कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
1007

स्वार्थ मानवीय गुण नै हो । स्वार्थबिनाको जीवन चल्न सक्दैन । तर, स्वार्थलाई पनि सकारात्मक काममा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि राजनेताहरू व्यक्तिगतभन्दा मुलुकको स्वार्थका लागि अघि बढ्नुपर्छ । यसो भएमा सामाजिक लाभ मिल्छ, तर दुनियाँ त्यस्तो पटक्कै छैन । अझ हाम्रो समाज त अन्य मुलुकको तुलनामा अलि द्रुत गतिमा स्वार्थमा रमाउँदै गएको देख्न सकिन्छ । हामी एक जना एकल यात्री हौं, जसलाई समाजको माया र सम्बन्धको खाँचो छ उसको माग ठूलो हुँदैन । कसैले उसलाई चिनिदियोस् अथवा कम्तीमा उसको अवस्था सुनिदियोस् र उसप्रति थोरै भए पनि सान्त्वना राखिदियोस् भन्ने चाहन्छ ।
एक यात्री जो यस समाजमा माया पाउने उपाय सोच्छ र त्यसका लागि एक विधि अपनाउँछ, एक दिन ऊ राम्रो पहिरन लगाएर लामो यात्रामा निस्कन्छ । वरिपरि धेरै मानिस भएको स्थानको बाटो गरी अगाडि बढ्छ र उसको चाहना कम्तीमा कसैले कताको साइत हो भनेर सोधिदियोस् भन्ने र समाजमा उसको पनि केही हिस्सा र आवश्यकता छ भन्ने मात्र मनन गर्न चाहन्छ । यात्राको दौरानमा सुरुमा पैदल यात्रा, त्यसमा पनि सार्वजनिक यातायाताको प्रयोग गर्छ र कसैको ध्यान उसप्रति परोस् भन्ने चाहन्छ, त्यहाँ पनि उसलाई वास्ता गर्ने व्यक्तिको आशामा हुन्छ । तर, उसले सो अवसर पाउँदैन र झनै मानिसहरूको चहलपहल हुने बजारको बाटो यात्रा शुभारम्भ गर्छ । त्यहाँ पनि उसलाई कसैले वास्ता गर्दैनन् र ऊ मानिसहरू रमाइलो गरिरहेको समुद्री किनारतिर लम्कन्छ । त्यहाँ पनि ऊ कसैले बोलाएको सुन्न चाहन्छ । तर, सो नभएपश्चात् सुरुमा लगाएको कपडा खोलेर समुद्रको किनारमा दौडन्छ । त्यति बेला पनि ऊप्रति कसैको ध्यान जाँदैन र कसैले उसलाई वास्ता गर्दैनन् ।
अब ऊ पूरै नग्न भएर समुद्रको किनार, जहाँ पानी छ, त्यहाँ टेक्छ । तर, कसैले उसको वास्ता गर्दैनन् । जति समुद्र किनारमा रमाइरहेका छन्, सबै आफ्नै धुनमा हुन्छन् । अब बिस्तारै पानीको गहिराइतिर लम्कन्छ, तर पनि कसैले उसलाई बोलाउँदैनन्, पानी कम्मरसम्म हुँदा पनि मानिसहरू भएतिर हेर्छ । तर, कसैले उसलाई गहिराइमा नजान आग्रह गर्दैनन् र बोलाउँदैनन् । ऊ झन् अगाडि बढ्दै जाँदा समुद्रको पानीमा विलय हुन्छ । त्यो नै उसको अन्तिम क्षण हुन्छ ।
हामी आज सहरमा बस्ने सहरवासीहरूलाई हाम्रो समाजवरिपरि रहेका र थोरै मात्र सान्त्वनाको आशा राख्नेहरूको संख्या बढ्दै गएको महसुस हुन्छ । हामी बोल्नमा कन्जुस गर्छौं । कम्तीमा अगाडि कोहीसँग आँखा जुध्यो भने सामान्य मुस्कान दिने कुराबाट थालनी गरौं, हामी सबै यस पृथ्वीमा आएका केही वर्षका पाहुना नै हौं । आखिर हामी सबै धन–दौलत, पद निश्चित अवधिपश्चात् छोडेर जाने व्यक्तिहरू हौं । आज गाउँघर शून्य हुँदै गएको छ । थोरै भने पनि नेपालीपन रहेको गाउँघरबाट हामी सहरको बसाइमा रमाउँदै छौं । अब भोलिका दिन हाम्रो पनि एक्लोपन महसुस हुँदै कुनै दिन माथि उल्लिखित पात्रको समूहमा हाम्रो समावेश हुन सक्छ ।
—शिवप्रसाद पोखरेल