसिक पदयात्रा गर्ने पर्यटकका लागि रोमाञ्चक र चुनौतीपूर्ण हुन्छ । सितिमिति खालका पर्यटकहरूले त यस्ता साहसिक पदयात्रामा जान हत्तपत्त आँट नै गर्दैनन् ! हो, नेपालको त्यस्तै घाँटी/पास/कोलमध्येमा पनि नेपालको सबैभन्दा उच्च हिमाली क्षेत्र पार गरेर पदयात्रा गरिने ‘शेर्पेनी कोल’का बारेमा यहाँ छोटो चर्चा गरिएको छ ।
पहिले–पहिले हिले–तुम्लिङटार हुँदै वा जिरी नाम्चे हुँदै पैदल मार्ग अथवा काठमाडौं–विराटनगर–तुम्लिङटार वा काठमाडांै–फाप्लु–लुक्ला (हाल तेन्जिङ–हिाली नामकरण गरिएको) हुँदै हवाईजहाजमार्फत पदयात्रीहरू जान्थे भने हाल केही पदयात्री ‘ग्रेट हिमालय ट्रेल’को रुट भएर पनि जान्छन् । जे होस्, शेर्पेनी कोल जान चाहने कुनै पदयात्रीको समूह लुक्ला, क्षेत्र–ला, खारे, मेरा–ला हुँदै तुम्लिङटार निक्लन्छन् । कोही मेरा–लाबाट आम्फु लाप्चा हुँदै छुकुङ री निक्लेर लुक्ला नै फर्कन्छन् । कतिपय शेर्पेनी कोल जाने पदयात्रीहरू तुम्लिङटार हुँदै पनि जान्छन् । स्मरणीय छ, तुम्लिङटार विश्वकै होचो उपत्यका पनि हो ।
पहिले–पहिले अधिकांश विदेशी पर्यटकहरू तुम्लिटारसम्म हवाईजहाजमा जान्थे । हाल यातायातको सुविधाका कारण नुम, चिचिलासम्मै पनि गाडीबाट जान सकिन्छ । यो पदयात्रामा जाने पदयात्रीहरूले तुम्लिङटारबाट खाँदबारी, मानेभज्याङ–चिचिला–नुम–टासी गाउँ–खोङ्मा डाँडा–तुम्बुक–याङले खर्क–हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गर्छन् । तुम्लिङटारलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ ।

तुम्लिङटार केवल संसारको होचो उपत्यका मात्र नभएर करिब ६ सय प्रजातिका चरा–चुरुङ्गीको बासस्थान पनि हो ।

त्यति मात्र होइन, कतिपय नेपालमा मात्रै पाइने जातका चरा पनि यहाँ पाइन्छन् ।
यो पदयात्रा मार्गमा विभिन्न उपमार्गहरू पनि चल्तीमा छन् तापनि मानेभन्ज्याङ, चिचिला, नुम, सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, नुम्बुक, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल (६ हजार १ सय २५ मिटर) बढी चल्तीमा छ । शेर्पेनी कोल (६ हजार १ सय २५ मिटर) मा एक दिन क्याम्प गर्नुपर्छ । यो ठाउँ सीधा भिरालो ठाउँमा छ । यहाँ सधैं हिउँ नै हिउँले ढाकेको हुन्छ । नीलो जमेको हिउँको ढीक्का ‘ब्ल्यू आइस’को बाटो भएर हिंड्नुपर्छ । अर्को दिन ५ हजार २ सय मिटरको हाराहारीमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नु पर्छ । टासी गाउँपछि खर्क–चउर मात्रै छ । हिलारी बेस क्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४ हजार २ सय मिटरको उचाइ छ ।
शेर्पेनी कोल र बरुणत्चे–१ (६ हजार २ सय मिटर) को सेरोफेरोमा पदयात्रीहरू यात्रा गर्दाको दिन खुबै सास्ती खेपिरहेका हुन्छन् । किनभने हिउँमाथि यात्रा गरिरहेका हुन्छन् । भारी बिसाउन/आराम गर्नका लागि ठाउँ पनि हुँदैन । थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास लिन्छन् । यो बेला उनीहरूको हालत हेरि नसक्नुको हुन्छ । सबैभन्दा दुःख भरियाहरूको हुन्छ ।
उच्च हिमाली भेगमा अक्सिजनको कमी र चिसो बढी हुने र त्यही कारण फोक्सोले कम काम गर्ने हुनाले सास फेर्न गाह्रो भएर स्वाँस्वाँ हुने र बढी चिसोका कारण दिमागमा पानी जम्ने सम्भावना हुने हुनाले कोही कोही सिकिस्तै बिरामी हुन्छन् । केसैकसैको ज्यानै जान्छ । कोही पास गर्ने क्रममा ढंग नपुगेर डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् ! हुन पनि लगभग ५–६ सय मिटरजति डोरी टाँग्नुपर्छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे आउने दिन । यो दिन मान्छे, खाना, पाल, बेडिङ प्रायः सबै सरसामान डोरीबाट पास गर्नुपर्छ । कतिपय भरियाले खानाको भारी छोडेर हिँड््छन् । ज्यानभन्दा ठूलो के नै हुन्छ र ? त्यसरी छाडेको खानाहरू बीचबाटोमा प्रशस्तै देख्न/भेट्न सकिन्छ । बाटोमा मान्छेको कैयौं लास (खास गरी नेपालीको) देख्न सकिन्छ ।
वास्तवमा गाईड/शेर्पाहरू टेक्निकल्ली र फिजिकल्ली तगडा भएनन् भने यो यात्रामा धेरै नै कठिनाई आइपर्छ । डोरी कसले टाङ्ने ? भरियालाई कसले सहयोग गर्ने ? गु्रपलाई कसले डोर्याउने ? दिउँसोको चर्को घाममा हिउँ टल्किएर केही देखिने होइन । अनि डोरीबाट मान्छे र सामान झार्ने क्रममा तल बस्ने साथीले गलत संकेत दियो भने दुर्घटना पक्का ? त्यसैले यो मार्गमा पदयात्रा गर्न सफल भएमा जुनसुकै पर्यटक पनि आफुलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यसरी शेर्पेनी–कोल पासजस्तो उच्च क्षेत्रमा रहेको खतरापूर्ण पदयात्रा गर्न सफल भएको खुसीयालीमा लुक्ला आएको दिन (अन्तिम दिन) कार्टुनका कार्टुन बियर फोर्छन् । यात्रा अवधिभरको दुःख–कष्ट बिर्सेर मजा लिन्छन् । रमाइलो गर्छन् । कमाइ गर्न/रकम बचत गर्न सके भविष्यमा पुनः दोहो¥याएर आउने वाचा गर्दै लगभग एक महिना सँग–सँगै रहेका आफ्ना स्टाफ (नेपाली) हरूसँग बिदावारी भएर लुक्लाबाट चिलगाडी हुँदै काठमाडांैतर्फ उड्छन् ।
जसरी सन् २०१८ मा लगभग १२ लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आए, त्यसरी नै आगामी दिनमा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढने देखिन्छ । त्यसैले सकेसम्म नेपाल भ्रमणमा आउने धेरैभन्दा धेरै पर्यटकलाई शेर्पेनी कोल, आमा लाप्चा पास, टासी लाप्चा पास, मिङमाला पास, सेलेले पास (कञ्चनजंघा), थोरोङ पास, लार्के पास, नार/फु, चोला पास, रिञ्जोला पास, कागमारा पास, धम्पुस पास, थापा पास, नुमला–बगाला, छार्काभोट पास (माथिल्लो डोल्पाबाट मुस्ताङ निक्लने), गोसाइँकुण्ड पास, गाञ्जाला पासलगायत साहसिक पदयात्रातर्फ आकर्षित गर्न सके नेपाली पर्यटनमा अरु बढी रोजगारी र आम्दानी बढ्ने थियो । किनभने हाल जति धेरै विदेशी पर्यटक नेपाल भ्रमणमा आए तापनि अधिकांश आफु खुसी पदयात्रामा जानेहरू छन् भने केहीले स्टाफ लगे तापनि ‘टी हाउस ट्रेक’ गर्ने भएकाले एक जना विदेशी पर्यटक बराबर बढीमा दुई जनाले मात्रै रोजगारी पाउँछन् । तर, माथि उल्लिखित साहसिक पदयात्रा मार्गमा त एक जना कम्तीमा पनि चार–पाँच जनाले रोजगारी पाउँछन् । किनकि पदयात्रामा चाहिने धेरै जसो खाद्यान, पाल, बेडिङ, टेबुल, कुर्सी आदि सरसामान काठमाडांैबाटै लग्नुपर्ने भएकाले पनि यसरी चार–पाँच जनाले भारी बोक्ने काम पाउँछन् भने गाइड/सरदार, कुक, शेर्पा, किचन ब्वाइ, स्पेर ब्वाइ आदिले पनि काम पाउँछन् ।