सेयर बजार
रमेश घिमिरे
बुधवार, कार्तिक २९, २०७४
14145

कम्पनीहरूको सेयर मूल्य अनन्त कालसम्म वृद्धि हुँदै जाँदैन । कुनै बेला तल झर्नैपर्छ । माथि जाने र तल झर्ने समय र बिन्दु पूर्वघोषणा गर्न सकिँदैन । सेयरको माग बढ्यो भने मूल्य बढ्ने र माग घट्यो भने मूल्य पनि घट्ने हो । तसर्थ सेयरको माग बढ्ने या घट्ने सही प्रक्षेपण गर्न सकियो भने सेयर बजार सूचक नेप्से परिसूचक ओरालो लाग्ने वा उकालो लाग्ने पनि पूर्वानुमान गर्न सकिन्छ ।
कसैले पनि असीमित लगानी गर्न सक्दैन । सेयर लगानीकर्ताहरूको मनोविज्ञानमा के समानता पाइन्छ भने उनीहरू भएको सेयर धितो राखेर बैंकबाट ऋण लिन्छन् र त्यो पैसाले अर्को सेयर किन्छन् । सेयर बजार एक प्रकारको नसा वा जुवा हो । बढी प्रतिफलको आशा वा गुमेको घाटा उकास्ने आशामा आफ्नो क्षमता भएसम्म मानिसहरूले लगानी गर्छन् । नेपालजस्तो सानो बजारमा कुनै संयोग यस्तो हुन्छ, जहाँ प्रायःजसो लगानीकर्ताको लगानी क्षमता चरम बिन्दुमा पुुग्छ । ठूला बजारमा भने यस्तो हुँदैन ।
बजारका नियमित लगानीकर्ताले थप लगानी गर्न नसक्ने अवस्था आएपछि सेयर मूल्य माथि जान रोकिन्छ । बैंकबाट १६÷१७ प्रतिशत ब्याजमा लिएको ऋण तिर्न क्रमशः सेयर बेच्नुपर्ने र सेयर बेचेको पैसाले नयाँ सेयर किन्न बचत नहुने अवस्था धेरै सेयरधनीलाई आइपर्छ । बजारमा सेयर बेच्न चाहनेको संख्यामा वृद्धि हुन्छ । पुराना लगानीकर्तासँग किन्ने क्षमता ह्रास भएको हुन्छ । नयाँ लगानीकर्ताले बजार घट्दो प्रवृत्तिमा छ, अझै घटेपछि किनौला भनेर पर्खन्छन् ।
जागिरबाट उपदान लिएका, सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा सापटी लिएका, विदेशबाट पैसा कमाएर आएका, पुरानो बसाइको घरजग्गा बिक्री गरेका, अन्य उद्योग व्यापारमा डुुबेका मानिसहरू सेयर बजारमा नयाँ लगानीकर्ताका रूपमा छिर्छन् । त्यसपछि क्रमशः सेयरको मूल्य पुनः उकालो लाग्न थाल्छ । ती लगानीकर्ताको पनि चरम क्षमता उपयोग भएपछि पुनः बजार तल झर्न थाल्छ ।
मूलतः यही चक्रमा सेयर बजार घुमिरहन्छ । यो बीचमा कसैले कमाउँछन् र कसैले गुमाउँछन् । संयोगवश कुनै लगानीकर्ताले हरेक सेयर खरिदभन्दा बढी मूल्यमा बिक्री गरेको छ भने उसले कमाउँछ । पर्याप्त संख्यामा कुनै लगानीकर्ताले प्राथमिक सेयर पारेको छ भने दोस्रो बजारमा घाटा भए पनि ऊ घाटामा जाँदैन । समग्रमा जसले तरल पैसा हातमा राखेर बसेको छ, उसले नाफा गर्छ । जति खेर पनि तरल पैसा हातमा हुने गरी बसेको लगानीकर्ताले कहिले पनि हतार गरेर वा चापमा परेर सेयर बेच्नु पर्दैन ।
पर्चेज अर्निङ (पीई) रेसियो १० भएको सेयर किन्नु सुरक्षित लगानी हो । तर, त्यो मूल्यमा कुनै कम्पनीको सेयर पाइँदैन । अधिकांश कम्पनीको पीई रेसियो ३० को सेरोफेरोमा छ अर्थात् कम्पनीले दिने लाभांशले ३० वर्षभन्दा बढीमा मात्र सेयर किन्दा लगानी गरेको पैसा असुल हुन सक्छ । पुँजीगत लाभ अर्थात् खरिद र बिक्री मूल्यको अन्तरबाट लगानीकर्तालाई नाफा पाए मात्र सेयरबाट फाइदा हुन्छ ।
सेयरले सिर्जना गर्ने नयाँ पुँजी अर्थात् कम्पनीबाट आउने लाभांश अत्यन्त न्यून छ । हरेक खरिदबिक्रीमा झन्डै १ प्रतिशत कमिसन काटिन्छ । पुँजीगत लाभमा ५ प्रतिशत कर जान्छ, तर घाटामा समायोजन हुँदैन । यसो हुँदा बजारमा आउनेभन्दा बाहिरिने रकम बढी हुन्छ । यसको अर्थ बजारमा धेरैले नोक्सानी र थोरैले लाभ पाउनुपर्ने अवस्था छ ।
२०७३ साउन १२ गते १८८१ बिन्दु पुुगेको नेप्से परिसूचक अहिले १४९० को हाराहारीमा झरेको छ । बजार बढ्छ कि घट्छ भन्ने अड्कलबाजी भइरहेका छन् । सबै पैसा बजारमा फसाएर तरलता शून्य भएका लगानीकर्ता मनोवैज्ञानिक प्रभाव पारेर सेयर मूल्य बढाउन चाहन्छन् । उनीहरू बजार तल झर्नुपर्ने कुनै कारण छैन, मूल्य घटाएर सेयर बेच्नु हुँदैन भन्छन् । पर्याप्त तरलता हातमा भएका लगानीकर्ता वा बजार तल्लो बिन्दुमा पुुगेका बेला प्रवेश गर्ने सोच बनाएका नयाँ लगानीकर्ताहरू बजार अझ तल झरोस् भन्ने चाहन्छन् ।
अहिले बजार र लगानीकर्ताको अवस्थाको विश्लेषण गर्दा अधिकांशको लगानी क्षमता चरम बिन्दुमा पुुगेको छ । यसको संकेत बजार अझै तल झर्छ भन्ने नै हो । नयाँ लगानीकर्ताले जति बिन्दुलाई अन्तिम मान्छन्, त्यतिसम्म तल झर्छ । पीई रेसियो औसतमा १० कायम हुने अवस्थासम्म मूल्य घट्यो भने नेप्से परिसूचक ६०० को हाराहारी आउन सक्छ । यसअघि २०६५ भदौ ११ गते चरम बिन्दु ११७५ पुुगेको नेप्से परिसूचक २०६८ असार १ मा २९२ बिन्दुमा झरेको थियो । त्यसलाई आधार मान्ने हो भने २०७६ वैशाखसम्म ४६७ बिन्दुमा झर्ने देखिन्छ ।
२०७४ असारसम्म वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकले २.५ अर्ब र फाइनान्स कम्पनीले ८० करोड चुक्ता पुँजी प¥ुयाइसक्नुपर्ने बाध्यात्मक व्यवस्था थियो । त्यस्तै, २०७५ असारसम्म जीवन बिमा कम्पनीले २ अर्ब र निर्जीवन बिमा कम्पनीले १ अर्ब चुक्ता पुँजी प¥याउनुपर्ने व्यवस्था छ । धेरै कम्पनीले उल्लेख्य परिमाणमा हकप्रद सेयर जारी गरेर पुँजी बढाइरहेका छन्, जसले गर्दा कम्पनीहरूको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा घटेको छ ।
तोकिएको पुँजी पुुगेपछि प्रतिसेयर मुनाफाको अनुपात पुनः वृद्धि हुनेछ । तथापि नियामक निकायले पुँजी आधार पुनः वृद्धि गर्न निर्देशन दिन सक्ने सम्भावना रहन्छ । यसअघि २०७० असारसम्म वाणिज्य बैंकलाई २ अर्ब, विकास बैंकलाई ६४ करोड र फाइनान्स कम्पनीलाई २० करोड रुपैयाँ चुक्ता पुँजी पुु¥याउनुुपर्ने बाध्यात्मक व्यवस्था थियो ।
पक्का मुनाफा हुन्छ भनेर कसैले भनेको भरमा बजारमा प्रवेश गर्नु हुँदैन । औसत पीई रेसियो १० भएका बेला बजारमा प्रवेश गरियो भने मात्र मुनाफाको ग्यारेन्टी गर्न सकिन्छ । सही विश्लेषण गरेर मुनाफा कमाउँछुु भन्नु पनि भ्रम मात्रै हो । एक जनाले जुन मूल्यमा बिक्री गर्दा आफूलाई लाभ छ भनेर विश्लेषण गर्छ, अर्कोले त्यही मूल्यमा किन्दा लाभ छ भनेर विश्लेषण गर्छ । दुवै सही त पक्कै हुँदैनन् । उल्लिखित कुरा बुुझेर बजारमा लगानी गर्नु श्रेयस्कर मानिन्छ । -- रमेश घिमिरे