आक्रामक पुंजीवृद्धि र पुंजी पर्याप्तता
दिलीपकुमार मुनंकर्मी
आइतवार, माघ २८, २०७४
1337

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकहरूले मुनाफा तथा अन्य वितरणयोग्य कोषहरूको रकम परिचालन गरेर यथाशक्य बोनस सेयर जारी गरे भने उल्लेख्य परिणाममा हकप्रद सेयरसमेत बिक्री गरे । केही बैंकहरू मर्जर र प्राप्तिमा गए । तैपनि आव ०७४-७५ को दोस्रो त्रैमाससम्म १९ वटा बैंकले मात्र तोकिएको पुँजी पुर्याए, ९ वटा बैंक पुँजी जुटाउन प्रयासरत छन् । हुन त बैंकहरूको पुँजी कति चाहिन्छ भन्ने पुँजी पर्याप्तता मापदण्डले निर्देशन र नियन्त्रण गर्छ । यस आव (०७४-७५) को पुस मसान्तकोे बैंकहरूको समग्र पुँजी पर्याप्तता दर हेर्दा हाल गरिएको पुँजीवृद्धि केहीका लागि नपुग र केहीलाई बढी भएको देखिन्छ ।
चुक्ता पुँजीको अवस्था : चुक्ता पुँजी वृद्धिसँगै बैंकहरूले आक्रामक पुँजी विस्तार रणनीति अपनाएको देखिन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये कृषि विकास, सिटिजन्स, एभरेस्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, लक्ष्मी, माछापुच्छ, नबिल, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, नेपाल एसबीआई, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, सानिमा, स्ट्यान्डर्ड चार्टर र सनराइज बैंक गरी १९ वटाले तोकिएको ८ अर्ब चुक्ता पुँजी पुर्याएका छन् ।
अझै बैंक अफ काठमाण्डू (बीओके), एनएमबी, सिद्धार्थ, प्रभु, कुमारी, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी), मेगा, सेन्चुरी र सिभिल गरी ९ वटा बैंक पुँजी पु¥याउन प्रयासरत छन् । बीओके, मेगा, सेञ्चुरी र सिभिलले बोनसबाटै पुँजी पु¥याउने बताएका छन् । एनएमबीले एफपीओ र बोनस, सिद्धार्थले १० प्रतिशत हकप्रद र १४ प्रतिशत बोनसबाट पुँजी जुटाउनेछ । प्रभुले ४० प्रतिशत, कुमारीले २० प्रतिशत र एनसीसीले ५० प्रतिशत हकप्रद जारी गरी नपुग बोनसबाट चुक्ता पुँजीको व्यवस्था गर्नुपर्नेछ ।
गत आवको दोस्रो त्रैमाससम्म १ खर्ब ४४ अर्ब रुपैयाँ हाराहारी रहेको बैंकहरूको कुल चुक्ता पुँजी करिब ७० अर्ब बढेर २ खर्ब १४ अर्ब पार गरेको छ । बैंकहरूको शून्यदेखि २४६.७७ प्रतिशत र समग्र बैंकहरूमा गत पुस मसान्तभन्दा ४८.६ प्रतिशतले चुक्ता पुँजी बढेको छ । १० अर्ब ६२ करोड रुपैयाँको चुक्ता पुँजीसहित नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा पहिलो र एनसीसी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँसहित अन्तिम स्थानमा छ ।
जगेडा कोष : चुक्ता पुँजीसँगै जगेडा कोष पनि १६ अर्ब ६४ करोडले वृद्धि भएर पुस मसान्तमा १ खर्ब ०३ अर्ब २० करोड पुगेको छ । यस अवधिमा जनता बैंकले सबैभन्दा बढी २ सय २१ प्रतिशतले जगेडा कोष बढाएको छ भने लक्ष्मी बैंकको ५० प्रतिशतले घटेको छ । प्राइम, नेपाल एसबीआई, कृषि विकास र माछापुच्छ«े बैंकको जगेडा कोष गत वर्षको पुस मसान्तभन्दा घटेको छ । जगेडा कोषमा ९ अर्ब ९१ करोड रुपैयाँसहित नेपाल इन्भेस्टमेन्ट अब्बल र सबैभन्दा कम १ अर्ब रुपैयाँसहित जनता बैंक कमजोर देखिएको छ ।
पुँजीकोष वा पुँजी पर्याप्तता : बैंकको व्यावसायिक क्षमताको आधार रहेको पुँजीकोषले नै पुँजी पर्याप्तता जनाउँछ । पुँजी कानुनतः तोकिएको अवस्थामा सोही बमोजिम र सामान्यतः पुँजीभारले थिचिने वा पुँजी नपुगेर व्यवसाय नचल्ने होइन, ठिक्क हुनुपर्छ । विद्यमान व्यवस्थानुसार बैंकहरूको पुँजीकोष न्यूनतम ११ प्रतिशत हुनुपर्छ । व्यवसाय विस्तार र जोखिमको आधारमा केही थप पुँजीगत सबलता ध्यान दिँदा १४–१५ प्रतिशतसम्मको पुँजीकोषलाई ठिक्क मान्न सकिएला । यस आधारमा ११.२४ देखि १५ पुँजीकोष भएका १७ बैंकहरूको पुँजीलाई ठिकै मान्न सकिन्छ । सिटिजन्स, बीओके, कृषि विकास, माछापुच्छरे , एभरेस्ट, नेपाल बैंक, जनता, सिभिल, मेगा, सेन्चुरी र स्ट्यान्डर्ड चार्टरसँग व्यावसायिक आवश्यकताभन्दा बढी पुँजीकोष देखिन्छ । पुँजीकोषका आधारमा सबैभन्दा बढी २२.९६ सहित स्ट्यान्डर्ड चार्टर बलियो र ११.४३ रहेको ग्लोबल आईएमई केही कमजोर देखिन्छ । बैंकहरूले अब व्यवसाय विस्तारसँगै पुँजीकोष सबल बनाउन वैकल्पिक स्रोतहरू डिबेन्चर, अग्राधिकार सेयर वा जगेडा कोष बढाउन ध्यान दिनुपर्नेछ ।
निक्षेप : एक वर्षमा जनता बैंकको निक्षेप सबैभन्दा बढी १०६ प्रतिशतले बढेको छ भने नविल बैंकको ०.३९ प्रतिशतले बढेको छ । मर्ज वा प्राप्तिबिनाको वृद्धिदर हेर्ने हो भने एनआईसी एसिया निक्षेप ५२ प्रतिशतले बढाउन सफल भएको छ । आव ०७४-७५ को पुस मसान्तमा बैंकहरूसँग २२ खर्ब १९ अर्ब निक्षेप रहेको छ । सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकसँग १ खर्ब ४९ अर्ब रुपैयाँ छ भने सूचीकृतमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकसँग १ खर्ब २९ अर्ब रुपैयाँ र सबैभन्दा कम सिभिलसँग ३७ अर्ब छ । यसबाहेक नविल, एनआईसी एसिया, एभरेस्टर ग्लोबल आईएमई बैंकसँग १ खर्बभन्दा बढी निक्षेप छ ।
कर्जा तथा सापट : व्यवसाय विस्तारको मापक र आम्दानीको स्रोत कर्जा तथा सापटी २१ प्रतिशतले बढेर यस पुस मसान्तमा १९ खर्ब ११ अर्ब हाराहारी पुगेको छ । निक्षेप १६ प्रतिशतले बढेको तुलनामा कर्जा विस्तार दर बढी हुँदा थप कर्जा विस्तारमा कठिनाइ झेलिरहेका छन् । जनताको सबैभन्दा बढी १ सय १२ प्रतिशत र बैंक अफ काठमान्डूको सबैभन्दा कम ३ प्रतिशतले कर्जा बढेको छ । नियमित व्यवसायको आधारमा एनआईसीको कर्जा वृद्धि उच्च छ । रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकले सबैभन्दा बढी १ खर्ब १३ अर्ब रुपैयाँ तथा सबैभन्दा कम सिभिल बैंकले ३३ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापटी दिएको छ ।
खुद ब्याज आम्दानी :पुस मसान्तसम्म बैंकहरूले ४३ अर्ब ११ करोड खुद आम्दानी गरेका छन्, जुन गत आवको पुस मसान्तभन्दा ४ अर्ब ८८ करोड अर्थात् १२.७९ प्रतिशतले मात्र बढेको छ । यो कर्जा तथा सापटी वृद्धिको तुलनामा निकै कम हो ।
जनता बैंकको खुद ब्याज आम्दानी पनि सबैभन्दा बढी १ सय ३८ प्रतिशतले बढेको छ भने एनसीसीको ४३ प्रतिशतले घटेको छ । रकमका आधारमा सबैभन्दा राष्ट्रिय वाणिज्य बैंकले रु. ४ अर्ब १ करोड रुपैयाँ कमाएको छ भने सूचीकृतमध्ये नबिल बैंकले सबैभन्दा बढी २ अर्ब ९३ करोड रुपैयाँ कमाएर खुद ब्याज आम्दानीमा अग्रपंक्तिमा उभिएको छ । सबैभन्दा कम खुद ब्याज आम्दानी सिभिल बैंकको रु. ५७ करोड ८४ लाख रहेको छ ।
खुद मुनाफा : लगानीकर्ताहरूको मुख्य चासो रहने खुद मुनाफा आर्जनमा बैंकहरू खरो उत्रिन सकेका छैनन् । चुक्ता पुँजी ७० अर्ब बढ्दा खुद मुनाफा रु. २ अर्ब ८० करोड बढेको छ । समीक्षा अवधिमा बैंकहरूको खुद मुनाफा वृद्धिदर सुस्त देखिएको छ । बढ्दो कोषको लागतले पनि खुद मुनाफा घटाएको देखिन्छ ।
बैंक अफ काठमाण्डू, एनआईसी एसिया, सिटिजन्स, नेपाल बंगलादेश, माछापुच्छरे , नेपाल बैंक र प्रभुको खुद मुनाफा तुलनात्मक रूपमा घटेको छ भने एनसीसीको सबैभन्दा बढी ३५६ प्रतिशतले बढेको छ । रकमका आधारमा सबैभन्दा बढी नविल बैंकले रु. १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ कमाएको छ भने सबैभन्दा कम सिभिल बैंकले रु. २१ करोड ६९ लाख ४६ हजार मात्र कमाउन सकेको देखिन्छ ।
प्रतिसेयर आम्दानी : आक्रामक चुक्ता पुँजी वृद्धिले प्रतिसेयर आम्दानीमा नकारात्मक असर पारेको छ । गत आवको दोस्रो त्रैमासमा औसत २७.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी खुम्चिएर रु. २०.७३ मा झरेको छ । सबैभन्दा बढी प्रतिसेयर आम्दानी नबिल बैंकको रु. ४५.५७ र कम जनता बैंकको रु. ६.७९ छ । औसतमा बैंकहरूको प्रतिसेयर आय रु. २०.७३ छ ।
नेटवर्थ : पुँजीवृद्धिसँगै धेरै बैंकहरूको नेटवर्थ घटेका छन् । ८ अर्ब पुँजी पुर्यायाएका मध्ये ग्लोबल आईएमई र नेपाल बैंकको मात्र नेटवर्थ बढेको छ । नेटवर्थका आधारमा रु. २०२.९७ सहित कृषि विकास बैंक अब्बल देखिएको छ । यसैको हाराहारीमा नेपाल इन्भेस्टमेन्ट र नबिल बैंक देखिएका छन् । बैंकहरूको औसत नेटवर्थ रु. १४९.३३ छ ।
निष्क्रिय कर्जा :कर्जा २५ प्रतिशतले बढाएका बैंकहरू निष्क्रिय कर्जालाई पनि नियन्त्रण राख्न सफल देखिएका छन् । गत आव पुस मसान्तमा औसत १.५१ प्रतिशत रहेको निष्क्रिय कर्जा झिनो अंकले बढेर औसतमा १.७१ प्रतिशत पुगेको छ । सबै बैंक नियामकले तोकेको निष्क्रिय कर्जाको अधिकतम दर ५ प्रतिशत मुनि कायम राख्न सफल भएका छन् । सबैभन्दा न्यून निष्क्रिय कर्जा ०.०३ प्रतिशतसहित सानिमा बैंक अब्बल देखिएको छ भने सिभिलको उच्च ४.५२ प्रतिशत छ ।
लगानी निर्णय र बैंकहरूको वित्तीय अवस्था मापन गर्न माथि उल्लिखित सूचकहरूका साथै व्यवस्थाअघिको सञ्चालन नाफा, इक्विटीमा प्रतिफल, सम्पत्तिमा प्रतिफललाई हेर्न सकिन्छ । बैंकहरूको निक्षेप र पुँजी कोषको प्रभावकारी व्यवस्थापनबाट कर्जा तथा सापटीको आधार तय हुने र यसबाट खुद मुनाफा प्रभावित हुन्छ । अहिले पनि उल्लेख्य पुँजी बढाउँदा समेत केही बैंकलाई थप व्यवसायको विस्तारका लागि पुँजी अभाव हुने देखिएको छ । बैंकहरूले पुँजी व्यवस्थापनका लागि दीर्घकालीन रणनीति र वैकल्पिक माध्यमबाट पुँजी कोष बलियो बनाउनुपर्ने देखिन्छ ।