उदय रानामगर
शुक्रवार, माघ ४, २०७५
950

पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ ।

नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेको छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । यहाँ भू–बनोटका हिसाबले ६० मिटर देखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइ भएको भूबनोट छ भने २८ वटा हिमशृखंला पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका छन् । यहाँ ५ हजार १ सय ६० प्रकारका फूल तथा १ सय ८५ जातका माछा पाइन्छ । यहाँको हावापानी फरक–फरक छ । प्रत्येक १० किलोमिटरको अन्तरमा फरक–फरक हावापानी पाइन्छ । यहाँ १ सय १८ वटा पारिस्थितिक प्रणाली पाइन्छन् । २३ वटा पारिस्थितिक प्रणाली तराईमा र ५२ वटा मध्यपहाडमा छन् भने ३८ प्रकारका पारिस्थितिक प्रणाली हिमाली भागमा अवस्थित छ । त्यसैगरी सांस्कृतिक रूपमा पनि धनी रहेको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी छन् । यी क्षेत्रका आधारमा हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना भने प्रशस्त छ ।
पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो उद्योगको माध्यमद्वारा देश विकासको गतिलाई तीव्रता दिने महŒवपूर्ण औजारका रूपमा रहेको छ । पर्यटन क्षेत्रमा भएको अध्ययनले समेत आर्थिक वृद्धि र पर्यटन उद्योग बीचमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तारले आर्थिक वृद्धि हुने पाइएको छ । नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुला गरेपछि सुरु भएको तर यसको विकास तथा विस्तार भने वि.सं २००७ को ऐतिहासिक परिवर्तनपछि नै भएको हो । पर्यटन नेपालका लागि लाभको क्षेत्र हो, तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन, जसको कारणले यो क्षेत्रबाट आशातीत रूपमा उपलब्धि हासिल भएको छैन । विश्व पर्यटन संगठनका अनुसार सन् २०१८ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशतको हाराहारीमा हुने अनुमान छ । तथापि यस क्षेत्रमा पर्याप्त लगानी हुन सकेको छैन । यो क्षेत्र भनेको रु. १ खर्च गरेर रु् ६० सम्म आम्दानी गर्न सकिने सम्भावना भएको क्षेत्र हो । ३ जना पर्यटक नेपालमा आउँदा १ जनालाई रोजगारीको सिर्जना हुने अध्ययनले देखाएको छ । यसले नेपालको बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्न सघाउँदै आएको छ । नेपालमा आउने पर्यटकको बसाइ औसत १२.५७ दिन र प्रतिदिन प्रतिव्यक्ति ४२.८ अमेरिकन डलर खर्च गर्ने गरेको छ । उता छिमिकी मुलुक भुटानले गुणस्तरीय पर्यटनलाई प्राथमिकता दिएकाले त्यहाँ प्रतिदिन प्रतिपर्यटक २ सय अमेरिकी डलर खर्च गर्ने गरेका छन् । नेपालले भने संख्यामा मात्र ध्यान दिएका कारण पर्यटकीय क्षेत्रको विकास र विस्तारमा प्रभावकारिता आउन सकेको छैन । नेपालमा आउने पर्यटनको संख्या भने उल्लेख्य रूपमा अहिले पनि बढ्न सकेको छैन । सन् २००० देखि २००८ सम्मको अवस्था हेर्दा पर्यटकको औसत वृद्धिदर मात्र ३.८ प्रतिशत छ । सन् २००६ मा नेपालमा पर्यटक आगमन ३ लाख ८३ हजार ९ सय २६ थियो । सन् २०१४ मा ४ लाख ४ हजार ५ सय २५, सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७०, सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या वृद्धि हुँदै ९ लाख ४० हजार २ सय १८ पुग्यो भने सन् २०१८ को अन्त्यसम्ममा १० लाखभन्दा बढी पर्यटक आइसकेका छन र सन् २०२० मा २० लाख नेपाल भिœयाउने लक्ष्य छ । नेपालमा आउने पर्यटकमध्ये पनि पदयात्री पर्यटकको संख्या बढी नै हुने गरेको छ । पदयात्री पयर्टकबाट राजस्व असुली पनि उल्लेख्य छ । अध्यागमन विभागको रेकर्डअनुसार आव ०७४÷७५ मा पदयात्री पर्यटकबाट असुली १५.७३ प्रतिशत राजस्व छ । तर, यो अंक आव ०७३÷७४ मा १८.३१ प्रतिशत थियो । पर्यटन व्यवसायका लागि नेपाल उपयुक्त स्थानका रूपमा विकास हँुदै आएको छ । सन् २००६ मा नेपाल व्यवसाय गर्न सहज मुलुकको सूचीमा ९० औं स्थानमा रहेको थियो भने सन् २००७ मा १०० औं स्थानमा र सन् २०१७ मा १ सय १० औं स्थानमा पुगेको छ । त्यसको साथै पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १ सय ३ औं स्थानमा छ । चीन र भारतजस्तो विशाल जनसंख्या भएको मुलुकको बीचमा अवस्थित नेपालले यस अवसरको भरपुर सदुपयोग लिने सम्भावना त्यत्तिकै छ । यो सबै तथ्यले नेपालमा पर्यटन व्यवसायका लागि सहज वातावरण बन्दै आएको छ भन्न सकिन्छ ।

नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउनु भनेको साँच्चिकै चुनौतीपूर्ण छ । संघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नका लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तर, अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कका कारण पर्यटन उद्योग बढी नै मात्रामा प्रताडित हुँदै आएको छ । यसको व्यवस्थापन र रोयल्टीको बाँडफाँड तथा लगानी व्यवस्थापनको विषय चुनौतीपूर्ण छ । सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरूपता छैन । निजी क्षेत्रबाट भएको लगानीलाई एकीकृत र सरकारी प्राथमिकताका आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ । पर्यटन क्षेत्रमा खपत भइरहेको खाद्यान्नलगायतका सामाग्रीहरू आयातित नै भएको हुँदा आशातीत रूपमा फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा साहसिक खेल बन्जी जम्पिङ, हाइकिङजस्ता खेलको प्रयोग गरी पर्यटन आकर्षण गर्न सकिएन । पर्यटन क्षेत्रका साझेदारहरू एवं लगानीकर्ताहरू पर्यटन विकासभन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेन, स्थानीय निकायको संलग्नतामा पर्यटनसम्बन्धी नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटनसम्बन्धी बन्ने नीतिमा अपनत्व भएन र प्रभावकारितामाथि प्रश्न उठ्यो, पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत्, सञ्चार, खानेपानीसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन सकेन ।
पर्यटन उद्योगको विकास र विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्न यस क्षेत्रमा लगानी बढाउने, पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्छ । पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रर्वद्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गरिनुपर्छ । पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यापर्यटनमा जोड दिदै नयाँ पर्यटकीय गन्तव्यस्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधारको विकास गरिनु आवश्यक छ । पर्यटनको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गर्नुपर्छ । पर्यटन क्षेत्रबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधिकरण गर्ने, पर्यटन प्रर्वद्धन गर्न छिमेकी देशहरू चीन तथा भारतलाई केन्द्रीत गरी व्यापक रूपमा प्रचार प्रसार गरिनुपर्छ । पर्यटकहरूलाई उपलब्ध गराइने सेवासुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नुपर्छ ।
पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागितामा चाहिन्छ । साथै पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनुपर्छ । यसका लागि नया ापर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरूको विकास गरी कनेक्टिभिटी बढाउनु त्यत्तिकै आवश्यक हुन्छ । यसका अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटनलाई प्रवद्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएको खण्डमा पर्यटन उद्योगको माध्यमद्वारा देशको अर्थतन्त्रमा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यसम्म पुग्न सकिन्छ ।