व्यवसायमा पारदर्शिता र सदाचारको महत्व
टेरेसा केरिङ्टन
सोमवार, बैशाख ३१, २०७५
3893

हिमालय पर्वत शृङ्ला वर्षको एक मिलिमिटर अग्लन्छ । पृथ्वीको भित्री सतहको गहिराइबाट भौगर्भिक शक्तिले पर्वतलाई बिस्तारै तिब्बती पठारमा धकेलिरहेको छ । नगरकोटस्थित म बसेको होटलको झ्यालबाट देखिएको हिमालयको दृश्य मनमोहक छ । हिमाललाई हल्लाउन कति ताकत चाहिएला, म बुझ्न सक्दिनँ । तर, मैले नेपालमा व्यापार गर्न चाहेँ भने त्यस्तै बल जुटाउनुपर्छ ।
नेपालस्थित अमेरिकी दूतावासले मलाई यहाँ आमन्त्रण गरी सामाजिक उद्यमी, व्यापारिक अगुवा र विद्यार्थीहरूसँग भेट्न र नेपालमा व्यवसायको सुरुवात र व्यवस्थापन गर्दा उनीहरूले सामना गर्ने चुनौतीहरूको विषयमा बुझ्ने अवसर दिएको थियो । यी परिश्रमी स्वदेशी र विदेशी उद्यमीहरू असल नेपालको निर्माणमा योगदान गर्न चाहन्छन् । अमेरिकाको नेपाल ट्रेड प्रेफरेन्सेस कार्यक्रम (एनटीपीपी) ले उनीहरूको व्यवसायलाई खास गरी पारदर्शी आपूर्ति शृङ्खलासँग जोडेर कसरी बढाउन सहयोग गर्न सक्छ भन्नेबारे जानकारी गराउन पाउँदा मलाई खुसी लाग्यो । तर, मैले गरेका सम्पूर्ण वार्तालापहरूबाट व्यापार र सरकारबीच सम्बन्ध नजोडिएको देखियो । नेपालले आफ्नो आर्थिक सम्भावना फुकाउनका लागि मुलुकलाई प्रतिबद्ध उद्यमी र उनीहरूका लागि अनुकूल वातावरण बनाउने सरकारको खाँचो छ ।
टेन बाई थ्री नामक मेरो संस्थाले विपन्न उत्पादकहरू पत्ता लगाई उनीहरूलाई हस्तकला सामग्रीका निम्ति प्रोस्पेरिटी वेज (समृद्धि ज्याला) तिरेर दिगो रूपमा गरिबी अन्त्य गर्छ । समृद्धि ज्याला हामीले आविष्कार गरेको नमुना हो, जसले उत्पादकलाई कम्तीमा पनि फेयर ट्रेड (स्वच्छ व्यवसाय) ज्यालाको साढे दुई गुना बढी ज्याला प्रत्याभूत गर्छ । हामीले काम गर्ने सातमध्ये बंगलादेशजस्ता केही देशमा हामी स्वच्छ व्यवसायको ६ गुना बढी भुक्तानी दिन्छौँ । हामीले आविष्कार गरेको आर्टिसन एन्ड यू नामक पारदर्शी आपूर्ति शृङ्ला प्रविधि मञ्चमार्फत उत्पादकको नाम र तस्बिर उनीहरूले बनाएको हरेक वस्तुमा टाँसिन्छ । हामीले उनीहरूका वस्तु अमेरिकामा आयात गरेपछि उनीहरू र उनीहरूका वस्तु खरिद गर्ने अमेरिकी ग्राहकबीच चिठीपत्र आदानप्रदान हुन्छ । नेपालका विपन्न उत्पादकलाई यस्ता नमुना तथा पारदर्शी प्रविधिले समृद्धितर्फ डोराउन सक्छन् र नेपाल ट्रेड प्रेफरेन्सेस कार्यक्रमले त्यस कार्यलाई पूर्णता दिन सक्छ । मेरो संस्थाले हरेक वर्ष संसारभरका विभिन्न देशबाट अमेरिकामा लाखौँ हस्तकला सामग्री आयात गर्छ । त्यसैले पनि मैले नेपाली निर्यातको विषयमा सोधखोज गरेँ ।
धेरै नेपाली उद्यमीले मलाई नेपालबाट वस्तु निर्यात गर्दा पूरा गर्नुपर्ने ३७ विरक्तलाग्दा कदमका बारेमा सुनाए । उद्यमीहरूलाई एक जना सरकारी कर्मचारीसँग भेट्न भनिन्छ, जसले उनीहरूको निर्यात कागजपत्रमा छाप लगाइदिन्छ र अर्को छापका लागि अर्को कर्मचारीकहाँ जान भन्छ । त्यो कर्मचारीले फेरि पहिलेकै कर्मचारीकहाँ जान भन्छ आदि–आदि । अन्य उद्यमीले त्यस्ता छाप लगाई आफ्ना विदेशी ग्राहकको चित्त बुझाउन समयमै सामान निर्यात गर्नका लागि आफूहरू बाध्य भई प्रयोग गर्नुपरेका विधिहरूको विषयमा बताए । केही उद्यमीले नेपालको जटिल आयात र निर्यात प्रक्रिया बुझ्नकै लागि मात्र भए पनि अतिरिक्त कर्मचारी राख्नुपरेको बताए । मैले सरकारी अधिकारीहरूसँग यस्ता विषयहरूमा आफ्नो चासो व्यक्त गर्ने मौका पाएँ । त्यही मौकामा मैले नेपालमा विदेशी लगानीलाई बाधा पुराउने हालका नेपाली प्रणाली र प्रक्रियाप्रतिको आफ्नो बढ्दो चासो पनि राखेँ । उनीहरूले निर्यात प्रक्रियालाई डिजिटल बनाउन आफूले चालेका कदमबारे बताए । पक्कै पनि यो कदम सही दिशामा चालिएको छ । तर छाप लगाउनका लागि कर्मचारी भेट्ने प्रथाको अन्त्यष्टि सुनिश्चित गर्नका लागि अझै धेरै काम गर्नुपर्नेछ । द्वैधता घटाउनु, आपूर्ति शृङ्लामा पारदर्शिता सिर्जना गर्नु तथा उद्यमीलाई सशक्त बनाउने डिजिटल मञ्च विकसित गर्नु भविष्यको नेपाली अर्थतन्त्रका निम्ति महत्वपूर्ण छ ।
नेपालमा व्यवसायका लागि निर्यात प्रक्रियालाई अझै पारदर्शी र सहज बनाउँदा उद्यमीहरूलाई पारदर्शी र सदाचारी आपूर्ति शृङ्खलाहरूलाई कार्यान्वयन गर्न झनै सजिलो हुन्छ । आफ्नो भ्रमणका क्रममा मैले नेपाल सरकारका सदस्य र उद्यमीसँग पारदर्शी र सदाचारी आपूर्ति शृङ्खलाहरू व्यवसायका लागि राम्रा हुन्छन् भन्ने देखाउने तथ्यहरू बाँडेँ । सन् २०१७ को कोन सीएसआर रिपोर्टका अनुसार ९२ प्रतिशत अमेरिकी उपभोक्ताहरूको भनाइमा सामाजिक तथा वातावरणीय मुद्दाहरूलाई समर्थन गर्ने कम्पनीको छवि उनीहरूले सकारात्मक देख्छन् र त्यसैलाई बढी विश्वास पनि गर्छन् । जब कम्पनी पारदर्शी आपूर्ति शृङ्ला संलग्न हुन्छ तब यस प्रकारको समर्थनको उपभोक्तालाई ज्ञान हुन्छ । त्यसै अध्ययनले देखाएअनुसार सर्वेक्षण गरिएका ८८ प्रतिशतले आफूहरूले कम्पनी गैरजिम्मेवार भएको वा कपटपूर्ण व्यवसायमा संलग्न भएको थाहा पाएमा त्यस कम्पनीका उत्पादनहरू किन्न छाडिदिने बताएका छन् । सदाचारी र पारदर्शी आपूर्ति शृङ्खलाले ब्रान्डको प्रतिष्ठा र बिक्री बढाउनुका साथै समग्र प्रतिस्पर्धात्मक लाभतर्फ डोराउँछ भन्ने सफल कम्पनीहरूले बुझेका हुन्छन् । मैले नेपालमा थुप्रै उद्यमी र कम्पनी भेटेँ, जसले पहिलेदेखि नै सदाचारिताका साथ व्यवसाय सञ्चालन गर्दै आएका छन् । धेरैले त उपभोक्ताहरूले पारदर्शिता र सदाचारलाई व्यापारिक लाभका रूपमा हेर्छन् भन्ने कुरा ख्यालै गरेका रहेनछन् ।
यदि नेपाल सरकारले भविष्यका लागि अर्थतन्त्र निर्माण गर्ने हो भने त्यसले नेपालको सफल र सशक्त उद्यमशील वातावरणको बाटोमा अवरोधका रूपमा उभिएका थुप्रै मुद्दालाई सम्बोधन गर्नुपर्छ । इन्टरनेसनल इलेक्ट्रोनिक पेमेन्ट गेटवे (भुक्तानीका लागि अन्तर्राष्ट्रिय विद्युतीय विधि) नहुँदा धेरै उद्यमीले आफूहरू पछि हट्नुपरेको कुरा मलाई बताए । पुरुषको हस्ताक्षरको आवश्यकता, आर्थिक स्रोतको अभाव र नेतृत्व पहिचानजस्ता कारणले गर्दा आफूलाई कसरी बाधा पर्छ भन्ने कुरा महिला उद्यमीहरूले मलाई विस्तारमा बताए । अन्य उद्यमीहरूले शतप्रतिशत ऋण प्रत्याभूतिको आवश्यकताका कारण आफ्नो व्यवसायका लागि कर्जा पाउन नसकेको बताए ।
कल्पना गरौँ त, नेपाली र विदेशी दुवै खाले उद्यमीहरू आफ्नो सफलतालाई बढावा दिने खालको वातावरणले घेरिएको अवस्थामा के हुन सक्ला ? तिनीहरूले कति स्थानीय रोजगारी सिर्जना गर्न सक्लान्, जसले गर्दा तेजिला नेपाली युवाको अत्यासलाग्दो बिदेसिने क्रम रोकिएला ? तिनै युवा नेपालमा बसेर करमा योगदान पुराउन सक्छन् र बिस्तारै नेपाललाई मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतसरहको योगदान गरिरहेको अस्थायी विप्रेषणबाट मुक्त गर्न सक्छन् । प्रेरित उद्यमीहरूले नेपालको चिन्तालाग्दो व्यापारघाटालाई स्थिर बनाउन अन्य कति वस्तु उत्पादन गर्लान् ? ‘नेपालमा बनेको’ भन्ने ब्रान्ड अझै कति बलवान् बन्न सक्ला ?
उद्यमशीलताले बलियो अर्थतन्त्र बनाउँछ । नेपाल सरकारले उद्यमशीलतालाई बढावा दिनका लागि परिवर्तनहरू गर्नुपर्छ । उसले पारदर्शिता अपनाउनुपर्छ र डिजिटल मञ्चद्वारा द्वैधता घटाउनुपर्छ । महिलाको सशक्तीकरणलाई निषेध गर्ने सांस्कृतिक तथा आर्थिक बाधकलाई सरकारले उन्मूलन गर्नुपर्छ र स्वदेश फर्केर आएका व्यक्ति तथा महिलाले नेतृत्व गरेका उद्यमशील वातावरणलाई बढावा दिनुपर्छ । मजस्ता विदेशी उद्यमीलाई नेपालमा स्वागतको अनुभूति हुने हो भने व्यवसाय सुरु गर्दा ५० हजार डलरको लगानी गर्नुपर्ने आवश्यकता सरकारले हटाउनुपर्छ, पाँच वर्षीय प्रवेशाज्ञालाई सहज स्वीकृति दिनुपर्छ र भुक्तानीसम्बन्धी अन्तर्राष्ट्रिय माध्यमहरूलाई स्वागत गर्नुपर्छ ।
भूकम्पीय परिवर्तन सानोभन्दा सानो हलचलबाट सुरु हुन्छ भन्ने कुरा हामीलाई हिमालय शृङ्खलाले स्मरण गराउँछ । त्यसैले सानोबाट सुरुवात गरौँ । विदेशी, नेपाल सरकार र नागरिकलाई म हरेक दिनको सुरुमा एउटा सिधा प्रश्नु सोध्न आग्रह गर्न चाहन्छु : मैले आज चाल्ने कदमहरू नेपाल र नेपालीको सर्वोत्तम हितमा हुनेछन् त ?
मेरो नजर हिमालयमा फर्कंदै गर्दा म आफ्नो संस्थालाई नेपालमा विस्तार गरेमा आफूले सामना गर्नुपर्ने चुनौतीहरूको विषयमा सोच्दैछु । तर आफूले भेटेका अन्य लगनशील उद्यमीहरूसँग भएका वार्तालापका आधारमा मलाई हौसला पनि मिलेको छ । यी सिर्जनशील उद्यमीहरूको काम जस्तै मेरो काम पनि नेपाली उत्पादकहरूलाई समृद्ध बनाउनु हो र यो नेपाली जनताको सर्वोत्तम हितमा पनि छ । तसर्थ, अगाडि बढ्न र नेपालको भावी समृद्धिको साँचो अर्थात् उद्यममा योगदान गर्नका लागि मैले ताकत जुटाउनैपर्छ ।

(टेन बाई थ्री संस्थाकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत केरिङ्टन हालै अमेरिकी दूतावासको निमन्त्रणामा नेपाल आई दूतावासका विभिन्न कार्यक्रममा सरिक भएकी थिइन् ।)