कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
307

प्रमुख पार्टीको सहभागिता बिना नै थाइल्यान्डमा आइतबार बहुप्रतीक्षित निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयासस्वरूप हुन लागेको निर्वाचनमा प्रमुख दल नै सहभागी नभएपछि निर्वाचनको पूर्णता माथी नै संशय उत्पन्न भएको छ ।
देशका दुई जना पूर्व प्रधानमन्त्रीको पार्टी नै विघटन गरेर गरिएको निर्वाचनमा कति मतदाताको सहभागिता रहला र कति जनताको समर्थन रहला भन्ने संशय उत्पन्न भएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुन नपाएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई हप्ता बाँकी रहँदा अदालतले रक्षा चार्ट पार्टी विघटनको फैसला गरेको थियो । थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको हो । संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेका थिए ।
अर्बपति थाई नेता थाक्सिन सिनावात्रा थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व मानिन्छन् । उनलाई सेना र बैंककस्थित धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रमा लोकप्रिय छन् । सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्युत गरिएको थियो तर सन् २०१४ मा उहाँकी बहिनी यीङ्लकको सत्तामा पुनरागमन भएको थियो । केही समयमै उनलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो । त्यसपछि पाँच वर्षदेखि सैनिक नेता प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरका छन् । चुनावमार्फत नागरिक नेताका रुपमा स्थापित हुन उनले गराउन लागेको लोकतान्त्रिक भनिएको निर्वाचन नै प्रमुख दलबिना हुन लागेको हो ।
थाइल्यान्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ताअगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेपछि मुख्य दल निर्वाचनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको हो । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए ।
थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना थियो । सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता थाइल्यान्डमा प्रधानमन्त्रीका रूपमा कुनै पनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् । थाई राजतन्त्रलाई परम्परागत रूपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक संकट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।
तत्कालीन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरत्नालाई सन् १९७२ मा राजपदवी दिइएको थियो । उबोलरत्नाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । तर, जेन्सनसँग सम्बन्ध विच्छेदपछि उनी पुनः थाइल्यान्ड फर्किइन् र उनलाई पुनः राजपरिवारकै सदस्यको सम्मान दिइएको छ । त्यो सम्मान अहिलेसम्म कायमै रहेकाले उनले राजनीतिमा लाग्न नमिल्ने राजाको भनाइ थियो । राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको तर्क थियो ।
राजाको यही आशयका आधारमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा ग¥यो । थाइल्यान्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ ।
आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि ६७ वर्षीया राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार नबन्ने बताएकी थिइन् । उनले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण उम्मेदवारी घोषणा गरेको बताइएको छ । यसरी राजपरिवारलाई विवादमा पारेको र गलत राजनीतिक चलखेल गरेको भन्दै रक्षा दललाई निर्वाचनमा भाग लिन नपाउने गरी अदालतले बन्देज लगाएको हो । अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेतालाई एक दशकसम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ । सरकार प्रमुख तथा सैनिक नेता प्रयुतले भने प्रधानमन्त्री पद्का लागि उम्मेदवारी घोषणा गर्दै फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यीङ्लक सिनावात्रादेखि पटक पटक सर्दै आएको निर्वाचन आइतबार हुन लागेको हो । त्यसको पूर्वअभ्यास स्वरुप अघिल्लो आइतबार नमुना मतदान भएको थियो । मतदानमा उल्लेख्य सहभागिता रहेको थियो ।
–जीवन भण्डारी-रासस