कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५
471

वहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेको पछिल्लो फ्ल्यागशीप स्मार्टफोन मेट २० प्रो पश्चिम युरोपमा सबैभन्दा बढी विक्री हुने स्मार्टफोनको स्थानमा पुगेको छ । हालै सार्वजनिक गरिएको मेट भर्सनको यो भेरियन्टको प्रिअर्ड गत वर्षको पी २० प्रोको भन्दा ४० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।
चीनको सेन्जेनको मुख्य कार्यालय रहेको हुवावले बुहराष्ट्रिय कम्पनीको हैसियतमा आफूलाई युरोप, अमेरिकादेखि विश्वभर चीनाउन पछिल्लो समयमा स्मार्टफोनलाई माध्यमको रुपमा अगाडि बढाएकोछ । हुवावेका पश्चिम युरोप कन्जुमर विजनेस ग्रुपका अध्यक्ष वाल्टर झीलाई उदृत गर्दै प्रविधि साइटहरूमा समाचार आएका छन् । उनले उपभोक्ताहरूको माया र विश्वासले वेस्ट सेलिङ अवार्ड लिने हैसियतमा हुवावे पुगेको भन्दै खुशी व्यक्त गरेका छन् । यसअघि पी २० प्रोले पनि विक्रीमा रेकर्ड बनाएको थियो ।

मेट २० प्रोले अष्ट्रेलियामा पनि वेस्ट स्मार्टफोन अफ २०१८ को रुपमा परिचय बनाएको छ । यसको मुख्य विशेषता भनेको तीन वटा एआइ फिचर सहितका रियर क्यामरा हुनु हो । यसमा ४० मेगापिक्सेलको मुख्य क्यामरा छ भने २० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा र ८ मेगाक्सिेलको टेलिफोटो क्यामरा छ । थ्रीडी डेप्थ सेन्सर सहितको २४ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामराले मेट २० प्रोको उचाइ थप बढाएको छ । अन्य कम्पनीका फ्ल्यागशीपमा जस्तै ६ र ८ जीवी -याम, १२८ र २५६ जीवी स्टोरेज रहेको यो फोनको ब्याट्रि भने ४२०० एमएएच छ ।
तौल १८९ ग्राम रहेको मेट २० प्रोमा हुवावेको आफ्नै ९८० किरिन प्रोसेसर छ भने यसमा सुपरचार्ज २.० फिचर पनि छ । ५४८ पीपीआइ रहेको ६.३९ इन्चको क्युएचडी प्लस ओएलइडी स्क्रीन, फोर के युएचडी भिडियो रेकडिङ फिचर, आइपीभी ६८ वाटर एनड डस्ट रेसिस्टेन्ट, अन स्क्रीन फिंगरप्रिन्ट लगाएत यसका अन्य फिचर हुन् । यसको अन्तर्राष्ट्रिय मूल्य १ हजार ५९९ डलर तोकिएको छ ।